२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार



अ+ अ-

गोरखा। गोरखाको मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार गरिएको छ । उक्त क्षेत्रबाट आज ११० पर्यटकको उद्धार गरिएको छ । घाइते, बिरामी तथा खराब मौसमका कारण गन्तव्यतर्फ जान नसकेका पर्यटकको उद्धार गरिएको हो ।

“मौसम खुल्नासाथ उद्धार कार्य सुरु गरेका थियौँ”, निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भन्नुभयो, “पाँच हेलिकोप्टरमार्फत पर्यटकको उद्धार गरियो । जसमध्ये ८५ प्रतिशत विदेशी पर्यटक थिए ।”

मौसम सफा भएसँगै केही पर्यटक लार्केपास गरी मनाङ झरेका छन् । केही भने आरुघाटतर्फ फर्कंदै गरेका सहायक प्रजिअ बरालले जानकारी दिनुभयो । एकदुई दिनभित्रमा उद्धारकार्य सम्पन्न हुने उहाँको भनाइ छ । आज मौसम खुलेपछि गाउँपालिका, मनास्लु संरक्षण क्षेत्र आयोजना, होटल व्यवसायी उपसमिति, स्थानीय युवा मिलेर बाटो खोल्ने काम गरिरहेका चुमनुब्री गाउँपालिका–१ साम्दोका पर्यटन व्यवसायी निमा दोर्जे लामाले बताउनुभयो । उनीहरु गत मङ्गलबारदेखि परेको हिमपातले ढाकिएका र पहिरोले पुरिएका बाटो सफा गर्न गएका उहाँले जानकारी दिनुभयो ।

“आज कतिपय पैदलमार्फत आरुघाटतर्फ झरे । बिरामी, अशक्तलाई हेलिकोप्टरबाट उद्धार गरियो । तीन सय ८० जना भने साम्दोबाट लार्केपास गर्न धर्मशालातर्फ गएका छन् । उनीहरु लार्केपास गरेर मनाङ झर्छन्”, पर्यटन व्यवसायी लामाले भन्नुभयो । साम्दोमा पर्यटक आउने क्रम नरोकिएको उहाँको भनाइ छ ।

यो याममा (भदौ १६ देखि कात्तिक १५ सम्ममा) छ हजार ४१४ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका मनास्लु संरक्षण क्षेत्र आयोजनाको तथ्याङ्कमा उल्लेख छ । हाल उक्त क्षेत्रमा सयौँ पर्यटक रहेका छन् ।

तातोपानीबाट ३५ पर्यटकको उद्धार

गोरखाको तातोपानी क्षेत्रमा अलपत्र परेका ३५ स्वदेशी तथा विदेशी पर्यटकको उद्धार गरिएको छ । धार्चे गाउँपालिका–३ तातोपानीबाट नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले २० विदेशी र १५ नेपाली पर्यटकको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उनीहरु सामागाउँबाट माछीखोलातर्फ आउने क्रममा पहिरोका कारण तातोपानीमा अलपत्र परेका हुन् ।

पर्यटक अलपत्र परेको जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस आरुघाटबाट खटिएको टोलीले उनीहरूको उद्धार गरी माछीखोलातर्फ पठाइएको थियो । उद्धार गरिएका पर्यटकको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।रासस