काठमाडौँ । नेपाली काँग्रेसका युवा नेताहरूले पार्टी नेतृत्वलाई तत्काल महाधिवेशनको निर्णय लिन चेतावनी दिएका छन् ।
केन्द्रिय समितिले विशेष महाधिवेशनको निर्णय नगरे वैकल्पिक बाटो खोज्ने उनीहरूको स्पष्ट सन्देश छ । काठमाडौंमा आयोजित विशेष महाधिवेशन पक्षधर युवा भेलामा नेतृत्वको ढिलासुस्ती र अनिर्णयप्रति आक्रोश पोख्दै युवाहरूले पार्टीभित्र परिवर्तनको मागलाई तिब्र बनाएका छन् ।
सचिन तिमिल्सिनाको आक्रोशः ‘इन अफ इज इन अफ, नाटक बन्द गरौँ !’
युवा नेता सचिन तिमिल्सिनाले नेतृत्वको व्यवहार परिवर्तन नगरे संगठन कमजोर बन्दै जाने चेतावनी दिनुभयो । उहाँले केन्द्रीय बैठकहरू डेढ–दुई महिनासम्म लम्ब्याउने प्रवृत्तिमाथि आपत्ति जनाउनु भयो ।
उहाँले भन्नुभयो, “भनिन्छ इन अफ इज इन अफ । पुग्यो हामीलाई यस्तो नेतृत्व । नाटक बन्द गरौँ ! देशमा १९ जना मारिँदा पनि केही नभएजस्तो गरेर बैठक लम्ब्याउने ? समाधान गुण्डुमा खोज्ने हो भने हामीले पनि विकल्प सोच्छौँ । आजको युवा जे भन्यो त्यही मान्दैन !”
मोती भण्डारीको चेतावनीः ‘कार्यकर्ताले हिसाव माग्नेछन् !’
युवा नेता मोती भण्डारीले एउटा व्यक्तिको वरिपरि शक्ति केन्द्रित गर्ने र परिवर्तन रोक्ने नेताहरूमाथि आक्रोश व्यक्त गर्नुभयो । तल्लो तहका कार्यकर्ताहरूको आक्रोश बढ्दै गएको भन्दै उहाँले नेतृत्वलाई सचेत गराउनुभएको छ ।
“केन्द्रिय बैठक चलिरहँदा पनि अनिर्णयको बन्दी बनाउने हो भने निर्वाचन वा महाधिवेशनमा तल्लो तहका कार्यकर्ताले तपाईंहरूको हिसाव माग्नेछन्। यो कुरा याद राख्नुहोस् !” उहाँले भन्नुभयो ।
पुनम लामाको अडानः ‘विशेष महाधिवेशन नै रूपान्तरणको विकल्प’
महाधिवेशन प्रतिनिधि पुनम लामाले ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग विधानसम्मत रहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो पहिलो माग विशेष महाधिवेशन हो । यो भावनात्मक होइन, विधानले दिएको अधिकार हो । ५४ प्रतिशत हस्ताक्षरले यो पुष्टि गर्छ ।”
छिटो निर्णय नभए वैकल्पिक मार्ग
काँग्रेस युवाले नेतृत्वलाई विशेष महाधिवेशनको प्रक्रिया तत्काल अघि बढाउन दबाब दिएका छन् । अन्यथा पार्टीभित्र नयाँ बाटो खोज्ने उनीहरूको चेतावनीले काँग्रेसभित्र नयाँ तरंग सिर्जना गरेको छ ।










