११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

जोरपाटी चोकमा ट्राफिक लाइट जडान

जोरपाटी चोकमा ट्राफिक लाइट जडान
अ अ+ अ-

काठमाडौँ। जोरपाटीसहित आसपासका क्षेत्रमा सडक दुर्घटना न्यूनीकरण तथा सहरी ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले ट्राफिक लाइट जडान गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा जोरपाटी चोकमा ट्राफिक लाइट जडान गरिएको हो । आज यहाँ आयोजित एक कार्यक्रमका बीच काठमाडौँ उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले उक्त ट्राफिक लाइटको उद्घाटन गर्नुभयो ।

उहाँले अहिलेको समयमा पनि ट्राफिक प्रहरीले सडकमा हात हल्लाएर सवारी व्यवस्थापन गर्नु परिरहेको उल्लेख गर्दै नयाँ प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापन सहज र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “एकाइसौँ शताब्दीमा हामी अझै पनि परम्परागत ढङ्गबाट सवारी व्यवस्थापन गरिरहेका छौँ । ट्राफिक लाइटको प्रयोगले व्यवस्थापनमा गुणात्मक सुधार ल्याउनेछ । सवारी दुर्घटना घटाउन, सहरी ट्राफिकलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न यस्ता प्रविधि अपरिहार्य छन् ।”

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले समाजमा शान्तिसुरक्षामा खलल पु¥याउने, अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा नछाडिने स्पष्ट पार्नुभयो । उहाँले पछिल्लो समय ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरी संरचनामा भएको क्षति तथा प्रहरीको हतियार लुटिएको विषय गम्भीर अपराध भएको बताउँदै दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको जानकारी दिनुभयो ।

“हामी अनुरोध गर्छौँ, लुटिएका हतियार प्रहरीलाई फिर्ता गर्नुहोस् । सुध्रिन मौका छ, तर अपराधमा संलग्न जोसुकै होस्, कानूनी कारबाहीबाट उन्मुक्ति हुँदैन”, प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भन्नुभयो ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सडकमा अराजक तरिकाले सवारीसाधन चलाउने, मोडिफाई गरिएका मोटरसाइकलले पटपट र चर्को आवाज निकालेर अशान्ति फैलाउने, ट्राफिक नियमको उल्लङ्घन गर्नेलगायत व्यक्तिलाई समाजमा शान्तिसुरक्षामा खलल पुर्याएको  कसुरमा नियन्त्रणमा लिई कारबाही गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब ट्राफिक नियम उल्लङ्घनलाई सामान्य लापरबाही होइन, शान्तिसुरक्षामा खलल पु¥याउने कार्य मानिनेछ । ट्राफिक प्रहरीको आग्रहलाई बेवास्ता गर्दै अटेरी गरेर समाजमा अशान्ति मच्चाउँदै हिड्ने चालकलाई शान्तिसुरक्षा खलल पारेको कसुरमा कारबाही गरिने छ ।”

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले नगरको तर्फबाट ट्राफिक व्यवस्थापनमा यथासम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “समाजमा विकृति र अशान्ति मच्चाउने जोकोहीलाई कानूनी दायरामा ल्याउनु आजको आवश्यकता हो । प्रहरीका हतियार लुट्ने जस्ता गम्भीर अपराध गर्नेलाई माफ गर्नु हुँदैन । यस्ता व्यक्ति अपराधिक मानसिकताका हुन् र तिनीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।”

नगरप्रमुख रिसालले ट्राफिक तथा नेपाल प्रहरीलाई आवश्यक पर्ने सहयोग र स्रोत उपलब्ध गराउन नगर तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले आज ट्राफिक लाइट जडान गरिनुले नागरिकलाई आवागमनमा सुविधा पुग्ने बताउँदै आगामी दिनमा यस्ता कार्यले निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, प्रहरी अधिकारीहरू, स्थानीय समाजसेवीहरू तथा सर्वसाधारणको उपस्थिति थियो । ट्राफिक लाइटको सञ्चालनपछि जोरपाटी क्षेत्रको ट्राफिक व्यवस्थापन थप सशक्त हुनुका साथै सडकमा बढ्दो घुइँचो नियन्त्रण हुने र दुर्घटनामा कमी आउने विश्वास गरिएको छ । रासस