एजेन्सी । मराठी र हिन्दी मनोरञ्जन क्षेत्रमा एक दुःखद खबर आएको छ । नेटफ्लिक्सको चर्चित सिरिज ‘जमतारा–सबका नम्बर आएगा’को दोस्रो सिजनमा देखिएका २५ वर्षीय मराठी कलाकार सचिन चन्दवाडेले आत्महत्या गरेका छन् ।
अक्टोबर २३ को दिउँसो सचिनको शव पुणेस्थित उनको फ्ल्याटमा पंखाबाट झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
परिवारका सदस्यहरूले ढोका तोडेपछि भित्रको दृश्य निकै डर लाग्दो थियो । उनीहरूले सचिनलाई तुरुन्त तल झारेर नजिकैको अस्पताल पुर्याए, तर उनको अवस्था झन् गम्भीर बन्दै गयो ।
चिकित्सकको सल्लाहमा सोही रात उनलाई धुले सारिएको थियो, तर त्यहाँ उपचारका क्रममा उनले ज्यान गुमाए । अक्टोबर २४ राति सचिनले सधैंका लागि संसार त्यागे ।
घटनापछि फिल्म र टेलिभिजन उद्योग शोकमग्न बनेको छ । सचिन चन्दवाडेले मराठी नाटक र छोटो चलचित्रमार्फत आफ्नी छुट्टै पहिचान बनाएका थिए ।
नेटफ्लिक्सको ‘जमतारा २’मा उनको भूमिकालाई दर्शकहरूले निकै मन पराएका थिए । हालै उनले केही ओटीटी प्रोजेक्टहरूको सुटिङ पनि पूरा गरेका थिए र सामाजिक सञ्जालमा सक्रिय रहँदै प्रेरणादायी पोस्टहरू शेयर गर्ने गर्थे ।
परिवारका अनुसार, पछिल्ला केही महिनादेखि सचिन मानसिक तनावबाट गुज्रिरहेका थिए । यद्यपि आत्महत्याको वास्तविक कारण अझै स्पष्ट भएको छैन । प्रहरीले मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । रिपोर्टअनुसार उनको कोठाबाट कुनै सुसाइड नोट फेला परेको छैन । अहिले पोस्टमार्टम रिपोर्टको प्रतीक्षा गरिएको छ ।
रंगमञ्च र मराठी फिल्म उद्योगका धेरै कलाकारहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनका साथीहरूले बताएका छन् कि सचिन निकै हँसिला, मेहनती र संवेदनशील व्यक्ति थिए । उनी आफ्ना सपनाबारे अत्यन्त गम्भीर थिए र प्रायः भन्थे — “एक दिन मेरो नाम मराठी सिनेमाको हरेक गल्लीमा लिइनेछ ।”
२५ वर्षकै उमेरमा उनले आफ्नो प्रतिभाबाट जे स्थान बनाएका थिए, त्यो आगामी कलाकारहरूका लागि प्रेरणादायी बन्नेछ । पुणे प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र प्रारम्भिक प्रतिवेदन अनुसार यो आत्महत्याको घटना भएको देखिन्छ ।










