६ पुष २०८२, आईतवार
,
Latest
‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा प्लाष्टिकका फूल/मालाको बिक्री वितरण कम हुँदै



अ+ अ-

कास्की। पोखरा महानगरपालिकामा प्लाष्टिकका फूल–गुच्छा बिक्री वितरण कम हुँदै गएको छ । महानगरले चार वर्षअघिदेखि प्लाष्टिकका फूल बिक्री वितरणमा रोक लगाएकामा यसको कार्यान्वयन प्रभावकारी देखिएको हो ।

महानगरको उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन समितिले बजारका विभिन्न पसलहरूमा गरेको अनुगमनका क्रममा केही पसलमा थोरै मात्रामा प्लाष्टिकका माला फेला परेपनि अधिकांशमा भेटिएको थिएन ।

महानगरका उपप्रमुख एवं अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा सहरका विभिन्न १० वटा पसलमा अनुगमन गरिएको थियो । प्लाष्टिकका माला फेला परेका पसलका व्यवसायीले समेत  पुरानो खरिद रहेको र त्यो फूलमाला नबेच्ने भन्दै थन्क्याएका थिए ।

प्लाष्टिकका फूल बिक्री वितरणमा रोक लगाएको महानगरले तिहारलाई लक्षित गर्दै स्थानीय फूलको खरिद–बिक्री व्यवस्थापन स्थानीयस्तरमै मिलाएको छ । महानगरले किसान बजारमार्फत स्थानीय फूल बिक्रीको व्यवस्था गर्दै बिक्रीका लागि २५ ठाउँ तोकेको छ ।

उपप्रमुख गुरुङले प्लाष्टिकका फूल वितरण नगर्ने र स्थानीय फूलको प्रवद्र्धनको निर्णय कार्यान्वयन राम्रो भएको  बताउनुभयो । उहाँले विगतका वर्षहरूभन्दा यस वर्ष तिहारको समयमा कम प्लाष्टिकका फूलमाला बिक्री नभएको बताउनुभयो ।

महानगरपालिकाले प्लाष्टिकजन्य फूलमाला बिक्री–वितरण नगर्न, नगराउन र वातावरणमा नकारात्मक असर पार्ने निषेधित प्लाष्टिकजन्य फूलको प्रयोग नगरी स्थानीय फूल प्रयोग गर्न आग्रह गरेको छ । महानगरले नगरवासीकै हित, वातावरणीय स्वच्छता र वास्तविक चाडमा विकृति नहोस् भनेर अनुगमनलाई समेत जोड दिएको छ ।

उपप्रमुख गुरुङले भन्नुभयो, “महानगरले प्लाष्टिकका फूल–गुच्छा बिक्री वितरणमा गरेको निर्णय राम्रोसँग लागू भएको छ ।  महानगरले अनुगमनसमेत प्रभावकारी गरेको छ र अटेर गर्नेलाई कानुनी दायरामा ल्याएको छ । यसबाट पोखरामा स्थानीय फूलको उत्पादन र प्रयोग बढेको छ ।”

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले अनुगमनका क्रममा झण्डै १०० वटा प्लाष्टिकका माला जफत गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार विगतका वर्षहरूमा भन्दा यस वर्ष बजारमा कममात्रामा प्लाष्टिकका फूल र माला देखिएको र त्यसलाई बिक्री वितरण गर्नमा रोक लगाइएको छ । “आयातित फूलको विकल्पमा स्थानीय उत्पादनमा आत्मनिर्भर बन्ने अवस्था आएको छ । स्थानीय फूल उत्पादनका लागि महानगरकाले किसानलाई अनुदान समेत दिने गरेको छ”, कडरियाले भन्नुभयो ।

महानगरले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ अनुसार प्लाष्टिकजन्य फूल–गुच्छाको बिक्री, वितरण वा भण्डारण निषेध गरेको र सोही ऐनको अधिकार प्रयोग गरी यस्ता प्लाष्टिकजन्य फूल–गुच्छाको बिक्रीवितरणमा रोक लगाउने भनी नेपाल राजपत्रमा प्रकाशित सूचना जारी गरेको थियो ।

सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय उत्पादन प्रवद्र्धन नीतिअनुसार प्लाष्टिकजन्य फूलमाला बिक्री–वितरणमा रोक लगाएको हो । रासस