१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकको आकर्षण केन्द्र साल्पा–सिलिचुङ क्षेत्र



अ+ अ-

भोजपुर । यहाँको सबैभन्दा अग्लो साल्पा–सिलिछो चुचुरो र साल्पा पोखरी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । विशेषगरी मुन्दुम पदमार्गमा आउने पर्यटकहरू यस स्थानलाई अनिवार्य रूपमा पुग्ने गन्तव्यका रूपमा लिने गरेका छन् ।

समुद्री सतहबाट चार हजार एक सय ५५ मिटर उचाइमा रहेको सिलिचुङ डाँडाबाट सगरमाथासहित अन्य हिमाल नियाल्न सकिन्छ । हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकनका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढ्दो छ । चुचुरो चढे पश्चात देखिने वरिपरिका रमणीय दृश्यको आकर्षणले पर्यटकको मन लोभ्याउने गरेको छ ।

चुचुरोको काखमै रहेको साल्पा पोखरीले धार्मिक दृष्टिले विशेष महत्व राख्छ । भक्तजनहरूले मनोकामना पूरा हुने विश्वासका साथ यहाँ पूजाआजा गर्ने गरेका छन्। वर्षमा चारपटक–वैशाख, भदौ, कात्तिक र फागुन पूर्णिमामा–यहाँ मेला लाग्ने गर्दछ । ती अवसरमा भोजपुर, खोटाङ, सङ्खुवासभा, धनकुटा र सोलुखुम्बु लगायतका जिल्लाबाट भक्तजनको ठूलो भीड लाग्ने गरेको स्थानीयको भनाइ छ ।

यस स्थानलाई धामीझाँक्रीहरूले शक्तिको गुरुको रूपमा मान्ने परम्परा रहेको छ भने सन्तान नहुनेलाई सन्तान प्राप्त हुने, बोली नआउनेलाई बोली आउने विश्वासले मानिसहरु यहाँसम्म पुग्ने गरेका छन् ।

कचौरा आकारमा फैलिएको साल्पा पोखरी समय–समयमा रङ परिवर्तन गर्ने विश्वासले प्रख्यात छ । किरात राई समुदायले यसलाई आफ्ना पुख्र्यौली भगवान्का रूपमा पूजा गर्ने गरेका छन् ।

स्थानीय जानकार चन्द्र खत्रीका अनुसार साल्पा–सिलिचुङ क्षेत्रलाई व्यवस्थित रूपमा विकास र प्रचारप्रसार गर्न सके ताप्लेजुङको पाथीभरा जस्तै लोकप्रिय धार्मिक–पर्यटन गन्तव्य बन्न सक्छ। चिताएको पूरा हुने विश्वासले मानिसहरू चार–पाँच दिनसम्म पैदल यात्रा गरेर यहाँ पुग्ने गरेका छन् । प्रख्यात पर्वतारोही तेन्जिङ हिलारीले सगरमाथा आरोहणका क्रममा यही पदमार्ग प्रयोग गरेको तथ्यले यस क्षेत्रलाई ऐतिहासिक महत्व दिएको छ ।

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्वले भरिपूर्ण साल्पा पोखरी र सिलिचुङ चुचुरो अहिले पर्यटकको रोजाइको प्रमुख गन्तव्य बनेको छ । यसको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके यो क्षेत्र नेपालको महत्वपूर्ण धार्मिक–पर्यटन केन्द्रका रूपमा स्थापित हुने स्थानीयको भनाइ छ । रासस