३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

अलौकिक ‘पञ्चकुण्ड हिमताल’

अलौकिक ‘पञ्चकुण्ड हिमताल’
अ+ अ-

म्याग्दी । उत्तर, पूर्व र पश्चिम तीनतिर उभिएका हिमाल । हिउँ नहुँदा वरपर सुक्खा र उजाड पहाड । हिमालका फेदीमा ताल । तालको रङ  निलो । आकाश खुल्दा तालमा देखिने हिमालको नीलगिरि हिमालको छायाँ । सूर्योदमा ‘सुन’ र रातमा जुन चम्किँदा ‘चाँदी’ झैँ टलक्क टल्कने ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको पञ्चकुण्ड तालको सौन्दर्य लोभलाग्दो छ । अन्नपूर्ण, फ्रेन्क, तिलिचो र नीलगिरि हिमालको फेदीमा गोलो आकारको ताल रहेको छ । समुन्द्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।

नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गमा पर्ने पञ्चकुण्ड ताल पर्यटकको रोजाइमा पर्न थालेको छ । हिमाल, आधार शिविर र ताल एकैठाउँमा अवलोकन गर्न पाउनु पञ्चकुण्डको मुख्य विशेषता भएको इटालीकी पर्यटक निमाले अनुभव सुनाउनुभयो ।

“वरपरका हिमाल र फेदीमा रहेको तालले मलाई मोहित र प्रफुल्लित बनायो”, उहाँले भन्नुभयो, “यहाँको अलौकिक सौन्दर्यमा रमाउन पाउँदा सबै, दुःख कष्ट र तनाव मुलेर मनमा उमङ्ग छाएको महसुस गरेकी छु ।”

एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो । पञ्चकुण्ड ताल प्रकृति र संस्कृतिको सङ्गम हो ।

पर्यटकले तालको किनारमा टहलिएर शान्त वातावरणमा रमाउने र ध्यान गर्छन् । कोही ताल र हिमाललाई पृष्ठभूमिमा पारेर तस्विर, भिडियो खिच्ने र सामाजिक सञ्जालका सामग्री बनाउँछन् । दुई वर्षअघिसम्म यो ठाउँ सुनसान थियो । प्राकृतिक सौन्दर्य र धार्मिक महत्व स्थानीयस्तरमा सीमित थियो । मौरिस हर्जोग पदमार्गमा आधारभूत पूर्वाधार निर्माण भएर सञ्चालनमा आएसँगै पञ्चकुण्ड तालमा चहलपहल बढेको हो ।

पञ्चकुण्डमा होटल सञ्चालन गरेकी नारच्याङकी नरिमाया गर्बुजा गुरुङले ताल अवलोकन गर्न हाल दैनिक ३०० देखि ५०० जनासम्म पर्यटक आउन थालेका जानकारी दिनुभयो । “सञ्चारमाध्यम र सामाजिक सञ्जालका कारण चर्चामा आएपछि यसपालीको दसैँ र तिहारको बीचमा आन्तरिक पर्यटकको थामिनसक्नु भीड लाग्यो”, उहाँले भन्नुभयो, “यहाँ रहेका होटलको क्षमताभन्दा बढी पाहुना आउँदा हामीलाई व्यवस्थापन गर्न पनि समस्या भयो ।”

पञ्चकुण्डको धार्मिक महत्व पनि छ । पाँच वटा कुण्ड भएकाले पञ्चकुण्ड नामकरण गरिएको नारच्याङका चन्द्रजित पुनले बताउनुभयो । “यहाँ रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण गरी पाँच छुट्टाछुट्टै ताल भएको हिन्दू धार्मिक ग्रन्थ पञ्च रामायणमा उल्लेख छ”, उहाँले भन्नुभयो, “अहिले हिउँ पग्लिएर सबै ताल एउटै बनेको छ ।” परापूर्वकालमा कागभुसुन्दी नाम गरेका एक जना ऋषीले तपस्या गरेर ज्ञान आर्जन गरेर यो तालका बारेमा विभिन्न ठाउँमा प्रचारप्रसार गरेका थिए ।

पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । ताललाई धार्मिक आस्थासँग जोड्न परिसरमा शिव मन्दिर निर्माण गरिएको छ । स्थानीयवासीले पञ्चकुण्ड नजिकै रहेको डाडाँलाई कागभुसुण्डी नामकरण गरेका छन् ।

कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गाको बेलिब्रिज तरेर नारच्याङ बँेसी हुँदै हुमखोलासम्म २० किलोमिटर कच्ची सडकमा गाडीको यात्रा र त्यसपछि छ घण्टा पैदलयात्रा गरेपछि पञ्चकुण्ड ताल पुगिन्छ ।

