२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारत नाकामा भिड : कञ्चनपुरको गड्डाचौकीदेखि झापाको काँकडभिट्टासम्मको स्थलगत रिपोर्ट



अ+ अ-

काठमाडौं । पश्चिम नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशका विभिन्न स्थानमा कोरोना भाइरस (कोभिड–१९)का संक्रमित भेटिएका छन् । पारिपट्टि संक्रमण देखिएपछि नेपालतर्फ त्रास बढेको छ । तर, जोखिमलाई नजरअन्दाज गर्दै दुई देशका नाका अझै खुला राखिएका छन्, जहाँबाट दैनिक हजारौँ मानिस निष्फिक्री ओहोरदोहोर गरिरहेका छन् ।

कञ्चनपुरको गड्डाचौकीदेखि झापाको काँकडभिट्टासम्मका नाकाबाट दुई देशका नागरिक जोखिम मोल्दै हुल बाँधेर आउजाउ गरिरहेका छन् । २५ जनाभन्दा बढी भिड नलाग्न आह्वान गरेको सरकारले त्यसको व्यवस्थापनमा ध्यान दिएको छैन । ठेलमठेल लाइनमा उभ्याएर सीमित साधनस्रोतले उनीहरूको चेकजाँच भइरहेको छ । स्वास्थ्य परीक्षणका नाममा भारतबाट आउनेहरूको सामान्य ज्वरो नापेर नेपाल छिर्न दिइएको छ । कतिपय नाकामा त ज्वरो नाप्ने थर्मोमिटर र स्वास्थ्यकर्मी समेत पर्याप्त छैनन् ।

दिल्लीसँग सबैभन्दा छोटो दूरीको गड्डाचौकी नाकाबाट दैनिक पाँच हजार व्यक्ति भित्रिँदै छन् । यहाँ ११ स्वास्थ्यकर्मी रहेको हेल्थ डेस्क छ । तर, ज्वरो नाप्न दुईवटा मात्रै इन्फारेड थर्मोमिटर छन् । संक्रमणको आशंका भएका व्यक्तिलाई महाकाली अञ्चल अस्पतालमा रेफर गरिन्छ । तर, त्यहाँ क्वारेन्टाइन र आइसोलेसन वार्ड छैन । ‘दुईवटा डिजिटल थर्मोमिटरले ज्वरो जाँच गर्दै आएका छौँ । सामान्य ज्वरो देखिएकाहरूलाई उपचारपछि पुनः जाँचेर पठाउँछौँ, १०४ डिग्रीभन्दा माथि ज्वरो देखिए महाकाली अस्पतालमा रेफर गर्छौँ,’ हेल्थ डेस्क इन्चार्ज निर्मला जोशीले भनिन् । बिहान ५ बजेदेखि राति ९ बजेसम्म तीन सिफ्ट गरेर नाकामा ज्वरो नाप्ने गरिएको उनले बताइन् ।

गड्डाचौकी नाकाबाट फर्किनेहरू मजदुरीका लागि भारतमा रहेका नेपालीदेखि भारतीयसम्म छन् । भारतमा होटेल, उद्योगलगायत रोजगारीका क्षेत्र बन्द भएपछि घर फर्किने नेपालीको संख्या बढेको हो । महेन्द्रनगरबाट गड्डाचौकी नाका हुँदै दिल्ली, देहरादुन चल्ने नेपाल–भारत मैत्रीबस सेवा भने ३ चैतदेखि बन्द गरिएको छ ।

भारतसँग जोडिएका कञ्चनपुरका अन्य साना नाका झन् अव्यवस्थित छन् । महाकाली र बेलौरी नगरपालिका क्षेत्रका नाकाका हेल्थ डेस्कमा पनि ज्वरो नापेर छाड्ने गरिएको छ । बेलौरीका मेयर पोतिलाल चौधरीले नाकामा आवतजावत नै बन्द गर्न छलफल भइरहेको बताए । महाकालीका प्रवक्ता दिलबहादुर सिँजालीले १० दिनका लागि आउजाउ बन्द गरिएको बताए । पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिकाले समेत सीमा–नाका बन्द गर्ने तयारी थालेका छन् ।

भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजारमा बनाउने भनेको क्वारेन्टाइन र आइसोलेसन वार्ड व्यवस्थापन पनि अलपत्र छ । १८ कोठे सामुदायिक स्वास्थ्य संस्थाको छात्रावासमा क्वारेन्टाइन राख्ने निर्णय नगरपालिकाले गरेको थियो, तर अहिलेसम्म केही काम भएको छैन । त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पतालको बिरामी कुरुवा घरमा सात बेडको आइसोलेसन वार्ड बनाउन थाले पनि काम सुस्त छ । हालसम्म कोठामा कुचो लगाउनेबाहेक अरू काम भएको छैन । बेड व्यवस्थित गरिएको छैन भने जनशक्ति पनि छैनन् ।

