५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

तालिमले फेरिएको जुगरानीको जीवनः केराको रेसाबाट कपडा उत्पादन

तालिमले फेरिएको जुगरानीको जीवनः केराको रेसाबाट कपडा उत्पादन
अ+ अ-

भजनी । टीकापुर नगरपालिका–५ की जुगरानी चौधरीको दुई महिना अगाडिको समय निकै सकसपूर्ण थियो । दिनभर घरायसी काममा व्यस्त देखिने उहाँको कामबाट परिवार पनि सन्तुष्ट थिएन । उहाँ घरमा जति काम गरे पनि त्यसबाट आम्दानी नहुने भएपछि मानसिक तनाव हुने गरेको बताउनुहुन्छ । जुगरानीलाई सहकारी संस्थाले तालिमका लागि सिफारिस गरेर सिकेको २५ दिने तालिमले उहाँको जीवन फेरिएको छ । एक संस्थाले २५ दिनसम्म दिएको तालिमले उहाँ उद्यममा जोडिन सफल हुनुभएको हो ।

पच्चीस दिनको निःशुल्क तालिमसहित ५० प्रतिशत अनुदानमा कपडा बुन्ने उपकरण सहयोग गरेपछि जुगरानीसहितका महिला उद्यममा जोडिन सफल भएका छन् । जुगरानीले अहिले केराको रेसाबाट काँचो कपडा बुन्ने काम थाल्नुभएको छ । आजभोलिको दैनिकी कपडा बनाउने काममै बित्ने गरेको छ । “खेर जाने केराको बोट (थाम) बाट कपडा हुन्छ भन्ने विश्वास गर्न नसकेकी म आफँै कपडा बनाउन थालेकी छु”, उहाँ भन्नुहुन्छ, “आजभोलि परिवारले पनि विश्वास गर्न थालेको छ । आफूलाई पनि आत्मनिर्भर भएको महसुस हुन्छ ।”

टीकापुर नगरपालिका–८ स्थित धनसिंहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीमा आठ जना सदस्यलाई तालिममा सहभागी गराएर कपडा उत्पादन गर्ने सुरु गरेपछि महिला आत्मनिर्भर बन्दै गएका छन् । तालिमबाट आत्मनिर्भर बनेका महिला काम पाएपछि निकै उत्साहित भएर काम गरिरहनुभएको छ । “सीप भएपछि पैसा कमाउन समस्या नहुँदोरहेछ । समाजले हेर्ने दृष्टिकोणमा फेरिँदोरहेछ ।” सोही ठाउँकी कमला साउदले भन्नुभयो, “हिजो घरमा बसेर दिन बिताउन मुस्किल हुन्थ्यो भने आजभोलि समय नै पुग्दैन ।”

महिलाहरूले उत्पादन गरेको कपडा काठमाडौँ लगिन्छ । प्रतिमिटर तीन सयमा काठमाडौँको अल्लो बजारले कपडा खरिद गर्दै आएको छ । मागअनुसार पुर्याउन नसकिएको वडा नं ७ की सकुन्तला चौधरी बताउनुहुन्छ । “बजारमा माग निकै छ । एउटै कम्पनीलाई पनि हामीले पुर्याउन सकेका छैनौँ, उहाँ भन्नुहुन्छ, “बुन्न झन्झटिलो हुँदा समय बढी लाग्ने गरेको छ ।” उहाँले आधुनिक मेसिन भएको भए धेरै उत्पादन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

उत्पादन भएको कपडा निर्यातका लागि सहकारीले सहजीकरण गर्दै आएको छ । दुई वर्ष अगाडिबाट केराको खेर गइरहेको थामबाट रेसा उत्पादन गर्दै आएको सहकारीले यसभन्दा पहिले रेसा तयार गरेर बिक्री गर्दै आएको थियो । बजारमा रेसाको माग निकै हुँदा पुर्याउन नसकिएको सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीले बताउनुभयो । “रेसाका लागि चाहिने कच्चा पदार्थ अर्थात् केराको थाममा हामीले अहिलेसम्म पैसा तिर्नुपरेको छैन । उत्पादन भएको रेसाले बजारको माग धान्न सकेका छैनौँ”, उहाँ भन्नुहुन्छ, “अहिले त आफ्नै लागि रेसा पुर्याउन सकिएको छैन ।”

महिलाहरूले सरकारबाट सहयोगको अपेक्षा गर्नुभएको छ । उत्पादन भएको कपडाबाट अन्य सामग्री उत्पादनका लागि आवश्यक सीप र आधुनिक मेसिनमा सहयोगको अपेक्षा महिलाहरूले गरेका छन् । “कपडा उत्पादनसँगै त्यसबाट आवश्यक सामग्री बनाउन सके अझै राम्रो आम्दानी गर्न सकिन्थ्यो ।” स्थानीय कमलाकुमारी चौधरी भन्नुहुन्छ, “हामीलाई थप सीप र आधुनिक मेसिनमा सहयोग चाहिएको छ । केही रकम हामी आफैँ पनि लगानी गर्न सक्छौँ ।”

उहाँले केराको कपडाबाट टोपी, झोला, चप्पल, जुत्ता, गुन्द्रीलगायत सामग्री उत्पादन गर्न सकिने बताउनुभयो । स्थानीय महिलालाई सिलाइकटाइलगायत तालिममा लाखौँ खर्च स्थानीय सरकारले बर्सेनि गर्दै आए पनि आफ्नो क्षेत्रमा खेर गइरहेको कच्चा पदार्थको उपयोग गर्दै आत्मनिर्भर बनाउने काममा लगानी आवश्यक रहेको चौधरी बताउनुहुन्छ । “टीकापुर केराको नामबाट परिचित छ । त्यहीँ केराबाट हरेक नागरिक आत्मनिर्भर बन्न सक्ने आधार छन्”, उहाँ भन्नुहुन्छ, “लगानी आवश्यक छ । स्थानीय सरकारले अन्य महिलालाई पनि यस्तै तालिम दिनसक्यो भने रोजगारी आफैँ सृजना गर्न सकिन्छ ।” टीकापुरमा हाल एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा केराखेती हुँदै आएको छ । केरा उत्पादन भएपछि खेर गइरहेको केराको बोट (थाम)बाट रेसा उत्पादन गरेर कपडा उत्पादन भइरहेको छ । रासस