भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ५८औँ सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भएको छ ।
आज एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित ओली निवासमा बसेको बैठकमा महाधिवेशन छिट्टै गर्ने बारेमा छलफल भएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकपछि पत्रकारहरूलाई जानकारी दिँदै ज्ञवालीले भन्नुभयो, “पार्टीको एकतालाई सुदृढ गर्नुपर्नेछ, नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ, पुस्तान्तरण गर्नुपर्ने कुरा उठेका छन् । तर ती सबै कुरालाई पार्टीको महाधिवेशन गर्नेछ । त्यसकै लागि छिट्टै महाधिवेशन गर्नेभएको छ । सम्भवत भोलिको बैठकले यसबारेमा निर्णय लिनेछ ।”
पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ खोज्नु पर्ने र महाधिवेशनको माध्यमबाट नयाँ ढङ्गले अगाडि बढाएर जाने बैठकले निष्कर्ष निकालेकाले अब छिट्टै महाधिवेशन हुने उहाँले बताउनुभयो ।
बैठकमा भदौ २३ र २४ को जेनजी आन्दोलनबारे सविस्तार समीक्षा गरिएको जानकारी नेता ज्ञवालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भदौ २३ गते जेनजी युवाहरूले राखेका आवाज स्वाभाविक थिए, आन्दोलन शान्तिपूर्ण हुन्छ, निषेधित क्षेत्र तोडदैनौँ, सुशासन र भ्रष्टाचार विरुद्धको आन्दोलन शान्तिपूर्ण हुन्छ भन्नुभएको थियो तर त्यसो भएन ।”
सरकारले राष्ट्रिय एकता कायम गर्नुपर्ने, दललाई निषेध नगरी एकता बनाएर जानु पर्ने र सिँगो देशलाई एक ठाउँमा उभ्याएर एकताको वातावरण सृजना गर्नुपर्ने उहाँले बताउनुभयो । बैठक भोलि शनिबार पुनः बस्नेछ ।रासस










