१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्सबाट आएकी युवती जसको यस्तो सावधानीले फैलिन पाएन संक्रमण



अ+ अ-

काठमाडौं । फ्रान्सबाट आएकी युवतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन् । यस्तो शैलीले कोरोना नियन्त्रण हुन सक्दैन भनेर उनले सरकारको ध्यानाकर्षण पनि गराएकी थिइन् । यति मात्र होइन, परिवारसँग समेत उनले दूरी कायम गरेकोले संक्रमण फैलिन पाएन । परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

४ चैतमा फ्रान्सबाट आएकी काठमाडौं मैतिदेवीकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको थियो । नेपालमा यो दोस्रो केस थियो । उनले विमानस्थलदेखि नै सावधानी अपनाउँदा कसैलाई संक्रमण नभएको ‘कन्ट्याक्ट ट्रेसिङ’बाट पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. वासुदेव पाण्डले भने, ‘सावधानी अपनाउँदा उहाँबाट कसैलाई पनि संक्रमण भएन, सचेत हुनुहुँदो रहेछ । उहाँले आफू र धेरैलाई जोगाउनुभएको छ, सबै यसैगरी जिम्मेवार हुने हो भने कोरोना नियन्त्रण गर्न सहज हुन्छ ।’

ती युवती कतार एयरको क्युआर ६५२ फ्लाइटमा दोहा हुँदै नेपाल आएकी थिइन् । उनलाई लिन बुबा विमानस्थल गएका थिए । विमानस्थलबाट आफ्नै निजी गाडीमा घरसम्म पुगेकी थिइन् । गाडीचालक, बुबा र युवतीले गाडीमा मास्क र स्यानिटाइजर प्रयोग गरेका थिए । उनी गाडीको पछिल्लो सिटमा अलगै बसेकी थिइन् । उनमा संक्रमणको लक्षण देखिएको थिएन, तर घरमा आएलगत्तै उनी सेल्फ क्वारेन्टाइनमा बसेकी थिइन् । परिवारका सदस्यसँग भेटघाट मात्रै बन्देज गरिनन्, शौचालयसमेत बेग्लै प्रयोग गरेको स्वास्थ्यकर्मीलई बताएकी छिन् ।

आफूसँगै फ्रान्सबाट फर्किएकी भियतनामकी साथीलाई संक्रमण देखिएपछि उनी स्वदेश आएको चार दिनपछि आफैँ परीक्षणका लागि टेकु अस्पताल गएकी थिइन् । रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । हाल टेकु अस्पतालमै उपचाररत युवतीको दोस्रो परीक्षण पनि पोजेटिभ देखिएको छ । तर, स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ । परिवारका सदस्यमा भने संक्रमण देखिएको छैन ।

‘उनका परिवारका व्यक्ति तथा चालक सबैको परीक्षण भइसकेको छ, कसैलाई संक्रमण देखिएको छैन,’ महाशाखाका प्रमुख डा. पाण्डेले भने । विमानमा उनको सिटआसपास बसेका १७ जनाको पनि परीक्षण भएको छ, रिपोर्ट नेगेटिभ आएको छ ।

युवतीमा संक्रमण पुष्टि भएपछि उनी र विदेशबाट आएका अन्यबाट काठमाडौंमा धेरैमा फैलिएको हुन सक्ने त्रासमा सरकार थियो । त्यसैले पनि ११ चैतदेखि सरकारले लकडाउन गरेको थियो । तर, युवतीले अपनाएको सावधानीका कारण काठमाडौंमा जोखिम केही हदसम्म कम भएको अनुमान गरेको छ । ‘उनले लापरबाही गरेको भए केही दिनमै काठमाडौंमा धेरैलाई संक्रमण फैलने जोखिम थियो,’ महाशाखाका एक अधिकारीले भने ।

