३० श्रावण २०८३, शनिबार
,
Latest
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित संविधान संशोधन सत्ता परिवर्तनको हतियार बन्नु हुँदैनः नेता साउद लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ? काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कागतीका बोट मर्न थालेपछि किसान चिन्तित



फाइल फाेटाे
अ+ अ-

ढोरपाटन, (बागलुङ) । जरा कुहिने रोगले धमाधम कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । तीन महिला अगाडिदेखि कागतीका बोट सुकेर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् । सयौँ किसानका हजारौँ बोट कागती मर्दा लाखौँको क्षति हुन थालेको छ । सुरुमा बोट पहेँलो हुने र एक महिनामा सबै सुक्ने समस्या रहेको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले किसानको गुनासो आएपछि बारीमै पुगेर अध्ययन गर्दा जरा सुक्ने रोगले कागती मरिरहेको बताउनुभयो । अहिले बोटमा लटरम्म फल रहेको हुँदा उपचार गर्न नसकिने भन्दै फल टिपेर सकेपछि जरा खनेर उपचार गरिने उहाँको भनाइ छ । फल नदिएका बोटको भने उपचार हुने अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कागतीका बोट सुक्न थालेपछि धेरै ठाउँका किसानले हामीलाई फोन गरेर गुनासो गर्नुभयो, उहाँहरुको गुनासो आएपछि बारीमै पुगेर अध्ययन गर्दा जरा सुक्ने रोगले यो समस्या आएको पत्ता लगायौँ, यसका उपचारका विधि छन्, फल भएको बोटमा अहिले उपचार गर्न मिल्दैन, फल टिपेर सकेपछि जराको माटो खनेर उपचार गर्नुपर्छ, यो रोगले धेरै क्षति पुर्‍याएको छ ।”

निसीखोला गाउँपालिका–४ का किसान चक्रबहादुर रोकाले बारीमा लगाएका अधिकांश बोट मर्न थालेको बताउनुभयो । टिप्ने बेलाको कागतीका दाना खस्नाका साथै बोट नै मरेको उहाँको भनाइ छ । अघिल्लो वर्ष लगाएका बिरुवासमेत मर्न थालेको रोकाले बताउनुभयो । गाउँको पाखो जमिनलाई सदुपयोग गरी व्यावसायिक रुपमा कागतीखेती सुरु गरेका मगरलाई बोट मर्दा लाखौँको क्षति हुने चिन्ता छ ।

“बारीमा भएका कागतीका कुनै पनि बोट बाँकी छैनन्, सबै सुकेर मर्न लागेका छन्, कोहीका हाँगा सुकेका छन्, कोहीको पूरै बोट नै सुकेको छ, कृषि प्राविधिकलाई समस्याका बारेमा जानकारी त गराएका छौँ तर समाधान भएको छैन, बारीमा पुराना कागतीका रूख थिए, सुरुमा ती रूखका हाँगा मर्न थाले र पछि साना बोटमा पनि यो समस्या देखियो ।”

स्थानीय तमबहादुर खत्रीले १२० बोटमध्ये ९० भन्दा बढी बोटमा रोग देखिएको बताउनुभयो । आफूले सुक्न थालेका सबै बोटका हाँगा काट्न सुरु गरेको उहाँको भनाइ छ । अघिल्लो वर्ष पनि धुलोको प्रकोपले धेरै बोट कागती मरेको खत्रीले बताउनुभयो । गाउँका सबै किसानको कागती बगानमा यो रोग देखिएको छ ।

जिल्लामा हाल ७९७ हेक्टर क्षेत्रफलमा कागतीजन्य फलफूलखेती हुँदै आएको छ । पछिल्लो समय कागतीखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस