६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठका भाँडाकुँडाबाट आत्मनिर्भर



अ+ अ-

कञ्चनपुर।  शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ४२ वर्षीय रामबहादुर चौधरीले काठका भाँडाकुँडा निर्माण गर्दै आएका छन । निर्माण गरिएका भाँडाकुडा बिक्री गरी मुक्त कमैया परिवारका उहाँ आत्मनिर्भर बन्नुभएको छ ।

रोजगारीको अवसर नपाएर सङ्घर्षरत चौधरीले अहिले आफ्नै सीप र मेहनतका बलमा सफल व्यवसायीका रूपमा पहिचान बनाउनुभएको छ । बिहान झिसमिसेदेखि साँझ अबेरसम्म कहिले ठेकी, कहिले बेलन, कहिले गिलास त कहिले घर सजावटका आकर्षक वस्तु बनाउनमा चौधरी व्यस्त रहनुहुन्छ ।

“काठका भाँडाकुँडा बनाउने सीप सिकेपछि अरुसँग रकमका लागि हात थाप्नु परेको छैन”, चौधरीले भन्नुभयो, “महिनामा रु ५० हजारसम्म आम्दानी हुन्छ, अहिले नगरपालिका क्षेत्रमै काठको कार्य गर्ने व्यक्तिका रुपमा मेरो पहिचान बनेको छ, यसमै गर्व छ ।”

विजयसालको काठबाट बनेका भाँडाकुँडा स्वास्थ्यका लागि फाइदाजनक हुने भएकाले यसको माग बढ्दो रुपमा रहेको चौधरी बताउनुहुन्छ ।

चौधरीले भन्नुभयो, “विजयसालको काठको अम्खोरा, गिलास लगायतमा पानी पिउँदा शरीरको विकार हट्ने भएकाले अहिले बजारमा यसको माग बढेको छ ।” उहाँले बनाएका वस्तु रु पाँच सयदेखि रु दुई हजारसम्ममा बिक्री हुन्छन् ।  स्थानीय बजारमै माग धान्न मुस्किल हुने गरी माग आएको उहाँले बताउनुभयो ।

“काठको सीप सिक्न त्यति सहज थिएन”, चौधरी भन्नुहुन्छ, “बुबा गाउँकै एक जमिनदारको घरमा कमैया हुनुहुन्थ्यो, बाल्यकाल जमिन्दारको घरमै बित्यो, अलि जान्ने बुझने भएपछि काठको कामप्रतिको अभिरुचि जाग्यो ।”   गाउँकै मिस्त्रीसँग काम सिक्न थालेको उहाँ बताउनुहुन्छ ।

“कमैयामुक्ति अभियानपछि नयाँ अवसर खोज्दै सीप विकास तालिम केन्द्र पुगे, विसं २०५६ मा काठका भाँडाकुँडा बनाउने तालिम लिए, कमैयामुक्त भएपछि केही समय अनिश्चिततामा थिएँ,” चौधरी विगत सम्झदै भन्नुहुन्छ, “त्यो तालिमले मलाई आत्मनिर्भर बनायो ।”

व्यवसाय सुरु गर्नु अघि आठ वर्षसम्म उहाँ सीप विकास तालिम केन्द्रमा प्रशिक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो । अहिले पनि स्थानीय तह वा गैरसरकारी संस्थाले सञ्चालन गर्ने तालिममा उहाँलाई प्रशिक्षकको रूपमा बोलाउने गर्छन् । “अर्कालाई सीप सिकाउँदा आफू पनि प्रेरित हुन्छु,” चौधरीले भन्नुभयो ।

चौधरी हाल दुई सहयोगी कामदारसहित व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । हालसम्म उहाँले उद्योगमा करिब रु १४ लाख लगानी गर्नुभएको छ । लघुवित्त संस्थाबाट लिएको रु पाँच लाख ऋण पनि यसमा समावेश छ । बाँकी पूँजी आफ्नै आम्दानी र बचतबाट उहाँले जुटाउनुभएको हो ।

चौधरीले स–मिल र सामुदायिक वनबाट विजयसालको काठ खरिद गर्दै आउनुभएको छ । मागअनुसार काठ नपाउँदा काममा अवरोध आउने गरेको उहाँको भनाइ छ । त्यससँगै चौधरीलाई लगानीको पनि चुनौती छ । मुक्त कमैया पुनःस्थापनाका क्रममा उहाँले पाउनुभएको पाँच कठ्ठा जग्गाको लालपूर्जा बैंकमा धितो राख्न नपाउने नियमले कर्जा विस्तारमा समस्या आएको छ ।

“लालपूर्जा बैंकमा राख्न पाइँदैन, त्यसैले कर्जा पाइँदैन,” चौधरी भन्नुहुन्छ, “लगानी बढाउन आधार नहुँदा व्यवसाय विस्तारको योजना रोकिएको छ ।”

चौधरीको आम्दानीले अहिले परिवारको सम्पूर्ण खर्च धानेको छ । उहाँका सन्तान निजी विद्यालयमा अध्ययनरत छन् । घर निर्माण कार्य पनि यही आम्दानीबाट सम्भव भएको उहाँ बताउनुहुन्छ । चौधरी अब हस्तकलाका वस्तु ठूलो बजारसम्म पुर्याउने योजनामा हुनुहुन्छ । उहाँको लक्ष्य आगामी वर्षसम्म आफ्ना उत्पादनलाई बाह्य बजारमा विस्तार गर्ने र स्थानीय हस्तकला प्रदर्शनीमा सहभागिता जनाउने रहेको छ ।

“हाम्रो सीपले गाउँको पहिचान बनाओस् भन्ने मेरो चाहना हो,” चौधरी भन्नुहुन्छ, “काठका नेपाली हस्तकलालाई ब्रान्डको रूपमा स्थापित गर्न सकिन्छ, त्यसका लागि अझै मिहेनेत गर्न तम्तयार छु ।” रासस