२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको दौडबाट बर्नी स्यान्डर्स बाहिरिए



अ+ अ-

वासिङ्टन । सिनेटर बर्नी स्यान्डर्सले बुधबार अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवारी परित्याग गरेको घोषणा गर्नु भएको छ । स्यान्डर्सको यो घोषणासँगै अमेरिकाको आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेनको उम्मेदवारी निश्चितझैं भएको छ ।

कोरोनाभाइरसको महामारीको पृष्ठभूमिमा हुने आगामी निर्वाचनमा बाइडेनको प्रतिस्पर्धा रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवारी दिनुहुने राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ ।

स्यान्डर्सले यसपटकको प्राइमरी चुनावका शुरुआती दिनहरुमा पनि सन् २०१६ को झैं आम मतदातामा व्यापक उत्साह जगाउने विश्वास गरिएको थियो । तर उहाँले प्रगतिशीलहरूको समर्थनलाई सशक्त रुपमा रूपान्तरण गर्न सक्नु भएन । लोकतान्त्रिक समाजवादी विचारधाराका अनुयायी स्यान्डर्सले आम मतदातालाई रिझाउन सक्ने सम्भावनामाथि चुनावी प्रचारकै क्रममा प्रश्न उठेको थियो ।

“चुनावमा विजयी हुने सम्भावना लगभग असम्भव देखियो,” स्यान्डर्सले समर्थकहरुलाई बुधबार भन्नुभयो । “मनोनयनमा पर्ने केही सम्भावना देखिएको भए म निश्चित रुपमा अभियानलाई जारी राख्ने थिएँ, तर अहिले त्यो सम्भव देखिएन ।”

उहाँले पार्टीका वरिष्ट सदस्य बाइडेनलाई “अत्यन्तै सभ्य” व्यक्ति रहेको बताउनुभयो । तर उहाँले बाइडेनलाई स्पष्ट अनुमोदन भने गर्नु भएन । स्यान्डर्सले आफ्नो नाम चुनाव हुन बाँकी रहेका राज्यका मतपत्रमा अझै रहने बताउनुभयो । बाँकी राज्यको चुनावबाट आफूले केही प्रतिनिधि प्राप्त गर्न सक्ने र त्यसबाट डेमोक्र्याटिक पार्टीको मञ्चमा “महत्वपूर्ण प्रभाव” सिर्जना गर्न सकिने बताउनुभयो ।

पार्टीका धेरैजसो वरिष्ट सदस्यले समर्थन गरेका बाइडेनले बुधबार स्यान्डर्ससँग छोटो कुराकानी गरेको जानकारी दिनुभयो । बाइडेनले भन्नुभयो, “स्यान्डर्सले राजनीतिक अभियान मात्र चलाउनु भएन । उहाँले एउटा आन्दोलन नै सिर्जना गर्नुभयो । यो हाम्रो राष्ट्र र हाम्रो भविष्यको लागि राम्रो चीज हो । उहाँको अभियान समाप्त भएको छ, तर मलाई थाहा छ कि उहाँको नेतृत्व जारी रहनेछ ।”

ट्रम्पले बुधवार ट्वीट गरेर डेमोक्र्याट पार्टीभित्रको तनाब छताछुल्ला भएको टिप्पणी गर्नु भएको थियो । पार्टीले सिनेटर स्यान्डर्सका बिरूद्ध दौड नै खडा गरेको ट्रम्पले आरोप लगाउनुभयो । राष्ट्रपति ट्रम्पले सिनेटर स्यान्डर्सका समर्थकहरु “रिपब्लिकन पार्टीमा आउनु उपयुक्त” हुने सुझाव दिनुभयो ।

स्यान्डर्सले यसपटकको ह्वाइट हाउसको अभियानका क्रममा चार वर्षअघि हिलारी क्लिन्टनको विद्रोही विकल्पका रूपमा झैं समर्थन जुटाउन सक्नेमा शुरुमै आशंका गरिएको थियो । उहाँमाथि आम मतदाताले शुरुदेखि नै प्रश्नहरु गरिरहेका थिए । सन् २०१६ मा २२ वटा राज्यमा विजयी स्यान्डर्स यसपटक डेमोक्र्याटिक पार्टीबाट छनौट हुने निश्चित थिएन ।

