काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई पदबाट निलम्बन गरेका छन् ।
अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई एसियाली फुटबल महासंघ (एएफसी)को कार्यक्रममा भाग लिन साउदी अरेबिया गएको बेला विधानअनुसार आफू कार्यवाहक अध्यक्ष रहेको दाबीसहित उनले केही दिनअघि स्पष्टीकरण सोधेका थिए। त्यसको जवाफ नपाएको भन्दै खड्काले उनलाई अर्को कार्यसमिति बैठकसम्मका लागि निलम्बन गरेका हुन्।
यद्यपी अध्यक्ष नेम्बाङले उनलाई कार्यवहाक अध्यक्ष भएको कुनै पत्र दिएका भने थिएनन्। यसअघि कार्यवहाक दाबी गर्दै खड्काले राईलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र काटेका थिए।
‘२०८२।०६।२९ गतेको पत्र अनसार संघको साधारण सभा र कार्यसमितिको म्याण्डेट समेतलाई वेवास्ता गर्दै संघको विधान, विधि र पद्धति विपरित फूटबल खेलको विकासमा नै दिर्घकालिन असर पार्ने गरि के कति आधारमा कस्को निर्देशनमा कार्य गर्नू भएको हो ? भनि ३ दिन भित्र स्पष्टीकरण सोधिएकोमा तपाईबाट हालसम्म कूनै पनि जवाफ प्राप्त नभएकोले आजको मिति देखि लागू हूने गरि तपाईलाई एन्फा महासचिव पदबाट अर्को कार्यसमिति वैठकसम्मका लागि निलम्बन गरिएको जानकारी गराउँदछौं। उक्त अवधिसम्मका लागि कार्यवाहक महासचिवको कार्य गर्न संघका सहायक महासचिव दामोदर भट्टराईलाई तोकिएको व्यहोरा समेत अवगत गराउदछौँ,’ खड्काले काटेको पत्रमा भनिएको छ।











