१४ श्रावण २०८३, बिहीबार
,
Latest
देवानगञ्ज घटना निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान स्केटिङको एसियाड तयारी थाइल्यान्डमा थप चार स्थानीय तहमा मालपोत सेवा विस्तार चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि शान्तिसुरक्षा कायम गर्न मुख्यमन्त्री यादवद्वारा अपिल शान्ति र सद्भाव कायम राख्न नेपाल चेम्बर अफ कमर्सको अपिल उर्जा मन्त्री श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोल बिच भेट वार्ता सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

छठपर्व नजिकिँदा बाँसका सामानको माग बढ्यो



अ+ अ-

महोत्तरी। तिहार र छठपर्व नजिकिँदै गर्दा मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा बाँसका चोया र कप्टेराले बुनिएका सामानको माग बढेको छ ।

पर्वमा चोखोनीतोसाथ पूजा सामग्री राखनधरन गरिन र विधिमै प्रयोग गर्न बाँसका चोया तथा कप्टेराले बनेका नयाँ छिटी, डाली, कनसुपा, नाङ्लो, चाल्नो, पङ्खालगायत सामान अपरिहार्य हुने मैथिल चलनले अहिले यहाँका सबैजसो हटिया (बजार)मा यी सामग्रीको बजार जमेको हो ।

महोत्तरीका १५ स्थानीय तहका बस्तीपिच्छेका हटियामा अहिले यी सामग्रीका छुट्टै बजार जमेका छन् । सदरमुकाम जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला, रामगोपालपुर, पिपरा, सीतापुर, औरही, बलवा, लोहारपट्टीसहितका बजारमा अचेल सधैँ यी सामान बिक्री भइरहेका छन् ।

मिथिलामा बिन र डोम जातिको बाँसको चोया तथा कप्टेरा काढेर छिटी, डाली, कनसुपा, नाङ्लो, चाल्नो र पङ्खा बनाउने पुख्र्यौली पेसा मानिन्छ । पर्वविशेषले यस्ता सामग्रीको माग बढ्दा अहिले काम भ्याइनभ्याइ भएको भङ्गाहा–४ रामनगरका ५० वर्षीय काशी मुखिया बिन बताउनुहुन्छ ।

“अरु बेला यी सामान बिक्दैनन्, प्लाष्टिकका सामान प्रयोग बढ्यो । दीपावली र छठमा बाँसकै भाँडा चाहिने चलनले माग बढेको हो”, काशी भन्नुहुन्छ, “बाबुबाजेले सिकाएका काम हुनाले मेरो पुस्तासम्मले गर्दैछौँ, छोरा–भतिजाले भने यो काम सिक्न ध्यान दिएनन् ।”

पहिलेपहिले दैनिक प्रयोजनमै यी सामान चलाइने हुँदा बाबुबाजेले यही पेसाबाट गुजारा गरे पनि अब भने यसको माग दीपावली र छठमा मात्र हुने गरेको उहाँको भनाइ छ ।

पर्वविशेषको मागमात्र हुने भए पनि यसबेला यी सामान बनाएर बेचिएको पैसाले झण्डै तीन–चार महिनाको गुजारा चल्ने गरेको बिन र डोम समुदायका पाका व्यक्ति बताउँछन् । “यसैबेला कमाएको नगदले आवश्यकता पूरा गर्छौँ”, छिटीसहितका यी सामान बेच्न गौशालाबजार पुग्नुभएकी बर्दिबास–१ की पारो मरिक (डोम)ले भन्नुभयो, “यही पर्वको कमाइले केही महिनाको गुजारा र धियापुता (घरका ससाना नानीहरु)को खाने, खेल्ने रहर पूरा गर्छौँ ।”

पर्वले गर्दा बाँस खोज्न जाने, फटाउने (चिर्ने), चोया र कप्टेरा बनाउने तथा मागअनुसारका सामान बनाउन भ्याइनभ्याइ छ ।

बनिसकेका सामान बजार पुर्याउनसम्मका काम सकेपछि बल्ल केही नगद हात पर्ने गरेको जलेश्वर–१ का रतन मरिकले बताउनुभयो । सीप भएका बिन र डोम अहिले दिनरात नभनी काममा छन् । यो क्रम छठपर्व सुरु हुने दिनसम्म चल्छ । रासस