२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्क्रमित युवतीलाई घरसम्म पुर्याउने चालक भेटिए



अ+ अ-

बागलुङ । बागलुङकी कोरोना भाइरस सङ्क्रमित १९ वर्षीया एक युवतीलाई पोखराबाट उनको घरसम्म पुर्याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ । पोखरा महानगरपालिका–२५ स्थायी घर भई हाल माछापुच्छे गाउँपालिका–३ बस्ने चालक अहिले घरमै सेल्फ–क्वारेन्टाइनमा दैनिक स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको निगरानीमा राखिएको र स्वास्थ्य अवस्था सामान्य छ । उहाँलाई दैनिक तीन पटक स्वास्थ्यकर्मीले तापक्रम लिने गरेका छन् ।

युवतीलाई गत शनिबार कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि पोखराबाट बागलुङ घरसम्म पुग्न उहाँले गाडी रिजर्भ गरेको खुल्न आएपछि सो गाडीका चालकको खोजी शुरु भएकामा आइतबार चालक स्थानीय जनप्रतिनिधिको सम्पर्कमा आउनुभएको हो । सोही दिन परीक्षणका लागि पोखरा आएका उनमा कोरोनासँग मिल्दोजुल्दो कुनै पनि लक्षण नदेखिएकाले सामान्य तापक्रम जाँच गरेर घरमा पठाइएको थियो ।

स्थानीयवासीले भने उहाँको स्वाब परीक्षण गर्न माग गरेका छन् । गत चैत ४ गतेपछि लामो समय चालकको अन्य व्यक्तिसँग सम्पर्क भएकाले स्थानीय अहिले त्रसित भएको र उहाँको स्वाब परीक्षणको माग गरेका हुन् । वडाध्यक्ष सूर्यप्रसाद लम्सालले चालक अहिले घरमा नै रहेको र दैनिक स्वास्थ्यकर्मी पुगेर तापक्रम जाँच्ने र निगरानीमा राख्ने काम भएको बताउनुभयो ।

हालसम्म उनमा कोरोनासँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखा नपरेको उहाँले जानकारी दिनुभयो । “चालक अहिले हामीहरुको दैनिक निगरानीमा रहनुभएको छ । उहाँमा अहिले कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन”, वडाध्यक्ष लम्सालले भन्नुभयो ।

चालकले भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफू परीक्षणका लागि गएको तर कुनै पनि लक्षण नदेखिएसम्म स्वाब परीक्षण नगर्ने भनी चिकित्सकले घर पठाएको बताउनुभयो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले चालक आफूहरुको सम्पर्कमा रहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । व्यक्तिमा कुनै पनि लक्षण नदेखिँदासम्म नमूना सङ्कलन गर्न नमिल्ने भएकाले चालकलाई घरमै सुरक्षित साथ बस्न आग्रहसहित पठाइएको उहाँले जानकारी दिनुभयो ।