९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ: ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ



अ+ अ-

काठमाडौँ । छिमेकमा कसैले ‘मम्मी’ भनेर बोलाउँदा आफ्नै छोरोको आवाज जस्तो लाग्छ भीममाया सुनुवारलाई । काना ठाडा हुन्छन्, घरको दैलोमा आइपुग्यो की भनेर आँखाले खोज्न पुग्छन् । तर ती फगत स्वप्न हुन् । उहाँका छोरा दिपेश अब यो संसारमा कहिल्यै नफर्किने गरी विलिन भइसक्नुभएको छ । तै आमाको मन ! मुटुको कुनै कुनामा उनी धड्किरहेका हुन्छन् । आशाले ठाउँ ओगट्ने रहेछ ।

दशैँ आयो, गयो । तिहार पनि गयो । चाडपर्वमा त हो छोराछोरीको यादले बढी सताउने । अबका चाडपर्वमा दिपेशको उपस्थिति हुने छैन । दिपेशलाई मासु औधी मनपथ्र्यो । आमा भीममायालाई मासु पकाएको दिन दिपेशको बढी सम्झना आउँछ, मन भक्कानिन्छ । दसैँका लागि घरमा बङ्गुर पालिएको थियो । उहाँ भावुक हुँदै भन्नुहुन्छ, “दुई धार्नी जति भुटेर पठाइ दिनु है मम्मी भनेको अझै ताजै छ ।” तर, भदौ २३ को जेनजी आन्दोलनमा उहाँ सहिद हुनुभयो । मम्मी भन्ने उनको आवाज भने सदाका लागि विलिन भयो ।

अपरिचितको ‘त्यो’ फोन

गत भदौ २३ गते नयाँ बानेश्वर क्षेत्रमा जेनजी आन्दोलनमा प्रहरीको गोली लागी दर्जनौँ प्रदर्शनकारीको मृत्यु भएको खबर दिउँसैदेखि नेपालभर फैलिएको थियो । छोराको अवस्था बुझ्न घरबाट तारन्तार फोन गर्दा सम्पर्क हुन सकेन । अपराह्न १ बजे फोन गर्दा दिपेशले आफू बानेश्वरको आन्दोलनमा सहभागी भएको र साँझ ६ बजे कोठामा पुगेर फोन गर्ने आफ्नो मम्मीलाई जानकारी गराउनुभएको थियो । भीममायाले आन्दोलनमा नजाउ भनेको उहाँले मान्नुभएन । प्रदर्शन उग्र बनेको समाचार सुन्दा उहाँ आत्तिराख्नुभएको थियो ।

सोही दिन साँझ ६ बजेपछि भिममायाको फोनमा अपरिचित व्यक्तिको आवाज सुनियो । ती व्यक्तिले उक्त फोन आफूले बानेश्वर क्षेत्रमा फेला परेको र लिन आउनु भनेपछि उहाँको मनमा चिसो पस्यो । उहाँले गाउँका अन्य व्यक्तिलाई फोन लिन जान अह्राउनुभयो ।

छोराको फोन फिर्ता लिएपछि काठमाडौँ बस्ने उहाँकै साथीले दिपेशको हातमा गोली लागेको सुनाए । भीममायाको मनमा भक्कानियो । छोराको अवस्था बुझ्न र खोजी गर्न आफन्त र गाउँले साथीभाई अस्पताल र प्रहरीसम्म पुगे । तर उहाँको अवस्था अत्तोपत्तो भएन । तीन दिनसम्म छोराको अवस्था पत्ता नलागेपछि भीममाया आफैँ काठमाडौँ आउनुभयो । घाइते भनिएको र हराइरहेका छोराको खोजतलासलाई तीव्र पारियो ।

छोरालाई खोजी गर्न प्याराग्लाइडिङ पाइलट रामेछापका सानोबाबु सुनुवार, अभियान्ता आशिका तामाङको सहयोगमा उपत्यकाका विभिन्न अस्पतालमा भीममाया पुग्नुभयो । उहाँहरूले दिपेशको फोटो देखाउँदै अवस्था खोजी गर्दै जानेक्रममा एक सातापछि मात्रै त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकको सहयोगमा शव गृहमा राखिएको लाशको अनुहार हेर्दै जाँदा दिपेश फेला पर्नुभयो । घाइते अवस्थामा दिपेशलाई कुन–कुन अस्पतालमा पुर्‍याइयो भन्ने यकीन भएन ।

