ब्राजिल। ब्राजिल र अमेरिकाबीचको कर विवाद समाधानका लागि दुई देशका कुटनीतिज्ञबीच वार्तापछि छिट्टै अमेरिकी जवाफ आउने र तदनुरूप अघि बढ्ने ब्राजिलले जनाएको छ।
ब्राजिलका उत्पादनहरूमा वासिङ्टनले लगाएको ५० प्रतिशत करवृद्धि समाधान गर्ने ब्रासिलियाको प्रस्तावमा ब्राजिल सरकारले संयुक्त राज्य अमेरिकाले जतिसक्दो चाँडो प्रतिक्रिया दिने अपेक्षा गरेको हो।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि विदेशमन्त्री माउरो भिएराले करवृद्धिको समस्या हल हुने जानकारी दिनुभएको हो ।
पत्रकारहरूसँग कुरा गर्दै भिएराले भन्नुभयो, “ब्राजिलको प्रतिप्रस्तावलाई विदेश मन्त्रालय, अर्थ मन्त्रालय र विकास, उद्योग तथा वाणिज्य मन्त्रालयका अधिकारीहरू साथै व्यापार विवाद समाधानका लागि खटिएका अमेरिकी प्रतिनिधिहरू सम्मिलित भिडियो कन्फरेन्समा कुराकानी भएको र अमेरिकी टोली सकारात्मक देखिएको बताउनुभएको छ।”
उहाँले भन्नुभयो, “हामीले समस्या समाधानका लागि प्रस्ताव पेश गरेका हौँ । वासिङ्टनमा बुझाइएको उक्त दस्तावेजले अमेरिकाले अक्टोबरमा बुझाएको मागको औपचारिक जवाफका रुपमा रहेको ब्रासिल २४७ ले जनाएको छ ।
रुबियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बैठकको बारेमा जानकारी दिइसकेको र ट्रम्पले छिटो अघि बढ्ने इच्छा देखाएको भिएराले जानकारी दिनुभयो ।
“राष्ट्रपति ट्रम्पले ब्राजिलसँग राम्रो सम्बन्ध कायम गर्न चाँडै सबै कुरा समाधान गर्ने इच्छा व्यक्त गर्नुभएको बताउनुभयो । “मलाई मलेसियामा राष्ट्रपति लुलासँग भएको बैठक साँच्चै मन परेको छ,“ भिएराले अमेरिकी राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै भन्नुभयो।
ह्वाइट हाउसको आन्तरिक मूल्याङ्कनमा भर पर्ने वासिङटनको प्रतिक्रिया भोलि वा अर्को हप्ता आउन सक्ने उहाँले बताउनुभयो ।
रुबियोले कथित रूपमा नोभेम्बरको अन्त्य वा डिसेम्बरको सुरूमा अस्थायी सम्झौतामा पुग्ने अमेरिकी चासोलाई पनि दोहो¥याउनुभएको छ। उहाँले भन्नुभयो, “त्यसपछिका महिनाहरूमा व्यापक वार्ताका लागि ‘रोड म्याप’ बनेको छ।”
भिएराका अनुसार यस्तो वार्तालाई ‘दुई देशबीचको सबै विषयहरू निष्कर्षमा पुग्न दुई वा तीन महिना लाग्न सक्छ।” भिएरालाई उद्धृत गर्दै ब्रासिल २४७ ले भनेको छ, “दुई सरकारबीचको राजनीतिक संवाद राष्ट्रपति लुला र राष्ट्रपति ट्रम्पबीच प्रत्यक्ष रूपमा मलेसियामा भएको बैठकपछि सुनिश्चित बनेको थियो ।
उहाँले भन्नुभयो, “लक्ष्य भनेको लामो समयदेखि चल्दै आएका द्विपक्षीय अवरोधहरू खुला गर्नु हो। प्राविधिक टोलीहरूले विशेष कार्यदलहरू मार्फत वार्ता अगाडि बढाउँछन्।” “वासिङ्टन यो पाना पल्टाउन र ब्राजिलसँग नजिक हुन प्रतिबद्ध छ,”उहाँले थप्नुभयो ।
यसैबीच, बेलेममा भइरहेको कोप ३० मा आठ सदस्यीय अमेजन सहयोग सन्धि सङ्गठन (एसिटिओ) ले अमेजनमा अनुगमन बढाउनको लागि एक संयुक्त परियोजना घोषणा गरेको छ। यसका लागि अमेजन कोषको माध्यमबाट पाँच करोड ५० लाख सहयोगको घोषणा गरिएको छ।
यस परियोजनाको उद्देश्य अमेजन क्षेत्रमा वन विनाश र वातावरणीय ह्राससँग लड्न वैज्ञानिक र प्राविधिक डाटा एकीकृत गर्नु हो। वातावरण मन्त्री मरीना सिल्भाले भन्नुभयो, “योजनामा जलवायु, जैविक विविधता, पानी र मत्स्य नीतिहरूलाई समर्थन गर्न विज्ञान–प्राविधिक प्यानल गठन गर्ने उल्लेख गरिएको छ।”
ब्राजिलको अन्तरिक्ष अनुसन्धान एजेन्सी आइएनपिईले अन्य एसिटिओ राष्ट्रहरूलाई निगरानी प्रविधि प्रदान गर्नेछ। यसैबीच, एसिटिओका महासचिव मार्टिन भोन हिल्डेब्रान्डले एकीकृत क्षेत्रीय अनुगमनको लागि आह्वान गर्नुभएको छ । उहाँले यसका लागि ‘प्रत्येक रूख महत्त्वपूर्ण रहेको बताउनुभएको छ।”(रासस/एएफपी)










