सिरहा। सशस्त्र प्रहरी बलले सिरहाको भगवानपुर गाउँपालिकाबाट स्रोत नखुलेको रु सात लाख ५० हजारसहित एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भगवानपुर गाउँपालिका-४ जमुवाटोलका ४५ वर्षीय ओमप्रकाश साहलाई गरेको हो ।
सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार साह लौकाहाबाट भगवानपुर चोकतर्फ पैदल जाँदै गर्दा शङ्का लागेर निजलाई जाँच गरिएको थियो । सो क्रममा निजको साथबाट उक्त नगद रकम फेला परेको हो ।
रकमको स्रोतबारे सोधपुछ गर्दा कुनै वैध प्रमाण प्रस्तुत गर्न नसकेपछि साहलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । सशस्त्र प्रहरीले यो रकम अवैध हुण्डी कारोबारमार्फत आएको हुनसक्ने आशङ्का गरेको छ ।
सीमावर्ती क्षेत्रमा हुने यस्ता अवैध वित्तीय कारोबार रोक्न सशस्त्र प्रहरी बलले निगरानी र सक्रियता बढाएको प्रहरी उपरीक्षक भण्डारीले उल्लेख गर्नुभयो ।
पक्राउ परेका साहलाई बरामद रकमसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको उहाँले जानकारी दिनुभयो । रासस