घरको खाँबो, साथीहरूको मियो थिए दिपेश

सिन्धुलीको तीनपाटन–६ भलायोडाँडामा २०६३ फागुन १७ गतेका दिन पानी परिरहेको थियो, पूरानो घर भत्काएर नयाँ बनाइँदै थियो । परिवारमा गरिबी, खानको पनि दुःख थियो । त्यतिबेला पहिलो सन्तान जन्मिँदा, दुःखको बेला पनि ठूलो हर्क लागेको सम्झिनुहुन्छ दिपेशका बुवा ढलकबहादुर ।

“गाउँका कसैलाई मोटरसाइकलमा पुर्‍याउनु पर्‍यो भने उही अघि सर्थ्यो, सबैको कुरा मान्ने थियो ऊ”, ढलकबहादुर छोरालाई सम्झिदै भन्नुहुन्छ, “संसारलाई पुर्‍याउन टाढाटाढा लैजान्थ्यो । सबैको विश्वास उसैमा थियो । भलिबल खेल्ने केटाहरू आउँदा छोराको बढी सम्झना आउँछ । केटाहरूको ‘मियो’ जस्तै थियो ।”

दिपेशले विद्यालय शिक्षा परीक्षा ९एसइई० सम्म मात्र अध्ययन गर्नुभएको थियो । १९ वर्षीय उहाँ एक वर्ष अघि काठमाडौँ आएर उहाँले घर निर्माणको काम गर्नुभयो । तर ठेकेदारले पैसा नदिएपछि उहाँ घर फर्कनुभयो । दिपेशले ठेकेदारसँग अझै २० हजार लिन बाँकी रहेको आमा भीममाया सुनाउनुहुन्छ । पछिल्लो पटक उहाँ गत जेठमा काठमाडौँ आउनुभयो । लगत्तै सफाइ कम्पनीमा काम गर्न थाल्नुभयो ।

काठमाडौँमा मजदुरी गरेर उहाँले घरमा पैसा पठाउने गर्नुहुन्थ्यो । थप पढ्ने इच्छा नभएकाले उहाँ विदेश जाने सोचमा हुनुहुन्थ्यो । दशैँमा घर नआउने र तिहारमा आएको बेला पासपोर्ट बनाएर विदेश जाने उहाँको योजना थियो । “अरु देशमा जान पैसा धेरै आफूसँग छैन । अलिअलि ऋण पनि छ भन्थ्यो”, भीममाया भन्नुहुन्छ, “घरमा तेल भुटुन खर्चका लागि पैसा पठाउँथ्यो । अब घर चलाउने खर्च जुटाउन अप्ठ्यारो भएको छ ।”

दिपेशका भाइ दिनेशलाई बारम्बार दाइको झझल्को आइरहन्छ । मोबाइलमा गेम खेल्दा होस् वा मेलपातमा जाँदा । दाइ बितेपछि दिनेशलाई संसारै अध्यारो भएको छ, मोबाइलको मनपर्ने गेम पनि खेल्न छाडेका छन् । बुबा ढलकबहादुर घरपरिवारको गुजारा चलाउन वर्षमा तीन महिना काठमाडौँ आएर खेतमा मजदुरी गर्दै आउनुभएको थियो । घरमा रहँदा उहाँले अधिकांश समय नाङ्लो बुन्ने र त्यसको बिक्रीबाट खर्च धान्दै आउनुभएको थियो । छोराको साहदतपछि उहाँलाई आजभोलि काठमाडौँ जाने कुरामा मोह भङ्ग भएको छ । नाङ्लो बुन्न पनि छाड्नुभएको छ ।

दिपेशको परिवारले काजकिरिया खर्चबापत गाउँपालिकाबाट रु २५ हजार प्राप्त गरेको छ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकालाई ‘जेनजी सुशासन योद्धा–२०८२’ घोषणा गरेपछि सरकारकार तर्फबाट रु १५ लाख आर्थिक सहयोग प्राप्त भएको छ । छोरा निधनपछि गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायत जनप्रतिनिधिले परिवारजनासँग भेट गरी सान्त्वना दिँदै आएका छन् ।

आमा भीममायाको एउटै मात्र कामना छ – सहीदका परिवारलाई सहज जीवनपायन गर्न सरकारले हिम्मत दिनुपर्छ । बालबच्चाले उठाएका भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने विषय पूरा गर्ने काम सरकारले गरोस्, त्यसका लागि अब आन्दोलन गर्न नपरोस्, आन्दोलनका नाममा कसैको काख रित्तो नहोस् । सहीद परिवारलाई राज्यका तर्फबाट आर्थिक सहयोग र सम्मानमा शालिक बनाइ दिए हुन्थ्यो ।

नारायण न्यौपाने/रासस