काठमाडौं । वर्षायाम सकिएर हिउँद सुरु भएलगत्तै दशैं सुरु हुन्छ । यो मौसम निकै मनमोहक देखिन्छ । त्यही कारण कवि शिरोमणि लेखनाथ पौड्यालले कविता नै लेखेका थिए–
हट्यो सारा हिलो–मैलो
हरायो पानीको बर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको चर्चा …
पौड्यालको यो कवितांश संगीतले सजिएर सर्वत्र गुञ्जायमान भइरहने समयमा अहिले झरी परेको छ ।
दशैंका बेला हिलोसमेत सुकि सक्नुपर्ने हो । तर यस वर्ष हिलो सुक्नु त कतो हो कता झन् हिलो बढेको छ ।
दशैंमा झरी परे पनि सर्वसाधारणको दैनिकी फेरिएको छैन । झरीकै बेला शक्तिपीठहरुमा पुग्ने र प्रार्थना गर्ने क्रम चलिरहेको छ ।
दशैकाे मुख्य दिन आज बिहानैदेखि जमरा ल्याउने, आ–आफ्ना काम गर्न मानिसहरु छाता ओढेरै भए पनि गरिरहेका छन् ।
विजयादशमीका रूपमा स्थापित यस पर्वको धार्मिक, सांस्कृतिक, सामाजिक, सांगीतिक, साहित्यिक अनेक पक्ष छन् ।
देवी दुर्गाले आसुरी शक्तिमाथि विजय प्राप्त गरेको सन्दर्भ धार्मिक–पौराणिक पक्ष हो भने टिका–जमरा, ढोगभेट, आशीर्वाद, मिठो खाना, राम्रो लुगा, घरको लिपपोत र शृंगार, पिङ, जुवा–तास इत्यादि यसका सामाजिक र सांस्कृतिक पक्ष हुन् ।
परम्परादेखि चल्दै आएका यस्ता सामाजिक र सांकृतिक पक्ष जोगाउन झरीले खासै असर पारेको छैन ।


















