चरीकोट । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध तथा डिस्यान्डर बेसिनको परीक्षण सुरु भएको छ । सोमबारबाट सुरु गरिएको परीक्षण न्यूनतम आठ दिनसम्म गर्नुपर्ने भए तापनि निरन्तर आगामी २२ गतेसम्म गरिने तालिका बनेको आयोजना प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए। उनका अनुसार पहिलो दिन अर्थात् सोमबार बाँधमा चार मिटर पानी जम्मा गरिनेछ । त्यसपछि क्रमशः दुई/दुई मिटर प्रतिदिन पानी थप्दै लगिने छ । हरेक गेट बन्द गरेर बाँधमा पानी जम्छ कि जम्दैन परीक्षण गरिन्छ । बाँध, गेट र इन्टेक समेतका संरचनाले काम गरे नगरेको पनि थाहा हुन्छ ।

बाँधको परीक्षणपछि बालुवा थिग्य्राउने पोखरी (डिस्यान्डर) मा पानी भरेर परीक्षण गरिन्छ ।आयोजनाको बाँधको दायाँतिरको भाग गत २०७२ वैशाखको भूकम्पले १७ इञ्च भासिएको छ । यसरी भासिएपछि अमेरिकाबाट विशेषज्ञ समेत झिकाएर अध्ययन गराइएको थियो । विशेषज्ञको सुझाव अनुसार बाँधमा ग्राउटिङ प्रविधि अपनाएर मर्मत गरिएको थियो । बाँधको ६० मिटर लम्बाइ र २२ मिटर उचाइ रहेको छ । बाँधको सतहमुनि सात मिटर र त्यसभन्दा माथि १५ मिटर उचाइ छ । ६० मिटर लम्बाइमा डिस्यान्डरमा जाने चारवटा गेट रहेका छन् भने नदीको पानी बाहिर पठाउन चारवटा गरी आठवटा गेट रहेका छन् । आयोजनामा दुई सय मिटर लम्बाइका दुईवटा डिस्यान्डर बेसिन रहेका छन् ।
दुवैमा पालैपालो पानी भरेर परीक्षण गर्न लागिएको आयोजनाका प्रवक्ता डा. न्यौपानेले जानकारी दिए । यो परीक्षणपछि सुरुङको परीक्षण क्रमशः गर्दै जाने आयोजनाको कार्ययोजना रहेको छ । अहिले हेडरेस सुरुङको फिनिसिङको काम अन्तिम चरणमा छ । आयोजनाको समग्र प्रगति ९९.४ प्रतिशत पुगेको छ । सबैभन्दा कठिन काम दुईवटा ठाडो सुरुङमा पाइप जडान भइरहेको उनले बताए । दुईवटा ठाडो सुरुङमध्ये एउटा ३७३ मिटरको तल्लो ठाडो सुरुङको २६० मिटर पूरा भएको छ । तल्लोमा ११३ मिटर मात्र बाँकी छ । अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोबाट पाइप जडान भइइरहेको छ । माथिल्लो खण्डको ३१० मिटरमध्ये १५५ मिटर पाइप जडान भएको छ भने १५५ मिटर नै बाँकी छ ।
यसको जडान टेक्सम्याको आफैँले गर्दै आएको छ । टेक्सम्याकोकै ढिलाइकै कारण आयोजनाको समग्र प्रगति एक वर्ष ढिलाइ भएको छ । काम अन्तिम चरणमा पुगेकाले कर्मचारी पनि अन्तिम कसरतमा छन् । पछिल्लो कार्यतालिका अनुसार आउँदो असार मसान्तसम्म पहिलो परीक्षण गरी ७६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । ठाडो सुरुङभित्रको पाइप जडानपछि दुवै पाइप बीचको तेर्सो एक सय मिटर पाइपको काम सुरु हुने छ । तर ठाडो सुरुङभन्दा सहज हुने हुँदा एक महिनामा यो जडानको काम पूरा हुने आयोजनाले जनाएको छ ।
आयोजनाको पावरहाउस, हेडवक्र्स, प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । रामेछापको फुलासीमा निर्माणाधीन सबस्टेसनको सिभिल संरचनाको काम सम्पन्न गरी केही समयपछि उपकरण जडानको काम हुनेछ । आयोजनाले अहिलेसम्म ४८ अर्ब खर्च भुक्तानी गरेको बताइन्छ । गोरखापत्र दैनिक











