काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिका एजेन्डा तय गर्न आज पनि सचिवालय बैठक बस्दै छ । सचिवालय बैठक केन्द्रीय समितिका एजेन्डाभन्दा बढी नेतृत्वका विषयमा छलफल भएको छ । अध्यक्ष केपी शर्मा ओलीमाथि राजीनामा गर्न दबाब बढेको छ ।
जेन–जी आन्दोलनपछि एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न दबाब परेको छ । जेन–जी आन्दोलन र त्यसपछिको प्रदर्शनपछि विघटित प्रतिनिधिसभामाका प्रमुख दलहरुमा नेतृत्व हस्तान्तरणको माग भइरहेका बेला ओलीले पनि पद छाड्नु पर्ने माग भएको हो ।
सचिवालय बैठकमा नेताहरुले आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरेका हुन् । बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेले आगामी महाधिवेशनबाट नेतत्व हस्तान्तरण गर्नुपर्ने माग गरेका हुन् । उपाध्यक्ष रामबहादुर थापाले पनि जेन–जी आन्दोलनपछि नेतृत्वमा नैतिक प्रश्न उठेको बताए ।
एमालेमा ओलीले जे भन्यो त्यही नै हुने गरेको थियो । तर अहिले जेन–जी आन्दोलनपछि कमजोर देखिएका छन् । उनीमाथि राजीनामाको दबाब पनि बढेको छ । नैतिकता देखाउनुपर्ने माग पनि छ । तर ओली त्यसमा तयार छैनन् । बरु आफ्नो बचाउ गरिरहेका छन् । आफ्नो स्वास्थ्यले साथ दिँदासम्म नेतृत्व नछाड्ने उनको अडान छ ।
ओली पक्षका केही नेताहरु भने महाधिवेशनबाटै नेतृत्व र पुस्तान्तरणको टुंगो लगाउनुपर्ने बताउँदै आएका छन् । एमालेको महाधिवेशन आगामी वर्ष गर्ने तयारी छ ।
विगत पनि एमालेमा एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने र ७० वर्षे उमेर हद लगाउनु पर्ने माग गरे पनि विधान महाधिवेशनमा उक्त प्रस्ताव असफल भएको थियो ।
ओलीको चाहना अनुसार दुवै प्रावधान हटाइएको थियो । भदौ २० देखि २२ मा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले केपी शर्मा ओलीलाई तेस्रो कार्यकाल पनि अध्यक्ष बन्न बाटो खुला गरेको थियो । एमालेको विधान महाधिवेशनले पदाधिकारीको ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने व्यवस्थालाई नयाँ विधानको मस्यौदाबाट हटाउँदै ओलीलाई पुन: अध्यक्ष हुने वैधानिक प्रावधान सुनिश्चित गरेको थियो ।
भदौ २०७८ मा भएको पहिलो विधान महाधिवेशनले पार्टी नेतृत्वका लागि ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी नहुने प्रावधान पारित गरेको थियो । तर गोदावरीमा तीन दिनसम्म चलेको दोस्रो विधान महाधिवेशनले त्यसलाई संशोधन गरेर हटाएको थियो ।