ती युवतीसँगै विमानमा आएका बाग्लुङका दुईजनामा पनि संक्रमण पुष्टि भइसकेको छ । तर, विमानमा उनीहरू सँगै भने थिएनन् । बाग्लुङकी १९ वर्षीया युवती सिट नम्बर बी तथा ६५ वर्षीया महिला सिट नम्बर ईमा सँगै बसेका थिए । काठमाडौंकी युवती भने पछिल्लो सिटमा बसेकी थिइन् । बाग्लुङका दुई महिला बसेको सिटआसपासका १८ जनाको पनि परीक्षण भइसकेको छ ।

बाग्लुङका दुवै संक्रमित ४ चैतमा यती एयरलाइन्सबाट पोखरा गएका थिए । उनीहरूसँगै पोखरा गएकाहरूको समेत परीक्षण भइसकेको छ । त्यस्तै, विमानस्थलबाट बसपार्कसम्म ट्याक्सीमा तथा त्यहाँबाट बाग्लुङ स्कार्पियोमा सँगै गएका थिए । दुवैका परिवारको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । तर, उनीहरूले गाउँका अन्य व्यक्तिलाई पनि भेटेको भएकाले बाग्लुङमा फैलिएको आशंकामा र्यापिड टेस्ट सुरु गर्न लागिएको छ ।

तीनजना संक्रमित आएको कतार एयरको जोखिम लगभग सकिएको बताइएको छ । सो विमानमा एक सय ५८ यात्रु सवार थिए । जसमध्ये १० जना सम्पर्कमा आएका छैनन् । संक्रमित आसपास बसेकाहरूको रिपोर्ट नेगेटिभ आएकाले जोखिम कम भएको हो ।

तेस्रो केसको जोखिम कायमै

नेपालमा देखिएको तेस्रो केस धादिङका युवकको हो । उनले भेटेका व्यक्तिहरूको पनि नेगेटिभ रिपोर्ट आएको छ । तर, उनले सार्वजनिक यातायात प्रयोग गरेकाले कन्टाक्ट ट्रेसिङ सकिएको छैन । उनले प्रयोग गरेको ट्याक्सी र बस नै अहिलेसम्म पत्ता लागेको छैन । उनी ६ चैतमा एयर अरेबियाबाट आएका थिए । विमानमा उनी बसेको सिटआसपासका यात्रु पत्ता लगाएर परीक्षणको काम भइरहेको छ ।

ती युवकले अरूलाई सारेको हुन सक्ने र जोखिम कायमै रहेको स्वास्थ्य सेवा विभागका अधिकारी बताउँछन् । लक्षण नदेखिए पनि संक्रमण हुन सक्ने भएकाले क्वारेन्टाइनमा दुई सातामा बसेर पनि थप एक साता घरमा अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय सोमबार मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

कैलाली र कञ्चनपुरमा सुस्त ट्रेसिङ

धनगढीका संक्रमित युवकको केसमा पनि कन्टाक्ट ट्रेसिङ भइरहेको महाशाखाले जनाएको छ । उनी ७ चैतमा भिस्तारा एयरबाट नयाँदिल्ली हुँदै काठमाडौं आएका थिए । वसुन्धारामा मामाघरमा बसेकोमा भोलिपल्ट बुद्ध एयरमार्फत नेपालगन्ज गएका थिए । त्यहाँबाट अटो र माइक्रो प्रयोग गरी अत्तरिया पुगेका थिए । उनको मामाको परिवारमा संक्रमण देखिएको छैन । उनले प्रयोग गरेका ट्याक्सी, अटो र माइक्रोको भने अहिलेसम्म पहिचान हुन सकेको छैन । उनको परिवारका एक सदस्यमा समेत संक्रमण भएको पुष्टि शनिबार भएको छ । जुन नेपालमा देखिएको पहिलो आन्तरिक संक्रमण हो । उनले छिमेकीसमेत भेटकाले संक्रमण फैलाएको आशंका गरिएको छ । तर, ट्रेसिङ चुस्त हुन सकेको छैन ।

भारतबाट आएका १९ वर्षीय संक्रमित युवकले पनि धेरैलाई फैलाएको आशंकामा कैलाली र कञ्चनपुरमा र्यापिड टेस्ट सुरु भएको छ । उनीहरू भारतबाट भिडभाड छिचोल्दै आएका थिए ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।