-(त्रिनगर नाका (कैलाली) : भारतबाट किनमेल गरेर फर्किने नेपालीको स्वास्थ्य जाँच नै हुँदैन
-(जमुनाहा नाका (बाँके) : पारि भारततिरको बहराइचमा संक्रमित भेटिएका छन्, तर पनि नेपाली नाकामा उच्च सतर्कता छैन । दैनिक हजारौँ ओहोरदोहोर गर्ने नाकामा आठ स्वास्थ्यकर्मीले दुई थर्मोमिटर बोकेर ज्वरो नाप्दै छन् ।
-(भैरहवा नाका (रुपन्देही) : सरकारले झारा टारेको भन्दै स्थानीयको पहलमा बेलहिया नाकामा पाँच स्वास्थ्यकर्मी रहेको छुट्टै हेल्थ डेस्क सञ्चालन ।
-(रक्सौल नाका (पर्सा) : देशको सबैभन्दा व्यस्त यो नाका अस्तव्यस्त छ । घन्टामै करिब पाँच सय ओहोरदोहोर गर्छन्, तर हेल्थ डेस्कमा दुई अहेब र एक अनमि मात्रै छन् ।
-जोगबनी नाका (मोरङ) : यो नाकाबाट दैनिक १५ हजार मानिस आवतजावत गर्छन् । तर, सीमामा सामान्य स्वास्थ्य जाँच मात्रै हुन्छ ।

त्यस्तै, कैलालीको त्रिनगर नाकामा पनि स्वास्थ्य जाँच फितलो छ । सीमावर्ती भारतीय बजारमा किनमेल गरेर फर्किने नेपालीलाई स्वास्थ्य जाँच नै नगरी आउन दिइन्छ । दैनिक सयौँ नेपाली भारतको बनगावालगायत बजारमा किनमेल गर्न पुग्छन् । उनीहरू जाँदा गौरिफन्टास्थित भारतीय हेल्थ डेस्कमा चेकजाँच हुन्छ । तर, फर्किने वेला नेपालतर्फ जाँच नगरिएको त्रिनगरस्थित हेल्थ डेस्ककी अनमि धनपति खडायतले बताइन् । हेल्थ डेस्कमा एम्बुलेन्स र आइसोलेसन कक्ष छ । तर, स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्याप्त सामान छैनन् । ‘मास्क, ग्लोभ, सेनिटाइजर पर्याप्त छैनन्,’ अनमि खडायतले भनिन् ।

कैलालीकै टीकापुरस्थित खक्रौला नाकामा भारतबाट भित्रिनेको ज्वरो जाँच हुने गरेको छ । तर, शंकास्पद भेटिए हेल्थ डेस्कमा राख्ने ठाउँ छैन । टेन्ट लगाएर क्वारेन्टाइन बनाए पनि बस्ने कुर्सीसमेत छैन ।

कैलालीमा कसैलाई संक्रमण देखिए उपचार तयारी झन् फितलो छ । त्रिनगर नाकाबाट भित्रिनेमा कोरोनाको शंका लागे सेती प्रादेशिक अस्पताल लैजाने गरिएको छ । तर, त्यहाँ पर्याप्त आइसोलेसन वार्ड छैनन् । चिकित्सकले प्रयोग गर्ने सुरक्षा सामग्रीको पनि अभाव छ । ‘सुरक्षा सामग्री छैन, जोखिम मोलेर काम गरिरहेका छौँ,’ सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डा. जगदीशप्रसाद जोशीले भने, ‘एकजनामा मात्रै संक्रमण देखिए पनि भयावह हुने अवस्था छ ।’

बाँकेको नेपालगन्जसँग सिमाना जोडिएको भारतको बहराइज जिल्ला सदरमुकाम बहराइचमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पारिपट्टिसम्म कोरोना आइपुग्दा पनि जमुनाहा नाकाको भद्रगोल अवस्था हुँदा नेपालगन्जवासी त्रसित बनेका छन् ।

कामका लागि भारत गएकाहरू जमुनाहाबाट धमाधम भित्रिरहेका छन् । नाकामा हेल्थ डेस्क भए पनि भिडभाड व्यवस्थापन भएको छैन । दुईवटा इन्फ्रारेड थर्मोमिटर बोकेर आठ स्वास्थ्यकर्मी स्वास्थ्य चेकजाँचमा खटिएका छन् । भिडभाडको तुलनामा ज्वरो नाप्ने थर्मोमिटर कम भएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । तर, खरिद गर्न थर्मोमिटर नै नपाएको उनको भनाइ छ ।

