३० कार्तिक २०८२, आईतवार
,
Latest
भारत १५ वर्षपछि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग पराजित, १२४ रन पछ्याउन सकेन भगवान शिव र दक्ष प्रजापतिको कथाबाट सिक्न सकिने पाठः हाम्रो स्वभावमा अहंकार कसरी आउँछ ? संसद विघटनको प्रभावः अर्थतन्त्रसँग जोडिएका दर्जन बढी विधेयक प्रभावित अन्तरिक्षबाट फर्किएका ४ मुसासहित वैज्ञानिक नमूनाहरू चिनियाँ अनुसन्धान टोलीलाई हस्तान्तरण लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदै दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्‍यो निर्वाचन आयोग पुगेर सनाखत मधेश प्रदेश मुख्यमन्त्री विवादमा सर्वोच्चको सुनुवाइ भोलि हुने प्रतिगमनविरुद्ध नेकपा एमाले रामेछापको वृहत् प्रदर्शन चालु आवको पहिलो तीन महिनामा ३५.४ प्रतिशतले बढ्यो रेमिट्यान्स
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन



अ+ अ-

धनुषा। मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले शुक्रबार राति जनकपुरधामको सोनारपट्टिस्थित सुनचाँदी पसलमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मार्ने क्रममा भएको विवादसम्बन्धी घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न निर्देशन दिनुभएको छ ।

उक्त घटनामा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि भएको कुटपिटको घटनाप्रति चासो व्यक्त गर्दै उहाँले सुरक्षा निकायलाई सत्यतथ्य छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न निर्देशन दिनुभएको हो ।

आज अस्पताल पुगेर घाइते हुनुभएका अध्यक्ष भण्डारीसँग भेटेपछि मुख्यमन्त्री सोनलले प्रदेश प्रहरीप्रमुखलाई सम्पर्क गरी घटनाको विवरण लिनुका साथै सत्यतथ्य छानबिन गर्न र दोषीलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही गर्न निर्देशन दिनुभयो ।

शुक्रबार राति सुनचाँदी पसलमा कार्यालयको टोलीले छापा मार्ने क्रममा व्यापारीहरूसँग भएको विवादका क्रममा प्रहरी र सुनचाँदी व्यवसायीबीच झडप हुँदा अध्यक्ष भण्डारी घाइते हुनुभएको थियो ।

दीपावलीको समयमा राति अचानक छापा मारेर व्यवसायमा हस्तक्षेप गर्नु अन्यायपूर्ण भएको भन्दै प्रतिकार गर्ने क्रममा विवाद चर्किएको र स्थिति तनावपूर्ण बनेको स्थानीय सुनचाँदी व्यापारी पवन ठाकुरले जानकारी दिनुभयो ।

प्रहरीले आफूहरू सूचनाअनुसार अनुगमनमा गए पनि केही व्यवसायी आक्रामक बनेपछि स्थिति नियन्त्रण गर्नुपरेको जनाएको छ । अध्यक्ष भण्डारीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । चिकित्सकहरूले उहाँको स्वास्थ्य अवस्था मध्यम रहेको जनाएका छन् ।

मुख्यमन्त्री सोनलले घटनालाई गम्भीर रूपमा लिएर छानबिन गर्न सुरक्षा निकायलाई आग्रह गर्दै व्यापारी तथा आमसमुदायलाई कानुनी संरक्षण र शान्ति, सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो । रासस