११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

कञ्चनपुरका किसान धानबाली भित्र्याउन व्यस्त

कञ्चनपुरका किसान धानबाली भित्र्याउन व्यस्त
अ अ+ अ-

कञ्चनपुर। मौसमी वर्षा बाहिरएसँगै कञ्चनपुरका किसान धानबाली भित्र्याउन व्यस्त देखिन थालेका छन् ।

काटेर राखेको धान वर्षाका कारण भिजेपछि धान सुकाउनेदेखि काट्ने, थन्क्याउने, थ्रेसिङ गर्नेलगायत कार्यमा यहाँका किसान व्यस्त भएका हुन् ।

असोजको दोस्रो सातासम्म लगातार परेको वर्षाका कारण खेतमा काटिएको धान भिजेर बिग्रिने अवस्था भएको थियो ।

कृष्णपुर नगरपालिका–३ नयाँबस्तीका किसान टङ्कलाल चौधरीले वर्षाले भिजाएको धान सुकाउने र थ्रेसिङ गर्ने काममा व्यस्तता बढेको बताउनुभयो ।

“पावर टिलरले काटेको एक बिघा खेतको धानबाली खेतमा भिजेर उम्रिने डर थियो”, उहाँले भन्नुभयो, “अहिले घाम लागेपछि धान थ्रेसिङ गर्न पाएका छौंँ, थ्रेसिङ गरेको धान सुकाएर घरभित्र राख्ने कार्य चलिरहेको छ ।”

कृष्णपुर–३ का प्रभात चौधरीका अनुसार अहिले गाउँमा धान काट्ने र थ्रेसिङ गर्ने चहलपहल बढेको छ । “गाउँभरका किसान अहिले कोही खेतमा धान काट्दै छन्, कोही मुठा बाँध्दै, कोही गाँडामा हालेर घर ल्याउँदै छन्”, उहाँले भन्नुभयो ।

अघिल्ला वर्षमा हातैले धान काट्दा समय बढी लाग्ने, बाली बिग्रिने र श्रम खर्चिलो हुने गुनासो किसानको रहँदै आएको थियो । अहिले कृषि उपकरणको प्रयोगले खेतमा हुने काम छिटोछरितो र प्रभावकारी भएको किसनको भनाइ छ ।

शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान धनबहादुर चौधरीको चिन्ता भने फरक छ । उहाँको खेत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिक भएकाले वर्षाको भन्दा हात्तीको डर बढी छ । “निकुञ्जबाट हात्तीको बथान बस्ती र खेत हुँदै हिँड्ने गर्छन्, धान पाक्ने बेला खेतमा पसेर खाएर वा कुल्चेर नोक्सानी पुर्याउँछन्”, उहाँले भन्नुभयो, “ढिला भयो भने हात्तीले सारा बाली बिगार्ने डर छ, त्यसैले अहिले धान काटन व्यस्तता बढेको छ ।”

हात्तीको जोखिमका कारण शुक्लाफाँटा, दोधारा–चाँदनी, बेदकोट र बेलौरी क्षेत्रका किसानले पनि धान छिट्टै काटेर घर भित्र्याउने कार्यलाई प्राथमिकतामा राखेका छन् । पिपलाडीका किसान प्रकाश चौधरीले भने यसवर्ष कृषि यान्त्रिकीकरणले किसानको श्रमभार घटाएको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “पहिले एक बिघा खेतको धान काट्न सात दिनभन्दा बढी लाग्थ्यो, अहिले उपकरणको सहयोगमा दुई दिनमा सबै काम सकिन्छ ।”

प्रकाशका अनुसार पहिले गोरु र राँगाको सहयोगमा गहनी (धान दाई) गर्न महिनौँ लाग्नेमा अहिले थ्रेसरको प्रयोगले त्यो काम दुई दिनमा पूरा हुन्छ । उहाँले भन्नुभयो, “उपकरणको प्रयोगले श्रम र समय दुवै बचत भएको छ, त्यसैले किसान अहिले व्यावसायिक कृषि कार्यमा पनि संलग्न हुन पाएका छन् ।”

कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार जिल्लाभर ४८ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुने गरेको छ । धानको उत्पादन औसतमा प्रतिहेक्टर चार मेट्रिकटन रहने अनुमान गरिएको छ ।

हालसम्म जिल्लाको करिब ५५ प्रतिशत क्षेत्रफलमा धान काटने कार्य सकिएको छभने बाँकी क्षेत्रका किसान पनि एक साताभित्रै धान काटेर भित्र्याइसक्ने तरखरमा छन् । यसवर्ष वर्षा समयमा सुरु भए पनि असोजको दोस्रो सातासम्म लगातार वर्षा हुँदा धान कटाइ ढिलो भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यसैबीच, किसानका लागि प्रमुख चुनौती श्रम अभाव बनेको छ । धेरैजसो गाउँका युवा रोजगारीका लागि भारत र तेस्रो मुलकतर्फ गएपछि खेतमा काम गर्ने जनशक्ति सीमित छ । जसका कारण अधिकांश किसानले धान काट्नेदेखि थ्रेसिङ्सम्मका कार्यमा उपकरणको प्रयोग गर्न थालेका छन् ।

कृष्णपुरका किसान खेमराज ओझाले भन्नुभयो, “पहिले गाउँका युवाले खेतमा सहयोग गर्थे, अहिले अधिकांश युवा वैदेशिक रोजगारीमा गएका छन्, त्यसैले मजदुर पाउन गाह्रो छ । धान काटने, थ्रेसिङ गर्नेलगायत उपकरण सबै किसानसँग नहँुदा पालो पर्खनुपर्ने बाध्यता छ ।”रासस