नाकामा परीक्षण गर्दा सय डिग्रीभन्दा बढी तापक्रम भएका व्यक्तिलाई सीधै भेरी अस्पताल पठाउने गरिएको छ । तर, अत्यधिक भिडभाड भएकाले व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई हम्मेहम्मे परेको छ । ‘भारतबाट कतिपय डराउँदै आउँछन् । नाकामा स्वास्थ्य परीक्षण गराउनसमेत मान्दैनन्,’ चन्दले भने, ‘स्वास्थ्यकर्मीले प्रहरीको सहायता लिनुपर्ने भएको छ ।’

जोखिम नजिक छ, तर बाँकेमा अहिलेसम्म क्वारेन्टाइन बनेको छैन । क्वारेन्टाइनका लागि उपयुक्त भवन नभेटेको भेरी अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाशबहादुर थापाले बताए । प्रदेश सरकारले खजुरास्थित कपास विकास समितिको परिसरमा भएका भवनमा क्वारेन्टाइन बनाउने निर्णय गरे पनि पर्याप्त र योग्य नभएको बताए । अब दुई–तीनवटा विद्यालयसँग समन्वय गरेर बनाउँदा प्रभावकारी हुने उनको भनाइ छ ।

बाँकेमा क्वारेन्टाइन मात्रै होइन, आइसोलेसन वार्डको पनि टुंगो लागेको छैन । भेरी अस्पतालले ६ बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याए पनि नाम मात्रको भएको मेडिकल सुपरिटेन्डेन्ट डा। थापाले बताए । उनले जनरल वार्ड भएकै भवनमा आइसोलेसन वार्ड बनाउन नमिल्ने भए पनि अर्को विकल्प नभएको बताए । ‘जनरल वार्डसँगै जोडिएको भवनबाहेक अन्यत्र बनाउने विकल्प नभएपछि बाध्य भएर काम चलाउ आइसोलेसन वार्ड स्थापना गरेका छौँ,’ उनले भने ।

भारतसँग जोडिएको देशकै दोस्रो ठूलो नाका रुपन्देहीको बेलहियामा सरकारी चेकजाँच प्रभावकारी नभएपछि स्थानीयको पहलमा बेग्लै हेल्थ डेस्क स्थापना गरिएको छ । स्थानीय बेलहिया गाउँ समाजले नाकामा पाँच स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क राखेर चेकजाँच सुरु गरेको हो । कोरोना महामारी सुरु भएपछि दशगजा क्षेत्रमा भारततर्फ एम्बुलेन्ससहित २० स्वास्थयकर्मीको टोलीले थर्मल स्क्यानरबाट चेकजाँच गरे पनि नेपालतर्फ थर्मोमिटरबाट ज्वरो नापिने गरेको थियो । जिल्ला प्रशासनले स्थापना गरेको हेल्थ डेस्क एउटा कर्मचारीको भरमा थियो ।

समाजको सक्रियतामा राखिएको हेल्थ डेस्कमा थर्मल स्क्यानर राखिएको छ । सिद्धार्थनगर नगरपालिका स्वास्थ्य सेवा केन्द्रको सहयोगमा थर्मल स्क्यानर व्यवस्था गरिएको हो । समाजका सल्लाहकार रमेश थापाले सरकारको भूमिका प्रभावकारी नभएपछि आफूहरूले पहल गरेको बताए ।

बेलहिया हुँदै दिल्लीसम्म चल्ने अन्तरदेशीय बससमेत अहिले सञ्चालनमै छ । दैनिक हजारौँ व्यक्ति भारतबाट नेपाल भित्रिन्छन् । खुला सीमाका कारण नेपालतर्फ जोखिम र त्रास छ । स्थानीयले आफैँ पहल गर्दा सरकार अझै गम्भीर बनेको छैन ।

प्रदेश ५ सरकारले शुक्रबार मात्रै ६ वटा आइसोलेसन अस्पताल बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री शंकर पोखरेल अध्यक्षतामा बसेको बैठकले रुपन्देही, दाङ र बाँकेमा आइसोलेसन अस्पताल बनाउने निर्णय गरेको हो । मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले भैरहवाको भीम अस्पताल, बुटलाको धागो कारखाना भवन र देवदहर क्याम्पसलाई आइसोलेसन अस्पताल बनाउने निर्णय भएको बताए । त्यस्तै, दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पताल, बाँकेको नेपाल प्रहरी अस्पताल र अर्बुद रोग अस्पताललाई आइसोलेसन अस्पतालमा परिणत गर्ने निर्णय गरेको छ ।

यी अस्पतालमा उपचार प्रबन्ध मिलाउनसम्बन्धि प्रमुख जिलला अधिकारीहरूलाई जिम्मा दिइएको छ । कर्मचारी व्यवस्थापन प्रादेशिक अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताललगायतबाट गरिने निर्णय पनि भएको छ ।

