काठमाडौँ। नेपाल वायुसेवा निगमका नवनियुक्त निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले मातहतका कर्मचारीहरूलाई संस्थाको छवि उच्च बनाउनेगरी काम गर्न आग्रह गर्नुभएको छ ।
निगममा कार्यरत क्याविन क्रुहरूको पेसागत सङ्गठन ‘सी क्यान’को ज्ञापन पत्र बुझ्दै आज उहाँले यात्रुको अगाडि पर्ने क्याबिन क्रुहरुले गर्ने व्यवहारबाट नै संस्थाको छवि आमजनतामा झल्किने बताउनुभयो । निमित्त महाप्रबन्धक कालाखेतीले क्याबिन क्रुका आफ्नोतर्फबाट गर्न सकिने समस्या र गुनासा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सी क्यानका अध्यक्ष प्रजिता कार्की नेतृत्वको टोलीले उहाँलाई निगमको नयाँ जिम्मेवारीका लागि बधाई तथा शुभकामना दिएको थियो । निगममा कार्यरत क्याबिन क्रुहरूले अवकाश उमेर ५० वर्ष हुनुपर्ने मागसहित व्यवस्थापनसमक्ष ज्ञापनपत्र पेस गरेका थिए ।
क्याबिन क्रुहरूलाई अन्य कर्मचारीको तुलनामा सेवा, सुविधा र अवकाश उमेरमा भेदभाव र अन्याय हुँदै आएको उहाँहरूको माग छ । यसका साथै सी क्यानले निगमभित्रका बेथिति रोक्न, इञ्जिन मर्मत र भाडा दिँदा हुने अपारदर्शिता, भ्रष्टाचार अन्त्य हुनुपर्ने र त्यसमा आफूहरू सहयोग गर्न तयार रहेको जनाएको छ ।










