काठमाडौँ । जेन—जी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्यहरुले जेनजी आन्दोलनको उपलब्धिलाई रक्षा गर्नको लागि जेनजीहरुको छुट्टै राजनिनितक दल खोल्नुपर्ने बताउनुभएको छ ।
आन्दोलन भएको एक महिना पुगेको दिन बिहीवार (असोज २३) काठमाडौंस्थित नवदुर्गा होटलमा आयोजित राष्ट्रिय भेलामा उहाँहरुले छुट्टै राजनितिक दलको आवश्यकता औंल्याउनुभएको हो । जेन जेड, वाई, एक्सको सहभागीताका तत्कालै राजनितिक दल गठन हुनुपर्ने उहाँहरुको भनाई छ । राजनीतिक दल गठन पश्चात जेनजी आन्दोलनले अन्तर्राष्ट्रिय मान्यता पाउने हुनाले प्राप्त उपलब्धि रक्षा गर्न सहज हुने उहाँहरुले बताउनु भयो ।
उहाँहरुले सरकारले तुरुन्तै शहीदहरुको सपना र घाईतहरुको माग सम्बोधन गर्नुपर्ने बताउनु भयो । भदौ २३ र २४ गतेको घटनाको छानविन गरी दोषिउपर कारबाही गर्न पनि उहाँहरुले माग गर्नुभयो । जेन जीको समूह फरक—फरक भएको भन्दै उहाँहरुले एकजुट हुन पनि आग्रह गर्नुभयो ।
जेन जी आन्दोलनका उपलब्धीहरुको रक्षा र भावी योजना तय गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको हो । गत भदौ २३ र २४ गते जेन जी आन्दोलन भएको थियो । आन्दोलनमा धेरै धनजनको क्षति भएको छ ।