हुमखोलादेखि गुराँसेडाँडा, फुतफुते झरना, साधीखर्क, गुफाफाँट, आकाशे गुफा, रातो झरना, भुसकेट मेला, सुनखोला, पञ्चकुण्ड हुँदै अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग छ । छिटो हिँड्नसक्ने हुमखोलदेखि एकैदिनमा पञ्चकुण्ड पुग्न सक्छन् । विस्तारै हिँड्नेहरु हुमखोलादेखि भुसखेत गएर बास बस्ने र एक बिहान हाइकिङ गरेर पञ्चकुण्ड पुग्छन् ।

पञ्चकुण्डदेखि एक घण्टा पैदलयात्रा गरेपछि समुन्द्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पुगिन्छ । यहाँबाट पर्वतारोहीले अन्नपूर्ण हिमालको आरोहण गर्छन् । समथर फाँटमा रहेको आधार शिविरबाट पञ्चकुण्ड ताल र अन्नपूर्ण हिमालको दृष्यावलोकन गर्न सकिन्छ ।

पदमार्गमा रहेका अस्थायी संरचनामा सञ्चालित होटलमा खाना र बस्नको सुविधा छ । पञ्चकुण्ड ताल नजिकै रहेको आश्रयस्थल भवन र टेण्टमा पाहुनालाई राख्ने गरिएको छ । पाहुनाको चाप धेरै भएकाले पहिले नै बुकिङ गरेर आउन भुसकेटका होटल व्यवसायी माइकल पुनले अनुरोध गर्नुभयो ।

पाहुनाको चापसँगै तालको सरसफाइमा चुनौती बढेको छ । पञ्चकुण्ड तालदेखि आधार शिविर जाने पदमार्गमा झोलुङ्गे पुल नहुँदा जोखिम मोलेर वारपार गर्नुपर्छ । तालमा पौडी नखेल्न र फोहर नगर्न पाहुनालाई अनुरोध गरिएको छ । हिउँदयाममा तालमा बरफ जम्ने गर्छ । जमेको तालमाथि हिँडडुल गर्दा फुतेर दुर्घटनाको जोखिम भएकाले त्यसो नगर्न स्थानीयले अनुरोध गरेका छन् ।

विद्युत् र सञ्चार सुविधाको अभाव छ । अन्नपूर्ण हिमालको प्रथम आरोही टोलीका अगुवा फ्रान्सका मौरिस हर्जोगको सम्मानमा यस पदमार्गलाई मौरिस हर्जोग पदमार्ग नामकरण भएको छ । विसं २०६८ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको यस पदमार्गमा आधारभूतस्तरको पूर्वाधार तयार पारेपछि विसं २०८० देखि सञ्चालन गरिएको थियो ।

आधार शिविर, पञ्चकुण्ड ताललगायत गन्तव्य र पदमार्गको प्रचारप्रसारका लागि अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा महोत्सव आयोजना गर्नुका साथै गत जेठमा अन्नपूर्ण आरोहणको ७५ वर्ष पुगेका अवसरमा विशेष कार्यक्रम गरेको थियो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा पर्ने भएकाले स्थायी र भौतिक संरचना निर्माण गर्न नपाएपछि अस्थायी संरचनामा पाहुनालाई खानेबस्ने व्यवस्था मिलाएर पदमार्ग सञ्चालन गरिएको जानकारी दिनुभयो ।

अन्नपूर्ण हिमाल र आधार शिविरको भूगोल म्याग्दीमा पर्ने तथ्य स्थापित गराएर सङ्घीय सरकारले हिमाल आरोहणबापत दिने राजस्व ‘रोयल्टी’मा दाबी गरिएको उहाँले बताउनुभयो । गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र सङ्घीय सरकारको लगानीमा पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थल, सार्वजनिक शौचालय, आधार शिविरमा खुला सङ्ग्रहालय स्थापना गरिएको छ ।

गत हप्ता अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका म्याग्दी १ (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले मौरिस हर्जोग पदमार्ग, पञ्चकुण्ड ताललगायतका गन्तव्यको विकासका साथै प्रवद्र्धनमा स्थानीय तह, एक्याप, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने जानकारी दिनुभयो ।

“छोटो दूरीमा र छिटो पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर, पञ्चकुण्ड तालको पर्यटनका दृष्टिकोणले प्रशस्त सम्भावना छ”, उहाँले भन्नुभयो, “मौरिस हर्जोग पदमार्गमा सञ्चार र विद्युत् सुविधाको विस्तार, पदमार्गको स्तरोन्नति, फोहर व्यवस्थापन, झोलुङ्गे पुललगायत पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण र बजेट भित्र्याउन पहल गर्नेछु ।” सन्तोष गौतम/रासस