१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख घिमिरेद्वारा हमासको अपहरणमा परी ज्यान गुमाएका जोशीप्रति शोक व्यक्त



अ+ अ-

काठमाडौँ। सभामुख देवराज घिमिरेले इजराइलमा अध्ययनरत रहँदा हमासको अपहरणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको निधनले मर्माहत बनाएको बताउनुभएको छ ।

आज शोक संवेदना प्रकट गर्दैै उहाँले जोशीको निधनको खबरले अत्यन्त दुःखी र मर्माहत बनाएको बताउनुभएको हो ।  “जोशीको निधनले केवल उहाँको परिवारलाई मात्र होइन, सम्पूर्ण नेपाली समाज र राष्ट्रलाई गहिरो पीडा दिएको छ ।

उहाँको जीवन रक्षाका लागि अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेख्दै विशेष पहल गरिदिन अनुरोध गरेको थिएँ । आफ्नो तर्फबाट  विभिन्न संसदीय फोरमसँगै कूटनीतिक पहल भए पनि परिणाम दुःखद् हुन गयो”, सभामुख घिमिरेले उल्लेख गर्नुभएको छ, “देशका लागि ज्ञान, सीप र अनुभव लिएर फर्कने सपना बोकेका युवाको असामयिक बिदाइ हृदयविदारक छ । म स्व जोशीको आत्माको चिरशान्तिको कामना गर्दै परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।”

उहाँले नेपाल सरकार, इजरायलस्थित नेपाली दूतावास र सम्बन्धित निकायहरूलाई आगामी दिनमा नेपाली नागरिकको सुरक्षामा अझ प्रभावकारी कदम चाल्ने विश्वाससमेत व्यक्त गर्नुभयो । रासस