११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

दुर्गम क्षेत्रमा सञ्चारको पहुँच पुर्‍याउन सञ्चारमन्त्रीसमक्ष अनुरोध

दुर्गम क्षेत्रमा सञ्चारको पहुँच  पुर्‍याउन सञ्चारमन्त्रीसमक्ष अनुरोध
अ अ+ अ-

काठमाडौँ। हुम्ला र मनाङको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पुर्‍याउन का लागि पहल गरिदिन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष आग्रह गरिएको छ।

हुम्लाको नाम्खा गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकाका स्थानीयवासीसहितको प्रतिनिधिमण्डलले आज सिंहदरबारस्थित मन्त्रालयमा सञ्चारमन्त्री खरेलसँग भेट गरी दूरसञ्चारको पहुँच विस्तारका लागि अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

नाम्खा–६ स्थित लिमी क्षेत्र, नार्पा भूमि–१ स्थित नार गाउँ र वडा नं ५ को फू गाउँलगायत स्थानमा गुणस्तरीय र भरपर्दो दूरसञ्चारको पहुँच विस्तार गर्न स्थानीयले माग गरेका छन् । नाम्खाका विभिन्न क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तार तथा नार्पाको नार र फू क्षेत्रमा नेपाल टेलिकमको ‘फोरजी’ सेवा विस्तार गर्न आग्रह गरिएको छ ।

प्रतिनिधिमण्डलको ज्ञापनपत्र ग्रहण गर्दै सञ्चारमन्त्री खरेलले हुम्लाको लिमी, लाप्चालगायत क्षेत्रमा दूरसञ्चारको साधन टेलिफोन र ‘इन्टरनेट’ सेवाको पहुँच स्थापित गर्न तथा मनाङको नार्पा भूमिका दुर्गम क्षेत्रमा फोरजी सेवाको पहुँच पुर्‍याउन पहल गर्ने विश्वास दिलाउनुभयो ।

देशका ग्रामीण क्षेत्रका जनतालाई सञ्चार आदान–प्रदान, ‘डिजिटल’ भुक्तानीलगायतमा सहज होस् भन्ने हेतुले आफूले निरन्तर पहल गरिरहेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री खरेलले सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशमा टेलिफोन तथा इन्टरनेट सेवाको पहुँच विस्तार गर्न मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभयो । नाम्खामा रहेको लिमी उपत्यका पर्यटकीय गन्तव्य हो ।

सिमिकोटका राजन रावतले हुम्लाको पर्यटकीय क्षेत्र लिमीलाई पर्यटनको आकर्षक केन्द्रका रुपमा स्थापित गर्न तथा सञ्चारको पहुँच  अभिवृद्धि गर्ने उद्देश्यले सञ्चार सञ्जाल विस्तारको पहल गरिदिन सञ्चारमन्त्रीसमक्ष आग्रह गरिएको बताउनुभयो ।

लिमी र लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्न सकिन्छ । तर, त्यहाँ पुग्ने विभिन्न पदमार्गहरुमा टेलिफोन र इन्टरनेटको सुविधा नहुँदा स्थानीय एवं पर्यटकलाई समस्या हुने गरेको छ ।

पर्यटकीय क्षेत्र लिमी, लाप्चा सल्ली, न्यालु र ताक्चीमा कुनै पनि सञ्चारको साधन नहुँदा स्थानीयले सास्ती बेहोर्नु परेको छ । लिमीमा तीनवटा टावर निर्माण गरी टेलिफोन र इन्टरनेट सेवा सञ्चालनका लागि स्थानीयले माग गरेका छन् ।

“हाम्रो मुख्य माग लिमी लाप्चालगायत क्षेत्रमा सञ्चारको उपयोग गर्न पाउनुपर्छ भन्ने हो”, उहाँले भन्नुभयो, “बर्सेनि हजारौँ पर्यटक भित्रिने क्षेत्रमा सञ्चारको पहुँच स्थापित गर्न हुम्लावासीले पहलकदमी लिएका हौँ । यसले स्थानीयवासी र पर्यटकलाई राहत मिल्नेछ ।”

