१५ श्रावण २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर… अदालती रिपोर्टिङ विशिष्टीकृत र व्यावसायिक हुनुपर्छः न्यायाधीश फुयाँल कृष्णप्रसाद सिटौलाको प्रश्न– ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’ जिएएमएमए एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीको सफलता, तीन पदक जिते सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल, विकास आयोजनाको सुरक्षा गर्न सरकारसँग आग्रह सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोस्ः प्रधानमन्त्री शाह सुनसरी र मधेसका घटनामा सरकार जिम्मेवार छः सांसद बिष्ट प्रधानमन्त्री शाहसँग मधेस केन्द्रित दलका नेताको छलफल : समस्या समाधानमा सक्रिय हुन आग्रह तराई–मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहको सांसदहरूसँग छलफल सुरु सुनसरी लगायतका जिल्लामा उत्पन्न धार्मिक तनाव तत्काल समाधान गर्न सांसद ढुंगानाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित



अ+ अ-

ढाका। बङ्गलादेशको सर्वोच्च अदालतले राष्ट्रिय निर्वाचनमा निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्ने उद्देश्यले कामचलाउ सरकार प्रणाली पुनःस्थापित गर्ने महत्त्वपूर्ण निर्णय सुनाएको छ । तथापि, अदालतले यो व्यवस्था आगामी वर्षको सुरुमा हुन लागेको निर्वाचनमा भने लागू नहुने स्पष्ट गरेको छ ।

कामचलाउ प्रणाली सन् १९९६ मा प्रारम्भ भएको हो र बङ्गलादेशी नागरिक तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले १७ करोड जनसङ्ख्या भएको यस देशको संसदीय लोकतन्त्रमा निष्पक्ष निर्वाचनतर्फको सशक्त कदमका रूपमा यसलाई हृदयदेखि स्वीकार गरेका थिए ।

त्यसपछिका दुई निर्वाचनमा सेवानिवृत्त दुई मुख्य न्यायाधीशको नेतृत्वमा बनेका कामचलाउ सरकारले ९० दिनभित्र चुनाव सम्पन्न गराई विजयी दललाई सत्ता हस्तान्तरण गरेको थियो । सन् २००८ को निर्वाचन समेत केन्द्रीय बैंकका पूर्व गभर्नरको नेतृत्वमा निष्पक्ष रूपमा सम्पन्न भएको थियो ।

तर राजनीतिक असहमतिका कारण सन् २०११ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको कार्यकालमा अदालतको सुझावमा यही प्रणाली खारेज गरियो । विपक्षीहरूले भने उहाँले भविष्यका चुनावमा प्रभाव पार्ने उद्देश्यले यस्तो कदम चाल्नुभएको आरोप लगाएका थिए ।

त्यसभन्दा पछिका सन् २०१४, सन् २०१८ र सन् २०२४ का चुनावहरू हसिनाको प्रशासनको निगरानीमा सम्पन्न भए, जसले उहाँलाई निरन्तर सत्तामा राख्यो तर ती चुनावहरूलाई विश्वसनीय मानिएन । मुख्य प्रतिद्वन्द्वी खालिदा जियाको नेतृत्वमा रहेको बङ्गलादेश राष्ट्रवादी पार्टी (बिएनपी) ले कामचलाउ सरकार नभएको भन्दै सन् २०१४ र सन् २०२४ को निर्वाचनसमेत बहिष्कार गरेको थियो, तर हसिनाले उनीहरूको मागलाई स्वीकार गर्नु भएको थिएन ।

यसैबीच, बिहीबार सात सदस्यीय सर्वोच्च अदालतका न्यायाधीशहरूले सन् २०११ को निर्णय पुनरावलोकन गर्ने क्रममा दर्ता भएका दुई अपिल र चार याचिकामाथि सर्वसम्मत अदालतको फैसला सुनाउनुभयो । अदालतले कामचलाउ प्रणाली बङ्गलादेशले सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रता पाएपछि हुने १४औँ राष्ट्रिय चुनावका लागि पुनःस्थापित गरिने उल्लेख गरेको छ । तर हाल नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले व्यवस्थापन गर्ने १३औँ चुनावमा भने यो लागू नहुने स्पष्ट गरिएको छ ।

निर्णयपछि महान्यायाधिवक्ता मोहम्मद असदुज्जमानले खुशी व्यक्त गर्दै भन्नुभयो, “कामचलाउ सरकार प्रणालीलाई बङ्गलादेशको लोकतन्त्रको अभिन्न अङ्गका रूपमा अदालतले मान्यता दिएको छ । यो विवरण अदालतको विस्तृत फैसला सार्वजनिक भएपछि स्पष्ट हुनेछ । हामी विश्वस्त छौँ कि अब बङ्गलादेशले साँचो लोकतान्त्रिक मार्गमा आफ्नो नयाँ यात्रा सुरु गर्नेछ ।”

उता, खालिदा जियाको पार्टीले पनि उक्त निर्णयलाई स्वागत गरेको छ । पार्टीका वरिष्ठ नेता अमिर खसरु महमुद चौधरीका अनुसार कामचालउ सरकार प्रणाली पुनःस्थापना गर्नु बङ्गलादेशको राजनीतिक भविष्यका लागि नयाँ क्षितिजको सुरुआत हुनेछ ।

सन् २०२४ को अगस्ट ५ मा १५ वर्ष लामो शासन अन्त्य गर्ने जनविद्रोहतत्पश्चात शेख हसिना अपदस्थ हुनुभएको तीन दिनमै मुहम्मद युनुस अन्तरिम सरकार प्रमुख बन्नुभएको थियो । हसिना हाल भारतमा निर्वासनमा हुनुहुन्छ र मानवता विरुद्धको अपराधमा दोषी ठहरिएपछि उहाँलाई सोमबार मृत्युदण्डको सजाय सुनाइएको छ ।

विश्लेषकहरूका अनुसार युनुसको नेतृत्वमा देश संवेदनशील मोडमा रहेको अवस्थामा आगामी निर्वाचनअघि बङ्गलादेशले जटिल र चुनौतीपूर्ण परिस्थिति सामना गर्नुपर्ने देखिन्छ । रासस




भर्खरै