२६ मंसिर २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’ नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच दशकपछि भारत फर्किए शीर्ष नागा विद्रोही नेता मुइवाह



अ+ अ-

एजेन्सी । करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो जन्मभूमि फर्कनु भएका वरिष्ठ नागा विद्रोही नेता थुङ्गालेङ मुइवाहको स्वागत बुधबार अत्यन्त हर्षोल्लासका साथ गरिएको छ ।

९१ वर्षीय मुइवाहको हेलिकप्टर उखरुल जिल्लाको नीलो आकाशमुनि अवतरण हुँदा हजारौँ स्थानीय नागा नागरिक परम्परागत पोशाकमा स्वागतका लागि उपस्थित थिए ।

पुरुषहरूले भाला र ढाल बोकेका थिए भने महिलाहरूले पङ्खले सजिएको हेडगियर र रङ्गीन पोशाकमा सांस्कृतिक नृत्य प्रस्तुत गरिरहेका थिए । विद्यालयका बालबालिकाहरूले इन्द्रेणी र सेतो ताराले सुसज्जित नीलो पृष्ठभूमिको नागा झण्डा फहराउँदै ‘स्वागत मुइवाह’ लेखिएका ब्यानरहरू बोकेका थिए ।

मुइवाह नागाल्यान्डको राष्ट्रिय समाजवादी परिषद्का संस्थापक नेतामध्ये एक हुनुहुन्छ । परिषद्ले सन् १९५० को दशकमा भारतविरुद्ध स्वतन्त्र नागा राज्यको माग गर्दै विद्रोह सुरु गरेको थियो । सन् १९९७ मा भारत सरकार र मुइवाहको समूहबीच युद्धविराम भएको भए पनि छुट्टै झण्डा र संविधानको माग अझै समाधान हुन सकेको छैन ।

विगत केही वर्षदेखि मुइवाहले भारत सरकारसँग शान्ति वार्ताको नेतृत्व गर्दै आउनुभएको छ । उहाँ सन् १९६४ मा आफ्नो गाउँ छोडी सशस्त्र आन्दोलनमा प्रवेश गर्नुभएको थियो र सन् १९७३ मा गृह प्रदेशको छोटो भ्रमण बाहेक आफ्नो गृहनगर फर्किनु भएको थिएन । सन् २०१० मा गर्न खोजिएको भ्रमण मणिपुर सरकारले प्रतिबन्ध लगाएपछि ठूलो हिंसात्मक प्रदर्शन भएको थियो, जसमा जनधनको क्षति भएको थियो ।

यसपटकको भ्रमणलाई स्थानीय नागरिकहरूले ऐतिहासिक क्षणका रूपमा लिएका छन् । धेरैले यसलाई दशकौँदेखि जारी वार्ता प्रक्रियालाई पुनः गति दिने सङ्केतका रूपमा पनि व्याख्या गरेका छन् । मुइवाहले संक्षिप्त सम्बोधन गर्दै भन्नुभयो, “मैले यो भूमिमा पुनः पाइला टेक्दा आफ्नो जनताको आत्मा र पहिचानलाई फेरि महसुस गरेको छु । हाम्रो सङ्घर्ष अझै समाप्त भएको छैन, तर हाम्रो लक्ष्य शान्तिपूर्ण भविष्य हो ।”