नेपाल–भारतको प्रमुख नाका वीरगन्ज झन् अस्तव्यस्त छ । भारतबाट वीरगन्ज नाका हुँदै घन्टामै पाँच सय व्यक्ति भित्रिन्छन् । तर, नाकाको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले ज्वरो नापेर मात्रै पठाइदिने गरेका छन् । डेस्कमा दुई अहेब र एक अनमी छन् ।

शुक्रबार भारतबाट घरायसी सामान किनेर फर्किएका बहुदरमाई नगरपालिका–३ नगरदाहाका २० वर्षीय मेराज आलमलाई १०३ डिग्री ज्वरो देखियो । स्वास्थ्यकर्मीले उनलाई केहीबेर कुर्सीमा आराम गराए । ५ मिनेटपछि फेरि नाप्दा ९९ डिग्री देखिएपछि घर पठाइदिए । शुक्रबार मेराजजस्तै सयभन्दा धेरैको तापक्रम बढी देखिएको थियो । सबैको पछि घटेको भन्दै घर पठाइएको छ । जब कि वीरगन्ज महानगरपालिकाले कसैलाई बढी ज्वरो देखिए वा कोरोनाको शंका लागे महानगरको स्वास्थ्य शाखामा जानकारी गराउन भनेको छ ।

वीरगन्ज महानगरपालिकाले सरकारी र निजी गरी तीन अस्पतालमा आइसोलेसन बेड व्यवस्थापन गरेको छ । नारायणी अस्पतालमा ५ बेड, नारायणी बयोधा अस्पतालमा ४ बेड र नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा ५० बेड व्यवस्था गरेको महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण महतोले बताए । तर, अहिलेसम्म शंकास्पद बिरामी नआएको उनले बताए ।

दैनिक १२ हजार भित्रिने काँकडभिट्टा नाकामा सुरक्षा जाँच प्रभावकारी हुन सकेको छैन । सयौँलाई एकसाथ ठेलमठेल लाइन लगाएर ज्वरो नाप्ने र छाड्ने गरिएको छ । तर, स्वास्थ्यकर्मीको टोलीले साबुनपानीले हात धुन लगाउने, ज्वरो नाप्ने र स्वस्थ भएको प्रमाणित भएपछि मात्रै प्रवेश गर्न दिने गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले बताए । सुरक्षा जाँचका लागि औजार र स्वास्थ्यकर्मी भने अभाव रहेको उनको भनाइ छ ।

तीन थर्मोमिटर दिएर तीन स्वास्थ्यकर्मी हेल्थ डेस्कमा खटाइएको छ । व्यक्तिगत सुरक्षा साधन छैन । प्रहरीले मास्क आफैँ बनाएर प्रयोग गरिरहेको पोखरेलले बताए । काँकडभिट्टा भएर अघिल्ला दिनहरूमा १२ हजार भित्रिने गरेकोमा शुक्रबार आठ हजार भित्रिएको बताए ।

प्रहरीले भारतबाट व्यक्तिगत रूपमा सामान ल्याउन पूर्ण रूपमा बन्देज लगाएको छ । झापाका स्थानीय दैनिक उपभोग्य सामान खरिद गर्न भारतको पानीट्यांकी पुग्ने गर्थे । अहिले बन्द गरिएको छ । काडमाडौं–सिलिगुडी बससेवा पनि अनिश्चितकालका लागि बन्द भएका छ । मेची पुलबाट रिक्सा, टेम्पोलाई समेत यात्रु बोक्न निषेध गरिएको छ । हालसम्म दुई युक्रेनीसहित २० जनाभन्दा बढी विदेशी नागरिकलाई भारततिरै फर्काइएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख शशिकला राईले बताइन् । तर, एक सातादेखि तेस्रो मुलुकको कुनै पनि पर्यटक नाकाबाट नेपाल छिर्न नपाएको अध्यागमन कार्यालय काँकडभिट्टाका निमित्त प्रमुख माधव पौडेलले बताए ।

भारतबाट सुनसरीको भन्टावारी नाका हुँदै नेपाल प्रवेश गर्ने सर्वसाधारणको स्वास्थ्य जाँच पनि प्रभावकारी हुन सकेको छैन । नाकामा स्वास्थ्य परीक्षण गर्ने एउटा छाप्रो बनाइएको छ । एउटा टेबुल र तीनवटा कुर्सी छन् । दुईजना स्वास्थ्यकर्मी र एक प्रहरी जवान खटाइएको छ । ज्वरो नाप्न एउटा थर्मोमिटर राखिएको छ । तर, दैनिक हजारभन्दा बढी मानिस आवतजावत गर्ने नाकामा दुईजनाले चेकजाँच गर्न सम्भव नभएको बताउँछिन् स्वास्थकर्मी यशोधधा घिमिरे ।, नयाँ पत्रिका दैनिकबाट