१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले गर्‍यो वृहत राजनीतिक संवाद गर्नेलगायतका ४ बुँदे निर्णय



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वृहत राजनीतिक संवाद गर्नेलगायतका चार बुँदे निर्णय गरेको छ ।

रास्वपाको पार्टी सचिवालयको कात्तिक ९ र ११ गते बसेको बैठकले जेन–जी पुस्ताले सुशासनको पक्षमा गरेको निर्णायक हस्तक्षेपपछि परिवर्तित राजनीतिक परिवेशमा मुलुकको दीर्घकालीन रुपान्तरणका लागि यही कात्तिक १४ गते वृहत राजनीतिक संवाद गर्ने निर्णय गरेको हो ।

यस्तै मतदाता नामावली दर्ता सहजीकरण अभियान चलाउने, पाटीका गतिविधि नियमित सञ्चालन गर्ने र निर्वाचनको तयारी गर्ने निर्णय पनि बैठकले गरेको छ ।

रास्वपाले गरेका निर्णय के के हुन् त ?

पार्टी सचिवालयको २०८२ कार्तिक ९ र ११ गतेको बैठकका निर्णयहरु

१. “बृहत् राजनीतिक संवाद” आयोजना गर्ने:

जेन–जी पुस्ताले सुशासनको पक्षमा गरेको निर्णायक हस्तक्षेप पश्चातको परिवर्तित राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरुको दीगो संरक्षण गरी मुलुकको दीर्घकालीन रूपान्तरणका लागि यहि कार्तिक १४ गते “बृहत् राजनीतिक संवाद” आयोजना गर्ने ।

२. मतदाता नामावली दर्ता सहजीकरण अभियान संचालन गर्ने:

पार्टी संयन्त्र रहेको हरेक वडा, पालिका, निर्वाचन क्षेत्र र जिल्ला तहमा मतदाता नामावली दर्ता सहजीकरण अभियान यहि कार्तिक ११ देखि २५ गते सम्म संचालन गर्ने । पार्टी सचिवालय सदस्य श्री गणेश पराजुलीले पार्टीको केन्द्रीय अभियान तथा प्रचारप्रसार विभागसंगको समन्वयमा अभियानको संयोजन गर्ने ।

३. पार्टीको गतिविधि नियमित संचालन गर्ने:

विशेषत: पार्टीको वडा, पालिका अधिवेशन सुचारु गर्ने, पार्टीको जिल्ला तह एवं प्रवासमा समेत प्रशिक्षण संचालन गर्ने साथै पार्टीको हरेक तहले आफ्नो तह/भुगोलमा विभिन्न अभियानहरु संचालन गर्न निर्देशन गर्ने निर्णय गरियो ।

४. निर्वाचन तयारी:

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रीत तयारीहरुको क्रममा समानुपातिक तर्फको उम्मेदवारी आब्हान गर्नका लागि आवश्यक दस्ताबेजहरुबारे छलफल गरियो । २०८२ कार्तिक २२ भित्र समानुपातिक तर्फको उम्मेदवारी आब्हान गर्ने निर्णय गरियो ।