२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना फैलाएको त्यो धर्मसभामा सहभागी नेपाली को हुन् सरकार ?



अ+ अ-


काठमाडौं । यसै महिनाको सुरुबाट भारतको नयाँ दिल्लीमा भएको एक १५ दिन लामो सभामा कोरोना भाइरसका संक्रमितहरु सहभागी भएको र त्यसबाट यस भाइरसको संक्रमण फैलाउने काम भएको एक समाचार आएको छ । त्यही धार्मिकसभामा १९ जना नेपाली पनि सहभागी भएको खुलेको सो समाचारमा जनाइएको छ ।

सो सभा मार्चको १ देखि १५ तारिखसम्म नयाँदिल्लीस्थित निजामुद्दिनको मर्कज बिल्डङमा भएको थियो । उक्त तबलीगी समुदायको धार्मिक सभापछि त्यहाँ यो प्रकोप फैलिएको नयाँ दिल्ली प्रशासनले जनाएको छ । सभामा करिव ८ हजार सहभागी रहेका र त्यो सभामा विभिन्न देशका मानिसहरु पनि आएका भारतीय पत्रिकाले जनाएको छ । नेपालबाट पनि सोही सभामा सहभागी १९ जना नेपाली रहेको बताइएको छ ।

सरकारले त्यहाँ कोरोनाको संक्रमण फैलिन नदिन सभा सम्मेलन गर्न रोक लगाएको थियो । तर पनि त्यसैबेला यो धार्मिक सभा भएको थियो । तर सभा भएको स्थान नजिकै पर्ने दक्षिण दिल्लीका केही मानिसमा आइतबार कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि भारतभर त्रास फैलिएको छ ।दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार त्यो धार्मिक सभामा सहभागी मध्ये २४ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ ।

यस्तै तलंगना सरकारले त्यही सभामा सहभागी ६ जनाको कोरोनाकै कारण मृत्यु भएको बताएको प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ । अहिले भारतका विभिन्न राज्यमा त्यो धार्मिक सभामा सहभागीहरुको खोजी भइरहेको छ । उनीहरु परीक्षणका लागि अस्पताल पठाउने र क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ ।

तर पनि सोही धार्मिक सभामा नेपालबाट १९ जना सहभागी भएको खुलेको भए पनि उनीहरु भारतमै छन् कि नेपाल आए भन्ने बारेमा नेपालको सरकारले केही बताउन सकेको छैन । भारतीय सञ्चार माध्यमहरुले गृह मन्त्रालयलाई उद्दार गर्दै जनाएअनुसार सभामा २८१ जना विदेशी थिए, जसमा नेपालसहित अफगानिस्तान, मलेसिया, म्यानमार, किर्गिस्तान, थाल्याण्ड, श्रीलंका, बंगलादेश, इंगल्याण्ड, फिजी, फ्रान्सलायत मुलुक छन् ।

ती नेपाली नेपाल आए कि भारतमै छन् ? नेपाल आएको भए उनीहरुको पहिचान गरेर क्वारेन्टाइनमा राखिएको छ कि छैन ? यस विषयमा सरकारले केही बताएको छैन ।