२२ असार २०८३, सोमबार
,
Latest
झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’ धुलिखेल–खावा सडकखण्डः रातका समयमा बन्द नगरिने खाद्य स्वच्छता र गुणस्तर पालना गर्न व्यवसायीलाई विभागको निर्देशन सरकारलाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भनेः कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन ललितपुरमा युवतीमाथि सार्वजनिक रूपमा अश्लील हर्कत, पीडितकै भिडिओपछि आरोपीको खोजीमा प्रहरी सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रैथाने अनदी धान लोपोन्मुख अवस्थामा



महानगरपालिका-३२ तल्लो गगनगौँडाबाट देखिएको माछापुच्छ्रे हिमाल र पाक्दै गरेको धानबाली । तस्बिर : वासुदेव पौडेल / रासस
अ+ अ-

कञ्चनपुर। रैथाने धानका जातमध्येकै स्वादिलो र सांस्कृतिक मूल्य बोकेको अनदी धान यहाँ लोपोन्मुख अवस्थामा पुगेको छ ।

बढी फल्ने वर्णशङ्कर(हाइव्रिड) र उन्नत जातका धानको खेतीलाई किसानले बढावा दिन थालेपछि रैथाने अनदी धान लोपोन्मुख अवस्थामा पुगेको हो ।

सिमलफाँटाका किसान धनबहादुर चौधरी ढिक्कीमा कुटेको अनदी धानको च्युराको मिठो स्वाद अझै विर्सन नसकिने बताउनुहुन्छ । “सानो उमेरमा चुलोमो अनदीको धान भुटेर ढिकिमा कुटेर तयार गरिएको च्युरा खाएको सम्झना अझै ताजा छ,” उहाँले भन्नुभयो, “अनदीको च्युरा निकै मिठो हुन्थ्यो, स्कुल जादा खल्तीभरी त्यही च्युरा भरेर खादै पुग्ने गर्दथ्यौँं, ती दिन अब सम्झनामा मात्रै बाँकी रहे ।”

अहिले अनदी धान पाउनै मुस्किल हुन थालेको उहाँ बताउनुहुन्छ । बढी उत्पादन दिने हाइब्रिड र उन्नत जातका धानको आकर्षणमा परेर किसानले अहिले अनदी धानकोखेती छाडेको उहाँ बताउनुहुन्छ ।

“थारु समुदायमा अटवारी पर्वका बेला भगवानलाई अर्पण गरिने रोटी प्रायः अनदी धानकै चामलबाट बनाइन्थ्यो” परदेशी डगौराले भन्नुभयो,“मिसौला, च्युरा, रोटी जस्ता परिकारमा यसको प्रयोग हुने गर्दथ्यो, अनदीको चामलको जाँड निकै मिठो हुने भएकाले सबै भन्दा बढी रुचाइन्थ्यो, अब यो धानको बीउ पाउनसमेत मुस्किल भइसक्योे ।”

भात लसिलो र स्वादिलो हुने भएकाले वाफमा पकाएर खाने चलन रहेको उहाँको भनाइ छ ।“यसको चालमको खिर निकै स्वादिलो हुने भएकाले महिनामा एक पटक बनाइथ्यो, परिवारका सबैजना बसेर खान्थ्यौँ” उहाँले भन्नुभयो । अहिलेका धानको चामलको खिर अनदीको चामलको जस्तो नहुने गरेको उहाँको अनुभव छ ।

जोनापुरका किसान रामप्रसाद चौधरीका अनुसार अनदी धान थोरै पानीमा पनि सुख्खा क्षेत्रमा राम्रो उत्पादन दिने जात हो । उहाँले भन्नुभयो, “यो धान हामीले बीउको रूपमा जोगाउन सके, अहिलेको जलवायु परिवर्तनका चुनौतीबीच पनि खेतीका लागि उपयुक्त हुनसक्छ ।”

“पहिले अनदी धान कम्तीमा एक–दुई क्यारीमा अनिवार्य रूपमा लगाउने गथ्र्यौं” किसान रामकिसान रानाले भन्नुभयो, “अहिले त हाइब्रिड धानका कारण बीउ नै पाउन गाह्रो भएको छ ।” उहाँका अनुसार यो धान किसानले लगाउन छाड्दै जान थालेको झण्डै दशक बढीनै बित्न लागेको छ । अनदीसहित थुप्रै रैथाने प्रजातिका धान हराउँदै गएका छन् ।

रैथाने प्रजातीका निमै, सिमटारी, राइमनुवा, अञ्जना, मन्सुली, थापाचिनी, चाइना लगायतका थुप्रै धान हराउँदै गएका छन् । यी जातहरू माटो, हावापानी र वातावरणसँग अनुकूलित भएकाले उत्पादन स्थिर, स्वादिलो र जैविक दृष्टिले मूल्यवान् रहेको किसानहरुको भनाइ छ ।कृषि अगुवा पल्टु डगौराका अनुसार, नयाँ धानका जात तयार गर्दा रैथाने धानको प्रयोग गर्न सके उत्पादन बढाउनेसँगै वातावरणीय सहनशिलतामा पनि सुधार ल्याउन सकिन्छ ।

रैथाने जातका धान खडेरी, सुख्खा र डुबानमा पनि हुर्कन सक्ने भएकाले दीगो कृषि प्रणालीका लागि महत्वपूर्ण स्रोतका रुपमा रहने उहाँले उल्लेख गर्नुभयो । पछिल्ला वर्षमा बजारमुखी कृषि प्रणाली र उच्च उत्पादनमुखी प्रवृत्तिले मौलिक बीउहरूलाई विस्थापित गरेको कृष्णपुर नगरपालिकाको कृषि शाखाका प्रमुख लालबहादुर धामी बताउनुहुन्छ ।

“यसले जैविक विविधता मात्र होइन, नेपाली समाजको परम्परागत खानपान र संस्कृतिलाईसमेत प्रभावित बनाएको छ” उहाँले भन्नुभयो, “रैथाने बीउको संरक्षणमा जोड नदिए यो जात सधैँका लागि हराउने खतरा छ, स्थानीय तह, कृषि अनुसन्धान केन्द्र र समुदायबीच सहकार्य गरी बीउ सङ्कलन, संरक्षण र पुनःउत्पादनको अभियान चलाउनुपर्ने देखिन्छ ।”

अनदीलगायत रैथाने धानको बीउ खोजी, सङ्कलन गरी किसानलाई पुनःखेती सुरु गर्न उत्प्रेरित गर्नुपर्नेमा उहाँको जोड रहेको छ । रासस