१० श्रावण २०८३, आईतवार
,
Latest
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै त्रिवि प्रश्नपत्र चुहावटमा शिक्षामन्त्रीको र्‍यापिड एक्सन खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ डलर साटिदिने भन्दै ठगी गर्ने चार जना पक्राउ एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि अहिले लसुन रोप्नमा व्यस्त छन् । खेतमा खनजोत नगरी सिधै धानको गाँजमै कुटोको सहायताले लसुन रोप्ने कार्यमा उहाँ लाग्नुभएको छ ।

दशकअघि देखि गाउँमा आएका कृषि प्राविधिकको सल्लाहमा शून्य खनजोत अर्थात् जिरो टिलेज प्रविधि अपनाउँदै डगौराले बर्सेनि लसुनखेती गरेर आम्दानी गर्दै आउनुभएको छ । “पहिले खेत जोतेर क्यारी बनाएर लसुन रोप्थ्यौँ, उत्पादन थोरै हुन्थ्यो,” उहाँले भन्नुभयो, “खनजोत नगरी सिधै रोप्दा गानो ठूलो हुन्छ, उत्पादन पनि राम्रो हुन्छ ।”

त्यसैले यस प्रविधिमा लसुन रोप्ने कार्यलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो । डगौराले पाँच कट्ठा जग्गामा लसुन रोप्ने गर्नु हुन्छ । यसबाट रु ९० हजार आम्दानी हुने गरेको छ । उहाँका अनुसार धान काटिसकेपछि चिस्यान रहेको खेतमा सिधै गाँजको बीचमा कुटोको सहायताले लसुनका पोटी ९केस्रा० रोप्ने गरिन्छ । चिस्यान नभएमा सिँचाइ गरी लसुन रोप्ने कार्य हुन्छ । लसुन रोपेपछि त्यसपछि गोठेमल छर्की परालले छोप्ने गरिएको अर्का किसान विनोद डगौराले जानकारी दिनुभयो ।

पिपलाडीका किसानले लसुनखेतीलाई नगदे बालीका रुपमा आत्मसात् गर्दै आएका छन् । प्रत्येक परिवारले एकदेखि पाँच कट्ठासम्म जग्गामा जिरो टिलेज प्रविधिबाट लसुनखेती गर्दै आएका छन् । एक कट्ठामा करिब दुई क्विन्टलसम्म उत्पादन हुने र याममा प्रतिकिलो रु तीन सय देखि रु पाँच सय सम्ममा बिक्री हुने गर्दछ । यसबाट किसानले प्रतिकट्ठामा रु ३० हजारका दरले आम्दानी गर्दै आएका छन् ।

“पहिले खानकै लागि पनि लसुन किन्नुपथ्र्यो, अहिले घरको खपतपछि बाँकी बिक्री हुन्छ,” चामबहादुर डगौराले भन्नुभयो, “व्यापारी आफैँ घरमै आइपुग्छन् ।” स्थानीय बजार झलारी र महेन्द्रनगरमा जिरो टिलेजमा उत्पादन भएको लसुनको माग उच्च रहेको चुन्नुलाल डगौराले बताउनुभयो । “धानको गाँजमा बढेको लसुनको गानो ठूलो र खानमा स्वादिलो हुने भएकाले बजारमा चाँडै बिक्री हुन्छ,” उहाँले भन्नुभयो ।

जिरो टिलेज खेती प्रविधिले खेत जोत्नुपर्ने झन्झट र लागत घटाएको नगरपालिकाको कृषि शाखाका कृषि विकास अधिकृत विनयराज जोशीले बताउनुभयो । यस प्रविधिमा माटोको संरचना नबिगारी खेतको चिस्यानलाई नै उपयोग गरी बाली लगाइन्छ । उहाँका अनुसार जिरो टिलेज प्रविधिमा गरिने लसुनखेतीमा थोरै परिश्रममा धेरै आम्दानी हुने भएकाले पिपलाडीसहित नगरपालिकाको अन्य क्षेत्रका किसानको आकर्षण यस खेतीतर्फ बढ्दै गएको छ ।

“धान काटेको एकदेखि दुई दिनपछि गाँजको ठुटो करिब दुई इन्चमा काटेर त्यसैमा कुटो वा अन्य फलामका औजारको सहायताले लसुन रोपिन्छ,” उहाँले भन्नुभयो, “त्यसपछि खेतमा १० सेन्टिमिटर बाक्लो पराल, भुस वा खरको छापो दिनुपर्दछ, यसले खेतमा चिस्यान कायम रहनाका साथै झारपात रोक्ने र माटोमा जैविक पदार्थ थप्ने काम गर्छ ।”

जिरो टिलेज प्रविधिमा लसुन रोप्दा गोडमेलको आवश्यकता नपर्ने र झारपात देखिएमा मात्रै हटाउनुपर्ने हुन्छ । यस प्रविधिबाट गरिएको लसुनखेतीले समय, श्रम र लागत घटाउनाका साथै जमिनको उर्वरा शक्ति कायम राख्छ । जलवायु अनुकूलनका दृष्टिबाट पनि यो प्रविधि प्रभावकारी छ । रोग कीरा व्यवस्थापनका लागि किसानले गाईको गोबर, गहुँत र निमको रसबाट बनेको घरेलु जैविक विषादी प्रयोग गर्दै आएका छन् ।