नेपाल पत्रकार महासङ्घ हुम्लाका सदस्यसमेत रहनुभएका रावतले आफूहरुको मागलाई सञ्चारमन्त्रीले सकारात्मक लिनुभएको र आगामी दिनमा हुम्लालगायतका सबै ग्रामीण क्षेत्रमा सञ्चारको पहुँच विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । ती क्षेत्रमा टेलिफोन र इन्टरनेटको सहजता भएमा पर्यटक लाभान्वित हुनेछन् । लिमी क्षेत्रमा झन्डै ६ महिना हिमपात हुनेगर्छ । बाक्लो हिमपातले स्थानीय र पर्यटकलाई सञ्चार सम्पर्कमा कठिन हुने गरेको छ ।

लिमीका फुन्जोक छोपेल तामाङका अनुसार कैलाश मानसरोवर जाने लिमी क्षेत्रमा पर्यटकलाई सञ्चार सम्पर्क गर्न असहज भएको र स्थानीय बिरामी परेको अवस्थामा सम्पर्क गर्न तथा समयमै अस्पताल लैजान समस्या भएको छ । टेलिफोन र इन्टरनेट सेवा सुरु भए स्थानीयलाई राहत मिल्नाका साथै पर्यटकलाई सञ्चार आदान–प्रदानमा सहज हुने तामाङले बताउनुभयो ।

लिमी एकता तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिडेडका अध्यक्ष छिरिङ नेक्याप लामाले भिसेट फोन सेवालाई गुणस्तरीय बनाउन सम्बन्धित निकायमा ताकेता गरिदिन सञ्चारमन्त्रीसमक्ष अनुरोध गर्नुभयो । कर्णाली प्रदेशअन्तर्गत हुम्लाको सुदूर उत्तर पश्चिममा अवस्थित नाम्खा पर्यटकीय गन्तव्य हो । स्थानीयका अनुसार लिमी क्षेत्रमा वार्षिक १५ हजारभन्दा बढी पर्यटक पुग्ने गरेका छन् ।

यस्तै मनाङको नार्पा भूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तन्जिङ लामाले वडा नं १ स्थित नार गाउँ र वडा नं ५ को फू गाउँमा दूरसञ्चार सेवालाई दिगो तथा गुणस्तरीय बनाउन तथा टेलिकमको फोरजी सेवा विस्तारका लागि स्थानीयले सञ्चारमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँका अनुसार ती क्षेत्रमा एक÷एकवटा नेपाल टेलिकमका टावर रहेको र इन्टरनेट सेवाका लागि टेकमाइन्स नेटवर्क प्रालिसँग सम्झौता भएको छ ।

टेलिकम टावर र इन्टरनेट सेवा न्यून गुणस्तर तथा भरपर्दो नहुँदा पिएएमएस, इजिपी, सिसिआइएमएस, इआइएमएसलगायत अधिकांश सेवा अनलाइनमा आधारित हुनाका साथै ओटिपिसमेत मोबाइल नेटवर्कका कारण प्राप्त नहुने र दैनिक रिपोर्टिङ गर्नुपर्ने तथ्याङ्क अनलाइन प्रणालीमा प्रविष्टि गर्न कठिनाइ भइरहेको छ ।

अनलाइनका लागि पालिका केन्द्रदेखि दुई दिन हिँडेर जिल्ला सदरमुकाम झर्नुपर्ने बाध्यता रहेको भन्दै अध्यक्ष लामाले दैनिक सार्वजनिक प्रशासन तथा सेवा प्रवाहमा अवरोध सिर्जना भएकाले गुणस्तरीय र दिगो सूचना तथा सञ्चार  सुविधा अति आवश्यक रहेकाले सोको व्यवस्थापनका लागि यथासम्भव फोरजीसहितको मोबाइल नेटवर्कका लागि शीघ्र पहल गरिदिन मन्त्री खरेलसमक्ष अनुरोध गरिएको बताउनुभयो । रासस