२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’



अ+ अ-

दमौली । यहाँको व्यास नगरपालिका-१४ स्थित प्रसिद्ध छाब्दीबाराही मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

यहाँ वार्षिक छ(सात लाख भक्तजन आउने गरेका छाब्दीबाराही विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिनुभयो । सदरमुकाम दमौलीबाट सात किलोमिटर पक्की सडक यात्रा गरेपछि मन्दिर पुगिन्छ । मन्दिरको गत वर्ष पुनर्निर्माण गरी आकर्षक बनाइएको छ ।

कोषका अध्यक्ष थापाका अनुसार गण्डकी प्रदेश सरकारको रु २४ लाख आर्थिक सहयोग र छाब्दीबाराही विकास कोषको आन्तरिक कोषबाट रु ४६ लाख गरी रु ७० लाखको लागतमा मन्दिरको पुनर्निर्माण गरिएको हो । मन्दिरमा शनिबारमात्रै करिब पाँच हजार भक्तजनले पूजाआजा गरेका छन् । दसैँ, तिहारका बेला मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने उहाँको भनाइ छ ।

साउन महिनाभरि, प्रत्येक महिनाको औँसी र एकादशीमा भने यहाँ पूजाआजा बन्द गरिने अध्यक्ष थापाले बताउनुभयो । “छाब्दीबाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेकी जनविश्वास छ । मन्दिर बाहिर खोलामा पनि हजारौँ माछा छन् । छाब्दी कुण्डमा स्नान गरी उपवासपूर्वक पूजा गरेमा अन्जानमा गरिएका सबै पापबाट मुक्त भइन्छ र मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ”, उहाँले भन्नुभयो ।

मन्दिरमा तीन जना मगर जातिका पुजारी छन् । यहाँ साउन, एकादशी र औँसीबाहेकका दिनमा बली चढाइने अध्यक्ष थापाले जानकारी दिनुभयो । मन्दिरमा हाँस, परेवा, बोका, राँगाको बली दिइने चलन छ । मन्दिर परिसरमा पुरानो छाब्दीबाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीको बीचमा मत्स्यगन्धाको मूर्ति आकर्षणका रूपमा रहेका छन् ।

मन्दिरको संरक्षण, वातावरणमैत्री भौतिक पूर्वाधार विकास, धार्मिक तथा ग्रामीण कृषि पर्यटन विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित मन्दिरको गुरुयोजना निर्माण गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गुरुयोजनामा धार्मिक तथा सांस्कृतिक सम्पदा, भौतिक अवस्था र जैविक विविधताको संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि, मन्दिर परिसरको सौन्दर्यकरण र फोहोरमैला व्यवस्थापनका सम्बन्धमा आवश्यक प्रवर्द्धनात्मक कार्यक्रम गर्ने प्रस्ताव गरिएको छ ।