काठमाडौँ। युवा कथाकार सुरेश यक्सोद्वारा लिखित कथाकृति ‘पेनिबा’ आज एक समारोहबीच विमोचन गरिएको छ ।
मैयुङट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्र सभ्यता अन्वेषण केन्द्रद्वारा यहाँ आज आयोजित कार्यक्रममा उक्त कथासङ्ग्रह सार्वजनिक गरिएको हो ।
सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्बाङ (वैरागी काइँला)ले ‘पेनिबा’ आधुनिक नेपाली समाज र प्रवासी नेपालीको जीवन भोगाइको सशक्त प्रतिविम्ब भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरेश यक्सो केवल कथाकार मात्र होइनन्, उहाँ कवि र साहित्यिक अभियन्ता पनि हुनुहुन्छ । उहाँका कथाहरू सरल भाषामा लेखिएका छन्, तर ती कथाभित्र गहिरा भावना, संवेदना र मनोविज्ञान बगिरहेका हुन्छन् ।”
पूर्वकुलपति नेम्वाङले धनकुटाको पहाडी भूगोल र जनजीवनसँग जोडिएको यक्सोको लेखन शैली नेपाली साहित्यमा मौलिक पहिचानका रूपमा स्थापित हुँदै गएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “पेनिबा केवल कथासङ्ग्रह होइन, यो याकथुङ समुदायको सांस्कृतिक पहिचान बोकेको दस्तावेज पनि हो । यसमा गाउँको पुरानो जीवनशैली, मानवीय सम्बन्धको दूरी र आधुनिकताको प्रभावको चित्रण गरिएको छ ।”
कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले ‘पेनिबा’ नेपाली समाजको पहिचान र विविधताको दर्पण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पेनिबाले नेपालीपनलाई पुनः अनुभूति गराउँछ । पेनिबा केवल मनोरञ्जनका लागि लेखिएको कथा होइन, यो हाम्रो समाजको आत्मपरक कथा हो ।”
प्राज्ञ तथा वरिष्ठ कवि श्रवण मुकारुङले कथाकार सुरेश यक्सो नेपाली साहित्य क्षेत्रका उदीयमान र बहुप्रतिभाशाली युवा कथाकार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पेनिबाले नेपाली साहित्यसहित देश विदेशको परिवेश झल्काएको छ ।”
त्यसैगरी, लेखक तथा समालोचक डा तुलसी गौतम र कवि तथा कथाकार वीना थिङले उक्त कृतिको विषयवस्तु, शैली र संरचना सम्बन्धमा टिप्पणी गर्दै लेखकको सिर्जनशीलतालाई उच्च मूल्याङ्कन गर्नुभएको थियो । उहाँहरूले ‘पेनिबा’ मा प्रेम, पीडा, सङ्घर्ष र पहिचानको खोजजस्ता विषयलाई सशक्त रूपमा प्रस्तुत गरिएको बताउनुभयो ।
सभ्यता अन्वेषण केन्द्रका अध्यक्ष शशी सुलुम्बुले कथाकार सुरेश यक्सोजस्ता नेपाली साहित्यमा नयाँ पुस्ताको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस्ता सिर्जनात्मक प्रयासले नेपाली कथालेखनलाई नयाँ दिशातर्फ डो¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सांस्कृतिक विविधता झल्काउने च्याब्रुङ नृत्यसमेत प्रस्तुत गरिएको थियो । विमोचन समारोहमा साहित्य, कला, संस्कृति, शिक्षा र सुरक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।










