२४ कार्तिक २०८२, सोमबार
,
Latest
हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ ‘जेनजी’ आन्दोलनमा गण्डकीमा पाँच अर्बको क्षति सर्वोच्चद्वारा निकोलस भुसाललाई छाड्न अस्वीकार, छानबिन छिटो सक्न निर्देशन दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोध अन्तरिम सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न अध्यक्ष ओलीको चेतावनी भदौ २३ र २४ गतेको आन्दोलन क्रान्ति होइनः ओली अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ती भयोः ओली सबै दलहरुले मिलेर मुलुकलाई निकास दिनुपर्छः प्रकाशमान सिंह काँग्रेसलाई पूर्वराष्ट्रपति यादवको आग्रहः तत्काल निर्वाचनमा जाने निर्णय गरियोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

फूल लिन घरमै पुगे व्यापारी, बढ्यो मूल्य



अ+ अ-

भक्तपुर।  मखमली र सयपत्रीका माला लिन व्यापारी घरमै आउन थालेपछि तिहारको सङ्घारमा फूल र मालाको मूल्यवृद्धि भएको छ ।

फूलखेती हुने भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका–९ ताथलीसम्मका किसानले व्यापारी घरमै आउन थालेपछि राम्रो मूल्य पाएका छन् ।

आइतबारदेखि तिहार सुरु हुँदैछ । आजैदेखि तिहारको धनतेरस सुरु भएपछि बजारमा उपभोक्ताको भीड बढेको छ । भीड बढेसँगै तिहारको सङ्घारमा फूल र मालाको मूल्यवृद्धि भएपछि उपभोक्ता भने मारमा परेका छन् ।

व्यापारी बजारमा एउटा मखमलीको माला रु ८० मा बिक्री गरिरहेका छन् । गुण्डुका किसानले शुक्रबारसम्म मखमली फूलको प्रतिमाला रु २२ देखि २५ सम्ममा बिक्री गरेकामा आजदेखि किसानले प्रतिमाला रु ३० देखि ३५ मा बिक्री गरिरहेका छन् ।

गुण्डुका पुष्प व्यवसायी रामेश्वर बस्नेतले आजदेखि किसानसँग आफूले मखमली फूलको प्रतिमाला रु ३० दखि रु ३५ मा किनेको बताउनुभयो ।

सयौँ वर्षदेखि पुस्तान्तरण हुँदै मखमली फूल र मालाको उत्पादन तथा व्यापार गर्दै आएका चाँगुनारायण–९ ताथलीका वनमालाले पनि मखमलीको प्रतिमाला रु ३० मा बिक्री गरेको बताउनुभयो ।

भक्तपुरको गुण्डुमा पछिल्लो १५ वर्षयता फूल तथा माला बिक्री गर्दै आउनुभएकी मीना नगरकोटीले तिहार आएसँगै फूल र मालाको मूल्य बढेको बताउनुभयो । व्यापारी र बिचौलिया नै प्रतिस्र्धामा मूल्य बढाएर किसानको घरघरबाट फूलमाला उठाउन थालेको उहाँको भनाइ छ ।

स्थानीय उर्मिला नगरकोटी यतिखेर फूल र मालाको व्यापारबाटै एक परिवारले रु एक लाखदेखि तीन लाखसम्म आम्दानी गरेको बताउनुहुन्छ । उहाँका अनुसार गुण्डुबाट मात्रै एक वर्षमा पाँच करोडभन्दा बढीको फूल माला उत्पादन तथा बिक्री हुने गरेको बताउनुहुन्छ ।

स्थानीय अनिता बस्नेतले यस वर्ष आफ्नो साढे दुई रोपनी जग्गामा गरेको फूलखेतीबाट रु तीन लाखको आम्दानी गरेको बताउनुभयो । सयपत्री फूललाई स्थानीयले मुठा बनाएर बिक्री गर्ने गरेका छन् । चार–पाँचवटा सयपत्री फूलको मुठा पारेर एक मुठाको रु २० देखि रु २५ सम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

सयपत्री फूललाई पाथी तथा ढ्वाङमा भरेर पनि बिक्री गरिन्छ । ढ्वाङमा करिब तीन पाथीभन्दा बढी हुन्छ । हाल एक ढ्वाङको मूल्य रु सात सयसम्ममा बिक्री भइरहेको छ । यहाँबाट एकै घरबाट रु ३० हजारदेखि रु तीन लाखसम्मको सयपत्री फूल बिक्री गर्ने गरेका छन् ।

मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित पूजा पसल सञ्चालक कमलनाथ पौडेलले सयपत्री फूल किलोको रु ४५० मा आज बिक्री गरिरहेको बताउँदै मखमली फूलको माला ७० रुपैयाँमा बिक्री गरेको बताउनुहुन्छ ।

यस वर्ष लामो झरी र बर्सातका कारण सयपत्री फूल मरेर उत्पादन नै नष्ट भएपछि सयपत्री फूल महँगो भएको पुष्प व्यवसायी रामेश्वर बासीले बताउनुभयो ।

उहाँले टनेलबाहिर खुला रुपमा भएका फूलखेती सबै नष्ट भएको र टनेलमा लगाएको फूल बजारमा आएकाले फूलको मूल्यवृद्धि भएको बताउनुभयो । व्यापारीले सयपत्री फूलको माला भने लम्बाइको साइजअनुसार प्रतिगोटा रु १५० देखि ८०० सम्ममा बिक्री गरेको उहाँ बताउनुहुन्छ ।रासस