काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथसम्बन्धी विवादमा सर्वोच्च अदालतमा आइतबारका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ। आज हुने भनिएको सुनुवाइ सारिएर भोलि सोमबार हुने भएको हो।
उक्त मुद्दाको सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तय गरिएको थियो। नियुक्ति प्रक्रियासम्बन्धी अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा अब भोलि सुनुवाइ हुनेछ।
केही समययता राजनीतिक रूपमा अस्थिर देखिएको मधेश प्रदेशमा हाल एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा सरकार बनेको छ। तर, उनी विवादास्पद तरिकाले प्रदेश प्रमुखबाट शपथ ग्रहण गराएको आरोप लागिरहेका छन्।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले महोत्तरी–सिन्धुली सिमानामा पर्ने बर्दिबास नगरपालिका–३ कालापानीस्थित पानस होटेलमा पुगेर यादवलाई मुख्यमन्त्री पदको शपथ गराएकी थिइन्। होटलमा गएर शपथ खुवाइएको घटनाले राजनीतिक तथा कानुनी विवाद चर्किएको हो।
यस घटनाविरुद्ध मधेश प्रदेशका ७४ सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। अब यो विवादको प्रारम्भिक टुंगो भोलिको सुनुवाइपछि लाग्नेछ।










