३० कार्तिक २०८२, आईतवार
,
Latest
२१ औँ राष्ट्रिय कफी दिवसः मागअनुसार उत्पादन नहुँदा कफीको आयातमा वृद्धि, २३० मे.टन कफी आयात यो सरकार ओली र लेखक थुन्नुलाई नै सुशासन ठानिरहेको छ, हामी बिना पैसा कलाबिहीन नाटक… ओलीको प्रश्न: यो सरकार कसको हो ? भारत १५ वर्षपछि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग पराजित, १२४ रन पछ्याउन सकेन भगवान शिव र दक्ष प्रजापतिको कथाबाट सिक्न सकिने पाठः हाम्रो स्वभावमा अहंकार कसरी आउँछ ? संसद विघटनको प्रभावः अर्थतन्त्रसँग जोडिएका दर्जन बढी विधेयक प्रभावित अन्तरिक्षबाट फर्किएका ४ मुसासहित वैज्ञानिक नमूनाहरू चिनियाँ अनुसन्धान टोलीलाई हस्तान्तरण लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदै दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्‍यो निर्वाचन आयोग पुगेर सनाखत
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिक्तेल–दुम्ली सडक नियमित सञ्चालनमा ल्याउन श्रमदान अभियान



अ+ अ-

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित आचार्यगाउँका स्थानीयले सडक मर्मत गर्न जनश्रमदान अभियान सुरु गरेका छन् ।

दिक्तेल–दुम्ली–रतन्छा खण्डमा पर्ने करिब नौ दशमलव पाँच किलोमिटर सडक मर्मत गरेर बाह्रैमहिना यातायात सञ्चालन गर्ने उद्देश्यले स्थानीयले जनश्रमदान अभियान सुरु गरेका हुन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित आचार्यगाउँको बसपार्कबाट मेवाखोलासम्मको सडक जनश्रमदानमार्फत मर्मत गर्नका लागि स्थानीय मदन आचार्यको संयोजनमा दैनिक ६० जना स्थानीय सहभागी हुँदै आएका छन् । दैनिक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म करिब हप्ता दिनसम्म सञ्चालन हुने यस जनश्रमदान अभियानका क्रममा सडकका खाल्डाखुल्डी पुर्ने, ढुङ्गा हाल्ने, सडक सम्याउनेलगायत काम भइरहेको अभियानका संयोजक आचार्यले बताउनुभयो ।

दिक्तेलस्थित आचार्यगाउँको बसपार्कमा आज औपचारिक कार्यक्रम गरेर सुरुवात गरिएको जनश्रमदान अभियानमा वृद्धवृद्धादेखि युवासम्म तथा महिला र केटाकेटी सबै उमेर समूहका स्थानीय स्वतःस्फूर्त रूपमा जुटेका छन् । अवरुद्ध सडक मर्मतका लागि नगरपालिकासँग पटकपटक अनुरोध गर्दा पनि काम नभएपछि स्थानीयले आफैँं जुटेर जनश्रमदान अभियान थालेका हुन् ।

अवरुद्ध सडक मर्मतपछि बिरामी बोक्ने एम्बुलेन्स सहजै सञ्चालन हुने, बेँसीबाट धान, पराल, दाउरा ल्याउन सजिलो हुने र चाडपर्वका समयमा आवागमन हुने अपेक्षा गरिएको स्थानीय टङ्कप्रसाद आचार्यले बताउनुभयो । “हिउँद लागेसँगै बेँसीबाट धान र दाउरा ल्याउन आवश्यक पर्दछ । बाटो नराम्रो हुँदा हिँड्न पनि कठिन छ । त्यसैले अहिलेको श्रमदान हाम्रो बाध्यता हो”, उहाले भन्नुभयो, “सडक स्तरोन्नतिका लागि नगरपालिकाले रु १५ लाख बजेट विनियोजना गरेको छ । नगरपालिकाले उपलब्ध गराएको बजेटले ग्राभेल हाल्ने तयारी गरिएको छ ।”

वर्षाद्को समयमा अवरुद्ध हुँदै आएको सडक मर्मतका लागि नगरपालिकामा पटकपटक अनुरोध गर्दासमेत सुनुवाइ नभएपछि जनश्रमदान अभियान सुरु गरिएको स्थानीय झमप्रसाद आचार्यले बताउनुभयो । “नगरपालिकासँग जेसिभी भए पनि हाम्रो सडक मर्मतका लागि कहिल्यै प्राथमिकता दिइएन ।

हामीले धेरै पटक गएर आग्रह गर्‍यौँ, तर कहिल्यै सुनुवाइ भएन”, उहाँले भन्नुभयो, “अन्तमा जनता आफैँ जुटेर सडक मर्मत गर्नुपर्ने अवस्था सिर्जना भयो । वर्षाद्को पानीले अवरुद्ध सडक बाह्रैमहिना सञ्चालनमा ल्याउन स्थानीयको सक्रियतामा जनश्रमदान अभियान थालेका हौँ ।”

जनश्रमदानमार्फत सडक मर्मत गरेपछि बिरामी ओसारपसारका साथै एम्बुलेन्स, अटो, मोटरसाइकल र ट्र्याक्टर सहज रूपमा सञ्चालन हुने स्थानीयले विश्वास गरेका छन् । वर्षायाममा बिरामीलाई स्ट्रेचरमा बोकेर लैजानुपर्ने अवस्था अब अन्त्य हुने आशा गरिएको स्थानीयले बताएका छन् ।

विसं २०६५ मा निर्माण गरिएको सडक अवरुद्ध हुँदा आचार्य गाउँका करिब आठ सय परिवार तथा छिमेकी स्थानीय तह साकेला गाउँपालिकाको रतन्छा र बाँझेच्यानडाँडाका स्थानीयले सास्ती खेप्दै आएका छन् ।

निर्माण उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडक मर्मत तथा स्तरोन्नतिमा तीनवटै तहका सरकारले चासो नदिँदा आफूहरूले समस्या भोग्नु परेको स्थानीयले बताएका छन् । रासस