काठमाडौं । मकवानपुर जिल्लामा पर्ने इन्द्रसरोवर पर्यटकीय गन्तव्य हो । इन्द्रसरोबरकै नामबाट पालिकाको नाम राखिएको छ । यो ताललाई कुलेखानीका रुपमा पनि चिनिन्छ ।
यो ताल कुलेखानी जलविधुत् आयोजनाको लागि निर्माण जलाशय हो । नेपालको सबैभन्दा ठुलो मानव निर्मित इन्द्र सरोवर ताल पर्यटकीय आकर्षणको केन्द्र पनि बन्दै गएको छ ।
जुन गाँउ, बेसी, पाखा, पँधेरो र स्थानीय बासिन्दाको सुन्दरताले भरिएको छ । अनि आँखाले नभ्याउने इन्द्रसरोबरको सुन्दरता छचल्किन्छ ।
काठमाडौंबाट झन्डै दुई घण्टामा पुग्न सकिने मकवानपुरको कुलेखानी अधिकांश समय पर्यटक आवगमन स्थल हो । काठमाडौंबाट नजिके र हेटौडा भएर काठमाडौं फर्किनेहरुको लागि समेत चौतारीको रुपमा कुलेखानी रहेको पाईन्छ । त्यसैले गर्दा काठमाडौं उपत्यकाबाट घुम्ने जाने र हेटौंडा भएर बाहिरबाट काठमाडौं आउनेहरु कुलेखानी घुमेर आउने गरेको पाईन्छ ।
मकवानपुरको देउरालीबाट कुलेखानी र त्यस आसपासको क्षेत्र हेर्दा मनै आनन्द आँउछ । धूलो, धूवाँ अर्थात् प्रदूषण मुक्त, सवारी साधन र चर्को आवाजहरुको सट्टामा चराचुरुङ्गीहरुको मिठो आवाज अनि वरपर चरिरहेका गाँउवस्तुहरु हेर्दा मन नै आनन्द हुन्छ । अनि कुलेखानी तालमा देखिने सफा कञ्जन पानी, अनि माछाहरुले पानीमा ल्याउने छलाङ्गले प्राकृतिक आनन्द पाईन्छ ।

कुलेखानी जलविद्युत आयोजनाका लागि कुलेखानी थुनेर बनाइएको यो ताल निकै सुन्दर छ । कुलेखानीबाट सुन्दर हिमालका दृश्य पनि देखिन्छन् ।
कुलेखानी र त्यसआसपासको क्षेत्रको प्राकृतिक सौन्दर्यता साँच्चिकै मनमोहक छ ।














