२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

पोखरा रङ्गशालामा नेपथ्यको भब्य कार्यक्रम: विशाल दर्शकसँग खेलकुद र सङ्गीतको अनुपम साँझ

पोखरा रङ्गशालामा नेपथ्यको भब्य कार्यक्रम: विशाल दर्शकसँग खेलकुद र सङ्गीतको अनुपम साँझ
अ अ+ अ-

पोखरा: आसन्न एनपीएल क्रिकेट प्रतियोगिताका लागि स्थानीय टोली ‘पोखरा एभेन्जर्स’ सँग हातेमालो गर्दै लोकरक ब्यान्ड नेपथ्यले शुक्रबार भव्य कन्सर्ट गरेको छ ।

१० हजारभन्दा बढी दर्शक अटाउने गरी पोखरा रङ्गशालाभित्र निर्धारण गरिएको क्षेत्र भरिभराउ थियो । नेपथ्यको गृहनगरमा भेला भएका दर्शक उत्सवकै माहोलमा सुरुदेखि अन्त्यसम्मै रमाएका थिए ।

 कन्सर्ट हेर्न दर्शक पर–परदेखि आएको भए पनि अघिल्लो दिनै टिकट बिक्री भइसकेकाले निराश बनेर बाहिर सडकमा उत्तिकै देखिन्थे ।

‘छोरालाई लिएर पर्वतदेखि आइपुगेको थिएँ, टिकट सकिइसकेको रहेछ,’ राजन गुरुङ भनिरहेका थिए, ‘आयोजकले थप सय टिकट जारी गर्छौं भनेकाले पर्खेर बसेका छौं ।’ कुराकानीकै क्रममा राजनले आफूजस्तै टिकट पर्खेर बसेका लमजुङका दर्शक पनि देखाए ।

भित्र मैदानमा भने सदाझैँ घडी देखाएर तोकिएको समयमै बेलुकी ६ बजे कन्सर्ट सुरु भयो । ब्यान्डले पहिलो सौगात स्वरूप ‘हो रामा रामा’ गीत प्रस्तुत गर्यो ।

कन्सर्ट अवधिभर ब्यान्डका मुख्य गायक अमृत गुरुङले सहरसँग जोडिएका रैथाने अनुभव सुनाए । पोखरेली क्रिकेट टोली र समग्र खेलकुद क्षेत्रकै पक्षमा उनले प्रकट गरेका विचारलाई दर्शकले अत्यन्तै मन पराएको देखिन्थ्यो । गीत सङ्कलनको अनुभव, नेपाली भाषा र संस्कृतिको जगेर्ना अनि नेपालीपनको विशेषताबारे उनले व्यक्त गरेका धारणालाई पनि दर्शकले स्वागत गरेका थिए ।

‘आँगनैभरि’ देखि ‘छेक्यो छेक्यो’ जस्ता ब्यान्ड स्थापनाताकाका गीतदेखि लिएर ‘चरी मर्यो सिसैको गोलीले’, ‘जोमसोमे बजार’ जस्ता सदाबहार लोकप्रिय गीतहरू प्रस्तुत गरिएका थिए । श्रोताले अत्यधिक मन पराएका ‘रेशम’ र ‘तालको पानी’ अनि देशभक्तिपूर्ण ‘रातो र चन्द्रसुर्जे’, ‘गाउँगाउँबाट उठ’ सम्मका गीतमा पनि पोखरेली दर्शक रमाए ।

तन्नेरी पुस्ताले भरिएको कन्सर्ट मैदानमा अमृतले जेन–जी आन्दोलनपछिको समसामयिक राजनीतिक परिस्थितिलाई पनि सम्बोधन गर्न चाहे ।

‘परिवर्तनका लागि पृष्ठभूमि तयार भइसकेपछि अब संयमित भएर अगाडिको बाटो तय गर्न म सबैलाई अनुरोध गर्छु,’ उनले नयाँ पुस्तालाई भने, ‘मतदाता नामावालीमा नाम लेखाउनलाई नछुटाउन अनि आगामी चुनावमा अत्यधिक सहभागितासाथ मुलुकको भाग्यरेखा कोर्न म सबैलार्ई आग्रह गर्छु ।’

कन्सर्ट हेर्नकै लागि काठमाडौँदेखि आएका केही परिचित अनुहार पनि मैदानमा देखिन्थे । तिनैमध्ये एक थिए हास्य अभिनेता जितु नेपाल । उनले रङ्गशाला पुग्नुअगावै आफ्नो फेसबुकमा नेपथ्यकै लागि सपरिवार पोखरा आएको उल्लेख गरेका थिए । आफ्ना छोराछोरी र श्रीमतीको धेरै पहिलादेखिको चाहना पूरा हुन लागेकामा खुसी प्रकट गर्दै उनले लेखेका थिए –

‘आज पोखरामा नेपथ्यसँग नाच्ने हो, गाउने हो । आफ्नै नेपाली धुन लय र सङ्गीतको प्रत्यक्ष मज्जा लिने हो ।’

कन्सर्टमा अभिनेता नेपालको परिवारै सुरुदेखि अन्तिमसम्मै नाचिरहेको देखिन्थ्यो ।

‘बबाल रमाइलो भयो,’ उनले नाच्दानाच्दै प्रतिक्रिया दिए, ‘नेपथ्यलाई धन्यवाद ।’

कन्सर्ट हेर्नेहरूको जमातमा हास्य अभिनेता सन्दीप क्षेत्री पनि थिए । लेखक कुमार नगरकोटी पनि कन्सर्ट हेर्नकै निम्ति काठमाडौँबाट पोखरा पुगेका थिए । ‘नेपथ्यको जीवनी पुस्तक भर्खरै पढेर सिध्याएपछि यो कन्सर्ट हेर्ने इच्छा लाग्यो,’ नगरकोटीले भने, ‘नेपथ्य ब्यान्डसँगको यो मेरो पहिलो अनुभव सोचेको भन्दा धेरै रमाइलो भयो ।’

माटोको रक्षा अनि उर्बराशक्ति बढाउने उद्देश्यका साथ विभिन्न मुलुकबाट नेपाल आइपुगेका र हाल पोखरामा रहेका कृषि विज्ञहरूको ठूलै समूह पनि कन्सर्टमा उपस्थित थियो ।

‘जेन–जी आन्दोलनपश्चात् पहिले नै तोकिएका कन्सर्टहरूसमेत रद्द भइरहेको र नयाँ गर्ने आँटसमेत कसैले नदेखाइरहेको अवस्था थियो,’ मुलुकका प्रायः ठूला कन्सर्टहरूमा ध्वनि व्यवस्थापन हेर्दै आएका प्राविधिक शिविर शाक्य भन्छन्, ‘पोखरामा भएको यो विशाल कन्सर्ट आफैँमा मानक बनेको छ ।’

कन्सर्टको मञ्चमा अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

पोखराको प्रस्तुति सकिएपछि अब नेपथ्य जापानको शृङ्खलाबद्ध यात्रामा निस्कँदै छ । ब्यान्ड दुई सातासम्म जापानमा रहनेछ । राजधानी टोकियो लगायतका तीन सहरमा कन्सर्ट गर्ने तयारी छ । पहिलो शो नागोयामा यसै बिहीबार (कात्तिक २७) हुँदै छ ।

जापानका दर्शकका लागि अनलाइनबाट सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ । अनलाइन बुकिङका लागि दर्शकले नेपथ्यको आधिकारिक वेबसाइट  www.nepathya.com.np  मार्फत आफ्नो सिट सुरक्षित गर्न सक्नेछन् ।

 फोटोहरु: दिपित राज