८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

छोराको निधनपछि गौरवको परिवार सहाराविहीन

छोराको निधनपछि गौरवको परिवार सहाराविहीन
अ+ अ-

सुदूरपश्चिम । विदेश गएर कमाइ गरी परिवारको सहज जीविकोपार्जनमा बुबालाई सहयोग गर्ने उद्देश्य बोक्नुभएका धनगढी उपमहानगरपालिका-५ तारानगरका २३ वर्षीय गौरव जोशीको निधनपछि उहाँको परिवार सहाराविहीन भएको छ ।

गत भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा काठमाडौँमा छोराको निधन भएपछि बुवा वासुदेव जोशीसहित परिवार सहाराविहीन भएको हो । गौरवको कन्चटमा गोली लागेको थियो ।

विदेश पुगेर गर्ने कमाइले परिवार पाल्ने आफ्नो वचन पूरा नगर्दै सधैँका लागि अस्ताएपछि गौरवको परिवारका सदस्य शोकमा डुबेका छन् । कलिलै उमेरमा भएको निधनपछि गौरवका बुवा, आमा र दिदीका आँसु रोकिएको छैन । पुत्र शोकका कारण वासुदेव जोशी भेटेर समवेदना दिनेहरू समक्ष टोलाइरहनुहुन्छ । समवेदना दिन उहाँको निवासमा पुग्ने आफन्तजन, इष्टमित्र, साथीभाइले स्वर्गीय गौरवप्रति श्रद्धाञ्जली दिइरहँदा वासुदेवको पीडा सहजै महसुस गर्न सकिन्छ ।

धनगढीको ऐश्वर्य विद्या निकेतन स्कुलबाट १२ कक्षा उत्तीर्ण भएपछि गौरव तीन वर्षअघि इञ्जिनीयर अध्ययन गर्ने योजनासहित काठमाडौँ पुग्नुभएको थियो । ७६वर्षीय वासुदेवले भन्नुभयो, “इञ्जिनीयर पढ्न चाहिने खर्चको जोहो गर्न धनगढीको घरलाई बैंकमा धितो राखेर ऋण लिने प्रक्रिया अघि बढाइसकेको थिएँ, तर छोराले बेलायत गएर कमाईसँगै पढाइ गर्ने योजनासहित भिसा ९राहदानी० को पहल गरिरहेको थियो । भदौ २३ गते उसँगै हाम्रा सपनाको निधन भएको छ ।”

बैतडीको दागेडाकेदार पुख्र्यौली घर भएका जोशी वन कार्यालयमा अस्थायी रूपमा कार्यरत रहँदा करिब ४५ वर्षअघि धनगढीमा बसाइँसराइ गर्नुभएको थियो । उहाँले वन कार्यालयको नोकरी छाडेर धनगढीमा फर्निचर उद्योग सञ्चालन गरी जीविकोपार्जनसँगै सन्तानको पढाइ खर्च जुटाउनुभएको थियो । अहिले उहाँको सामाजिक सुरक्षा भत्ता र आफू बस्ने घरको कोठा भाडाका पुग्ने बाहेक अन्य आम्दानीको स्रोत छैन ।

गत भदौ २३ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा छोरालाई गोली लागेको खबर दोस्रो दिन बिहान मात्रै थाहा पाएको वासुदेवले बताउनुभयो । उहाँले भन्नुभयो, “धनगढीमा रहेको सहोदर भाइको घरबाट खबर सुनाउन आफ्नो घरमा बिहानै चार–पाँच पुग्दा आफूसँगै परिवार झसङ्ग भयौँ, त्यसपछि अन्योल र अनिश्चितताको वातावरण बनेको छ ।”

छोराको आशमा पहिलो श्रीमतिको सहमतिमा उहाँले दोस्रो विवाह गर्नुभएको थियो । कान्छीबाट छोरा गौरव जन्मिनुभएको थियो । उहाँकी छोरी निशा ‘एयर हेस्टेस’ अध्ययन सकाएर नोकरीको खोजीमा हुनुहुन्छ ।

काठमाडौँको बानेश्वरमा कोठा भाडामा लिएर आमा र दिदीसँगै बस्दै आउनुभएका गौरवमा नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने क्षमता थियो । भदौ २३ गतेको प्रदर्शनका क्रममा गौरवले सामाजिक सञ्जाल बन्द, विद्यमान बेथितिविरुद्ध तथा भ्रष्टाचार नियन्त्रणका विषयमा दिनुभएको प्रतिक्रिया भिडियो (श्रव्यदृश्य)मार्फत सार्वजनिक भएका थिए ।

“जन्मेपछि मृत्यु अनिवार्य हुन्छ ,तर त्यसले कृति गरेर जाँदाको अर्थ र महत्त्व बेग्लै रहन्छ, बैतडीमा जन्मिएका सहीद दशरथ चन्दले कृति बनाएर गएजस्तै आफ्नो छोराले पनि कृति बनाएर गएको छ”, बुवा वासुदेवले भन्नुभयो । सरकारले समाजिक सञ्जाल बन्द गर्दा जेनजीहरूले प्रदर्शन गर्दैछन् भन्नेसम्म सूचना नपाउनुभएका वासुदेवले गोली लागेर छोराको मृत्यु हुन्छ भन्ने कल्पना पनि गर्नुभएको थिएन ।

घटनापछि परिवारका अन्य सदस्यसहित उहाँ गौरवको अन्त्येष्टिका लागि धनगढीबाट काठमाडौँ पुग्नुभएको थियो । वासुदेवले थप्नुभयो, “काठमाडौँमा छोराको अन्त्येष्टिका दिनको शवयात्राले आफूलाई चिनायो, आफ्नै ठाउँमा भने छोराको फोटोसहितको यात्राले बजार परिक्रमा गरिदिएको भए मन केही शान्त हुन्थ्यो, तर कसैले गरेनन् ।”

सरकारले जेनजी प्रदर्शनका क्रममा निधन भएका गौरव जोशीसहित सबैलाई सहीद घोषणा गर्दै जनही रु १५ लाख राहत उपलब्ध गराइसकेको छ । उहाँको स्मृतिमा धनगढीको कुनै सार्वजनिक ठाउँमा शालिक निर्माण गर्न जग्गा र आर्थिक सहयोगका लागि दाताको अपेक्षामा वासुदेव हुनुहुन्छ । हालसम्म कतैबाट पनि सहयोग पाउन नसकेको उहाँले बताउनुभयो ।

शालिक निर्माणका लागि सार्वजनिक जग्गाको खोजीमा छु, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले विवाद नआउने खालको जग्गा खोज्नुस्, सहयोग गर्छौँ भन्ने अश्वासन दिनुभएको छ”, वासुदेवले भन्नुभयो । सहीद गौरवको स्मृतिमा धनगढीको पार्कमोडमा श्रद्धाञ्जलीसभा गरिएको छ ।

जेनजी मार्ग र गौरव जोशीमार्ग नामाकरण

जेनजी प्रदर्शनपछि धनगढी उपमहानगरपालिका कार्यालयले कार्यालय नजिकै रहेको पार्कमोड आसपासको सडकलाई ‘जेनजी मार्ग’ नामाकरण गरेको छ । यसैगरी तारानगर टोलस्थित गौरव जोशीको घर अगाडिको सडकलाई टोलवासीको पहलमा ‘गौरव मार्ग’ नामाकरण गरिएको छ ।