काठमाडौं: नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा र उहाँकी धर्मपत्नी पूर्वमन्त्री डा आरजु राणा देउवा अझै एक साता अस्पतालमै रहने उहाँहरु निकट स्रोतहरूले बताएका छन् ।
गत भदौ २४ गते बुढानिलकण्ठस्थित उहाँहरुकै निवासमा जेन्जी युवा पुस्ताको एक समूहले देउवा दम्पतीलाई सांघातिक कुटपिट गरेको थियो । उहाँहरुलाई त्यसलगत्तै नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी अस्पतालमा भर्ना गरेको थियो ।
केही अनलाइन सञ्चार माध्यम र सामाजिक संजालले भने उहाँहरु आज अस्पतालबाट डिस्चार्ज हुने खबर सार्वजनिक गरेका थिए । तर यसमा कुनै सत्यता नरहेको स्रोतले बताएको छ ।
प्रदर्शनकारीको हमलाका क्रममा सभापति देउवाको गर्धनमा धारिलो हतियारले प्रहार भएको थियो । उपचारका क्रममा उहाँलाइ आठ वटा टाँका लगाइएको थियो । डा। राणाको पनि गर्धनमै चोट थियो । टाँका खोलिएको र अन्य जटिल स्वास्थ्य समस्या नभएका कारण अस्पतालले उनीहरुलाई डिस्चार्ज गर्न लागेको भनिए पनि अझै एक साता अस्पतालमै राखेर थप उपचार गरिन लागेको पनि स्रोतले जनाएको छ ।










