काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत एक–अर्कामाथि लाञ्छना लगाउने तथा आफ्नै सहकर्मीलाई होच्याउने प्रवृत्ति देखिनु आत्मघाति भएको टिप्पणी गर्नुभएको छ ।
मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन छिटोभन्दा छिटो गर्नुपर्ने कुरामा नेताहरुबीच एकमत रहेपनि सहमति जुट्न नसकेको बताउनु भयो ।
उहाँकाअनुसार बैठकमा राष्ट्रिय निर्वाचनको संघारमा हाम्रो आन्तरिक निर्वाचन गर्नु कति उपयुक्त छ ? र सँगसँगै त्यसको लागि हाम्रो यथेष्ट तयारी समेत पुगेको अवस्था भए नभएको विषयमा छलफल केन्द्रित रहेको छ । उहाँले बैठकको अन्त्यसम्ममा महाधिवेशनबारे पार्टीको आधिकारिक निर्णय हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा एकमत छ । र चाँडोभन्दा चाँडो महाधिवेशन गर्नुपर्छ भन्ने विषयमा पनि कुनै विमति छैन । तर राष्ट्रिय निर्वाचनको संघारमा हाम्रो आन्तरिक निर्वाचन गर्नु कति उपयुक्त छ ? र सँगसँगै त्यसको लागि हाम्रो यथेष्ट तयारी समेत पुगेको अवस्था छैन भन्ने विषयवस्तुमै छलफल केन्द्रित छ । तर बैठकको अन्त्यसम्ममा समान निष्कर्षमा पुग्छौं भन्नेमा मेरो विश्वास छ । पार्टीभित्रैबाट सामाजिक सञ्जालमा लाञ्छाना लगाउने, आफ्नै साथिभाईलाई होच्याउने र नियोजित रुपमा प्रयोग गर्ने जुन प्रवृत्ति छ त्यो अहात्मघाति छ भनेर मैले अस्ति नै केन्द्रीय समितिको बैठकबमा पनि भनेको छु । हामीले सरकारले वातावरण बनाएको अवस्थामा निर्वाचनमा सहभागि हुने र नभए संसद पुनःस्थापनाको मागलाई दह्रोसँग उठाउने विषयमा एकमत छ ।’
निर्वाचनअघि महाधिवेशन हुनै नसक्ने संस्थापन पक्ष, चुनावमा नयाँ नेतृत्व लिएर मात्रै जानुपर्ने दुई महामन्त्री र संस्थापनइतरको अडानले काँग्रेसभित्र आन्तरिक टकराव चुलिएको छ ।