तर स्यान्डर्सले शसक्त चुनावी अभियान र रकमको बलियो समर्थन प्राप्त गर्नु भएको थियो । उहाँले सबैजसो चुनावी चन्दालाई अनलाइनबाट सार्वजनिक गर्नु भएको थियो । पहिलो पटकजस्तै उहाँले यस चुनावी अभियानमा युवा मतदाताका साथै हिस्पानिक समुदायको समर्थन प्राप्त गर्नु भएको थियो । तर अफ्रिकी अमेरिकीहरूसँग उहाँको अपील कमजोर देखिएको थियो ।

स्यान्डर्सले पहिलो चरणमा चुनाव भएका आयोवा र न्यु ह्याम्पशायर राज्यमा सबैभन्दा बढी मत प्राप्त गर्नु भएको थियो भने नेभाडामा सहजै जित हासिल गर्नुभयो । प्रारम्भिक चुनावमा प्राप्त गरेको यो सफलता धेरै टिक्न सकेन ।

तर बाइडेनले दक्षिणी क्यारोलिना राज्यका प्रभावशाली पार्टी नेता जिम क्लाइबर्नको समर्थन प्राप्त गर्नुभयो । उहाँले यस राज्यमा सोचेभन्दा बढी मत पाएर चुनाव जित्नु भयो । उता सुपर ट्युज्डे भनिने मतदानमा १४ मध्ये १० राज्यमा विजयी हासिल गरेर चुनावी दौडमा व्यापक अग्रता हासिल गर्नुभयो ।

उक्त चुनावको केही दिनभित्रै बाइडेनका पूर्व डेमोक्र्याटिक प्रतिद्वन्द्वीहरूले उहाँको पक्षमा समर्थन जनाउनुभयो ।

एकपछि अर्को चुनावी दौडमा पराजित हुनेक्रममा सन् २०१६ मा हिलारी क्लिन्टनलाई पराजित गरेका स्यान्डर्स मिसिगन राज्यमा पराजित हुनुभयो । यसबाट उहाँको अवस्था झन झनै खराब भयो । त्यसैरात उहाँले मिजौरी, मिसिसिपी र इडाहोमा पनि हार व्यहोर्नु परेको थियो ।

कोरोनाभाइरसको प्रकोपले चुनावी अभियान लगभग स्थगित भए जसका कारण स्यान्डर्सलाई ठूला सभाहरु गर्न समस्या देखियो । उहाँको शक्ति नै सभाहरुमा जोडदार रुपमा प्रस्तुत भएर जनताको समर्थन प्राप्त गर्नु हुन्थ्यो ।

अग्रणी प्रगतिशील धारको नेतृत्व गर्ने स्यान्डर्सको चुनावी अभियान समाप्त गर्ने घोषणासँगै बाइडेनले बुधबार नै स्यान्डर्सका समर्थकहरुलाई एकताबद्ध भएर चुनावी प्रचारमा लाग्न अनुरोध गर्नुभयो ।

“मलाई आशा छ तपाईंहरु हाम्रो यस अभियानमा सहभागी हुनुहुनेछ,” उहाँले एक वक्तव्यमा भन्नुभयो । “तपाईहरुलाई हार्दिक स्वागत छ । तपाइँको यहाँ अति जरुरी छ ।”

तर स्यान्डर्सले आफू चुनावी अभियानबाट अलग भएपनि आफू अझै पनि एक शक्तिका रुपमा रहिरहने स्पष्ट गर्नुभयो ।

“कृपया यस लडाइँमा तपाइँहरु मेरो साथमै रहनुहोला,” उहाँले भन्नुभयो, “हाम्रो सङ्घर्ष जारी छ ।”