११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

काठका भाँडाकुँडाबाट आत्मनिर्भर

काठका भाँडाकुँडाबाट आत्मनिर्भर
अ अ+ अ-

कञ्चनपुर।  शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ४२ वर्षीय रामबहादुर चौधरीले काठका भाँडाकुँडा निर्माण गर्दै आएका छन । निर्माण गरिएका भाँडाकुडा बिक्री गरी मुक्त कमैया परिवारका उहाँ आत्मनिर्भर बन्नुभएको छ ।

रोजगारीको अवसर नपाएर सङ्घर्षरत चौधरीले अहिले आफ्नै सीप र मेहनतका बलमा सफल व्यवसायीका रूपमा पहिचान बनाउनुभएको छ । बिहान झिसमिसेदेखि साँझ अबेरसम्म कहिले ठेकी, कहिले बेलन, कहिले गिलास त कहिले घर सजावटका आकर्षक वस्तु बनाउनमा चौधरी व्यस्त रहनुहुन्छ ।

“काठका भाँडाकुँडा बनाउने सीप सिकेपछि अरुसँग रकमका लागि हात थाप्नु परेको छैन”, चौधरीले भन्नुभयो, “महिनामा रु ५० हजारसम्म आम्दानी हुन्छ, अहिले नगरपालिका क्षेत्रमै काठको कार्य गर्ने व्यक्तिका रुपमा मेरो पहिचान बनेको छ, यसमै गर्व छ ।”

विजयसालको काठबाट बनेका भाँडाकुँडा स्वास्थ्यका लागि फाइदाजनक हुने भएकाले यसको माग बढ्दो रुपमा रहेको चौधरी बताउनुहुन्छ ।

चौधरीले भन्नुभयो, “विजयसालको काठको अम्खोरा, गिलास लगायतमा पानी पिउँदा शरीरको विकार हट्ने भएकाले अहिले बजारमा यसको माग बढेको छ ।” उहाँले बनाएका वस्तु रु पाँच सयदेखि रु दुई हजारसम्ममा बिक्री हुन्छन् ।  स्थानीय बजारमै माग धान्न मुस्किल हुने गरी माग आएको उहाँले बताउनुभयो ।

“काठको सीप सिक्न त्यति सहज थिएन”, चौधरी भन्नुहुन्छ, “बुबा गाउँकै एक जमिनदारको घरमा कमैया हुनुहुन्थ्यो, बाल्यकाल जमिन्दारको घरमै बित्यो, अलि जान्ने बुझने भएपछि काठको कामप्रतिको अभिरुचि जाग्यो ।”   गाउँकै मिस्त्रीसँग काम सिक्न थालेको उहाँ बताउनुहुन्छ ।

“कमैयामुक्ति अभियानपछि नयाँ अवसर खोज्दै सीप विकास तालिम केन्द्र पुगे, विसं २०५६ मा काठका भाँडाकुँडा बनाउने तालिम लिए, कमैयामुक्त भएपछि केही समय अनिश्चिततामा थिएँ,” चौधरी विगत सम्झदै भन्नुहुन्छ, “त्यो तालिमले मलाई आत्मनिर्भर बनायो ।”

व्यवसाय सुरु गर्नु अघि आठ वर्षसम्म उहाँ सीप विकास तालिम केन्द्रमा प्रशिक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो । अहिले पनि स्थानीय तह वा गैरसरकारी संस्थाले सञ्चालन गर्ने तालिममा उहाँलाई प्रशिक्षकको रूपमा बोलाउने गर्छन् । “अर्कालाई सीप सिकाउँदा आफू पनि प्रेरित हुन्छु,” चौधरीले भन्नुभयो ।

चौधरी हाल दुई सहयोगी कामदारसहित व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । हालसम्म उहाँले उद्योगमा करिब रु १४ लाख लगानी गर्नुभएको छ । लघुवित्त संस्थाबाट लिएको रु पाँच लाख ऋण पनि यसमा समावेश छ । बाँकी पूँजी आफ्नै आम्दानी र बचतबाट उहाँले जुटाउनुभएको हो ।

चौधरीले स–मिल र सामुदायिक वनबाट विजयसालको काठ खरिद गर्दै आउनुभएको छ । मागअनुसार काठ नपाउँदा काममा अवरोध आउने गरेको उहाँको भनाइ छ । त्यससँगै चौधरीलाई लगानीको पनि चुनौती छ । मुक्त कमैया पुनःस्थापनाका क्रममा उहाँले पाउनुभएको पाँच कठ्ठा जग्गाको लालपूर्जा बैंकमा धितो राख्न नपाउने नियमले कर्जा विस्तारमा समस्या आएको छ ।

“लालपूर्जा बैंकमा राख्न पाइँदैन, त्यसैले कर्जा पाइँदैन,” चौधरी भन्नुहुन्छ, “लगानी बढाउन आधार नहुँदा व्यवसाय विस्तारको योजना रोकिएको छ ।”

चौधरीको आम्दानीले अहिले परिवारको सम्पूर्ण खर्च धानेको छ । उहाँका सन्तान निजी विद्यालयमा अध्ययनरत छन् । घर निर्माण कार्य पनि यही आम्दानीबाट सम्भव भएको उहाँ बताउनुहुन्छ । चौधरी अब हस्तकलाका वस्तु ठूलो बजारसम्म पुर्याउने योजनामा हुनुहुन्छ । उहाँको लक्ष्य आगामी वर्षसम्म आफ्ना उत्पादनलाई बाह्य बजारमा विस्तार गर्ने र स्थानीय हस्तकला प्रदर्शनीमा सहभागिता जनाउने रहेको छ ।

“हाम्रो सीपले गाउँको पहिचान बनाओस् भन्ने मेरो चाहना हो,” चौधरी भन्नुहुन्छ, “काठका नेपाली हस्तकलालाई ब्रान्डको रूपमा स्थापित गर्न सकिन्छ, त्यसका लागि अझै मिहेनेत गर्न तम्तयार छु ।” रासस