काठमाडौँ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानलाई उखुको पैसा नतिर्ने पाँच चिनी मिलको जग्गा र बैंक खाता रोक्का गर्न पत्राचार गरेको छ । मन्त्रालयले श्रीराम सुगर मिल, इन्दिरा चिनी मिल, हिमालय चिनी मिल, लुम्बिनी चिनी मिल र अन्नपूर्ण चिनी मिलको जग्गा र बैंक खाता रोक्का गर्न पत्राचार गरेको मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईले बताउनुभयो ।
प्रतिनिधिसभा, लेखा समितिमा मङ्गलबार भएको छलफलमा सचिव भट्टराईले ती पाँच मिलले किसानलाई रु आठ करोड ७० लाख भुक्तानी गर्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार किसानलाई भुक्तानी दिन मिलहरुलाई प्रतिबद्ध बनाउन मन्त्रालयले काम गरिरहेको छ ।
उखुको मूल्य निर्धारण समयमै भएको भए पनि किसानलाई भुक्तानीमा भएको समस्याले यसको उत्पादकत्व घट्दै गएको उहाँको भनाइ थियो । साथै भुक्तानीको समस्याले किसानले उखु उत्पादनमा चासो नदेखाउँदा चिनी उद्योगको सङ्ख्या पनि २९ बाट घटेर अहिले आठमा झरेको उहाँले जानकारी दिनुभयो ।










