२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारी खेतीबाट नौ लाख आम्दानी



अ+ अ-

ढोरपाटन, (बागलुङ) । ढोरपाटन नगरपालिका–४ खुङ्गाकी रिममाया बुढाथोकी सात वर्षअगाडि छोराछोरी पढाउनका बागलुङ बजार झर्नुभएको थियो । गाउँबाट बजार झर्नुभएकी रिममायालाई सुरुमा घुलमिल हुन निकै गाह्रो भएको थियो । बिहान बेलुका छोराछोरीसँग बिताए पनि दिनमा एक्लै बस्नुपथ्र्यो । दिनमा केही काम गर्ने सोच बनाए पनि बजारमा काम पाइएन ।

आफू बस्ने ठाउँ वरपरका स्थानीयले व्यावसायिक तरकारीखेती गरेको देखेपछि उहाँलाई बारीमा काम गर्ने इच्छा जाग्यो । त्यसपछि जग्गा भाडामा लिएर उहाँले तरकारीखेती गर्न थाल्नुभयो । अहिले उहाँ बजारमा उत्कृष्ट महिला किसानका रूपमा परिचित हुनुहुन्छ । बागलुङ नगरपालिका–४ ओढारचौरमा बुढाथोकीले तरकारीखेती सुरु गरेको चार वर्ष भयो । बजार नजिकै तरकारी फलाउने हुँदा बिक्री नहुने समस्या छैन । उहाँको बारीमा बाह्रै महिना तरकारी फल्छन् ।

बुढाथोकीले तरकारीसँगै पोहोर सालदेखि च्याउखेती पनि सुरु गर्नुभएको छ । विसं २०७५ मा श्रीमान् र छोराछोरीसँगै बागलुङ झर्नुभएकी बुढाथोकीले बागलुङ नगरपालिका–४ मा १५ रोपनी जमिन वार्षिक रु ८३ हजार भाडा तिर्नेगरी लिजमा लिएर चारवटा च्याउ र तीनवटा टमाटरका टनेल निर्माण गर्नुभएको छ । च्याउ, टमाटर, लौका, घिरौला, बोडी, सिमी, खुर्सानी, धनियाँ, साग, भेन्टा र विभिन्न तरकारीसँगै बुढाथोकीको बारीमा मसलाजन्य अदुवा र बेसार पनि उत्पादन हुन्छ । अहिलेसम्म रु २५ लाखभन्दा बढी लगानी गरेको उहाँले बताउनुभयो ।

बुढाथोकीले भन्नुभयो, “सुरुमा दिन कटाउन गाह्रो भएको थियो, अहिले दिनभर बारीमा काम गर्दा कति छि”ै साँझ पर्छ पत्तै हुँदैन, यतिकै बस्नुभन्दा केही उद्यम गर्दा राम्रो हुन्छ भन्ने हिसाबले तरकारीखेती गर्न थालेकी थिएँ, अहिले राम्रो हुँदै गएको छ, बजार यहीँ भएको हुँदा बिक्री वितरणमा समस्या छैन, कतिपय उपभोक्ता त बारीमै आएर तरकारी किन्नुहुन्छ ।”

बुढाथोकीले तरकरीबाट रु चार लाख र च्याउबाट रु पाँच लाख गरी वार्षिक रु नौ लाख आम्दानी गर्न थालेको बताउनुभयो । तरकारीखेती गर्न थालेपछि बुढाथोकीले गरिमा कृषि फार्म दर्ता गर्नुभएको छ । मासिक तलब दिएर एक जनालाई रोजगारीसमेत दिनुभएको छ । रिममायालाई श्रीमान् कपिल र छोराछोरीले पनि समयसमयमा सघाउँछन् ।

बुढाथोकीले तरकारीखेती विस्तार र व्यवस्थापन गर्न समयसमयमा विभिन्न निकायबाट सहयोग पनि प्राप्त गर्नुभएको छ । उहाँले यसै वर्ष उद्यमशीलता कार्यक्रमअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट च्याउखेतीका लागि टनेल व्यवस्थापन गर्न रु चार लाख सहयोग प्राप्त गरेको बताउनुभयो । अनुदान पाएपछि उत्पादन वृद्धि गर्न सहज भएको उहाँको भनाइ छ । तरकारीको बजार व्यवस्थापनमा समस्या नभए पनि पानीको अभाव हुँदा उत्पादनमा बढाउन समस्या भएको उहाँले सुनाउनुभयो ।

अघिल्लो वर्ष कृषि ज्ञान केन्द्रबाट दुईवटा टमाटर टनेल र यस वर्ष मसला बाली व्यवस्थापनका लागि प्रविधि सहयोग प्राप्त गरेको उहाँले बताउनुभयो । बागलुङ नगरपालिकाबाट समेत तीन वर्ष पहिले सहयोग प्राप्त गरेको बुढाथोकीको भनाइ छ । सिँचाइका लागि पानीको सुविधा नहुँदा समस्या भोग्नुपरेको उहाँले गुनासो पोख्नुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले किसानलाई प्रोत्साहन गर्न अनुदानसहित प्राविधिक सहयोग गर्दै आएको बताउनुभयो । समयसमयमा फार्ममै पुगेर परामर्शसमेत प्रदान गर्ने गरेको उहाँको भनाइ छ । बजार क्षेत्रमै राम्रो तरकारी उत्पादक किसानको छबि बनाउनुभएकी बुढाथोकीलाई आवश्यक तालिम र उपकरण पनि दिने प्रमुख सिलवालले बताउनुभयो । पछिल्लो समय बागलुङमा धेरै किसान तरकारीखेतीतर्फ आकर्षित भइरहेको उहाँ बताउनुहुन्छ । यहाँ उत्पादन भएको तरकारीले बजार नपाउने समस्या नभएको सिलवालको भनाइ छ । रासस