५ असार २०८३, शुक्रबार
,
Latest
तनहुँकाे आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा संवैधानिक निकायमा हस्तक्षेप र कुटनीतिक मर्यादामा आँच पुगेको भन्दै सांसद ओलीद्वारा सरकारको आलोचना संसद्मा सरकार र सभामुखको कार्यशैलीप्रति प्रश्नः पटनामा वन्धक ९ सय नेपालीको तत्काल उद्धार गर्न माग प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक एमालेको आरोपः सरकारले विश्वविद्यालयको उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप गर्न सक्ने प्रवन्ध गर्‍यो रुपन्देहीको कोटहीमाईमा नदीजन्य पदार्थ ठेक्का विवाद, अख्तियारले थाल्यो छानबिन काँग्रेस सांसद बुढाको प्रश्नः प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरु को हुन् ? यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह रातो मत्स्येन्द्रनाथको भोटो शनिवार देखाइने, जावलाखेलमा दर्शनार्थीको भीड
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउसी भैलोको मौलिकता जोगाउन कस्सिए स्थानीय



अ+ अ-

नवलपुर। 
‘तिहारमा गर्नलाई रमाइलो
देउसी खेल्दै आइपुग्यौँ घरदैलो ….’
ए भन मेरा सङ्गी हो
देउसी रे….

तिहारको बेलामा देउसी खेल्नेहरुबाट गाइने यी भाकाहरु हराउँदै गएका छन् । तर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१७ का स्थानीय तिहारमा खेलिने देउसी भैलोको मौलिकता जोगाउन लागिपरेका छन् । तिहारमा जताततै ‘स्पिकर’मा गीत बजाएर देउसी खेलिरहेको अवस्थामा यहाँका युवा एकजुट भएर मौलिकता जोगाउन कस्सिएका हुन् ।

देउसी खेल्न उनीहरु परम्परागत पहिरनमा सजिएर मादलको तालमा देउसी भैलो खेल्दै हिँडेका छन् । कावासोती–१७ का वेदबहादुर पुलामीले तिहार मौलिक पर्व भएकाले यसको संरक्षणमा आफूहरु जुटेको बताउनुभयो ।

“अचेल देउसीको नाममा हिन्दी तथा अङ्ग्रेजी गीत बजाएर नाच्ने गरेको पाइन्छ”, उहाँले भन्नुभयो, “त्यो हाम्रो संस्कृति होइन, आगामी पुस्तालाई संस्कृति हस्तान्तरण गर्न पनि देउसीको मौलिकता जोगाउन आवश्यक छ ।”

देउसी खेल्न महिला तथा बालबालिकासमेत सहभागी भएको यो टोलीले देउसी भट्याउने तथा परम्परागत झयाउरे गीतमा नृत्य गर्ने गरेको छ । देउसी भट्याउँदै गरेकी शर्मिला पुनले पुरानो शैलीमा देउसी खेल्दा रमाइलो हुने गरेको बताउनुभयो ।

“हामी प्रविधिमा हुर्किएको पुस्तालाई मौलिकता जोगाउने जिम्मेवारी थपिएको छ”, उहाँले भन्नुभयो, “यसका लागि हामीलाई संस्कृति बुझ्न आवश्यक छ, त्यसैले अग्रजसँग मिसिएर परम्परागत रुपमा देउसी खेल्दै हिँडेका छौँ ।”

पशुपतिमा सुनैको गजुर
देउसी खेल्दै आइपुग्यौँ हजुर….

देउसी भट्याउँदै जाँदा उनीहरु बीचबीचमा झयाउरे गीत गाएर नृत्य गर्दै घरबेटीको ध्यान आफूतर्फ केन्द्रित गरिरहेका थिए । केही वर्ष अघिसम्म तिहार आउँदै गर्दा गाउँभर चहलपहल बढ्थ्यो । दसैँ सकिएलगत्तै युवाहरुले देउसी–भैलोको तयारी सुरु गर्थे । कोही मादलमा खरी हाल्न तथा मादल मिलाउन र ताल सिक्न दर्जी दाइको घरमा पुग्ने गर्दथे ।

टोलका सबै उमेरका व्यक्ति मिलेर नाचगान र बाद्यवादनको अभ्यास गर्थे । त्यतिबेला देउसी–भैलो केवल रमाइलो होइन, सांस्कृतिक प्रदर्शन र सामुदायिक एकताको प्रतीक बनेको अनुभूति हुन्थ्यो । तर अहिले त्यो मौलिकता हराउँदै गएको छ । जिल्लाभरी देउसी भैलो खेल्न युवापुस्ता हिँड्ने गरेको भए पनि धेरै ठाउँमा स्पिकरमा बजाइएका आधुनिक गीतमा युवा–युवती नाचगानमा रमाइरहेका देखिन्छन् ।

आधुनिकता र प्रविधिको असरले देउसी–भैलोको मौलिक स्वरूप कमजोर बन्दै गएकाले संरक्षण पुस्तान्तरणका लागि आफूहरु एकजुट भएर लागेको देउसीमा सहभागी ७२ वर्षीय दिलबहादुर मगरले बताउनुभयो । नयाँ पुस्ता परम्परागत ताल, गीत र नाच सिक्ने अवसरबाट टाढा हुँदै जानु तथा तिहारलाई केवल मनोरञ्जनको पर्वका रूपमा मात्रै सीमित गर्ने प्रवृत्तिले यसको सांस्कृतिक महत्व घट्दै गएको उहाँको भनाइ छ । सांस्कृतिक जीवनको आत्मा बनेको देउसी–भैलो अब पुनर्जीवित गर्न स्थानीय सबैको सहभागिता आवश्यक रहेको मगर बताउनुहुन्छ ।

समुदायमा केही व्यक्तिको मात्रै पहलले यसको संरक्षण गर्न नसकिने उल्लेख गर्दै मगरले यसका लागि राज्यले नै भूमिका खेल्नुपर्ने बताउनुभयो । विद्यालय शिक्षादेखि नै विद्यार्थीलाई मौलिक संस्कृतिको बारेमा जानकारी गराउँदै यसको महत्व बुझाउन सकेमा संस्कृति संरक्षण र पुस्तान्तरण हुने उहाँको बुझाइ छ । रासस




भर्खरै