काठमाडौं । न्यायपालिकाको सर्वोच्च नेतृत्व हुँदै प्रधानमन्त्री बन्नुभएको स्वच्छ छवि भएकी सुशीला कार्कीले पदभार ग्रहण नगर्दै आफ्नो काम सुरु गरिसकेकी छन् । मन्त्रिपरिषद् विस्तारसमेत हुन सकेको छैन । सम्भवत: उनले आज पदभार ग्रहण गर्दै मन्त्रिपरिषद्मा केही मन्त्रीहरु थप गर्नेछिन् ।
प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्टै कार्कीले तातो खरानीमाथि टेक्दै जलेका संरचनाहरुको अवलोकन गरिन् भने घाइतेहरुलाई भेटिन । उनले आफूलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्याउन सडक तताएर आन्दोलनमा होमिँदा घाइते भएकाहरुलाई ढाढस दिएकी छन् । उपचारमा कमी आउन नदिने भन्दै युवाको भावनाअनुसार आफू अघि बढ्ने प्रतिबद्धता पनि जनाइन् ।
त्यति मात्र होइन, जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका प्रहरी कार्यालयहरुको पनि उनले स्थलगत अवलोकन गरेकी छन् । प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएकी उनले अब ती कार्यालयहरुको पुनर्निर्माण चाहिँ कहिले गर्ने भन्न सकेकी छैनन् ।
कार्कीको मुख्य दायित्व आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको चुनाव गराउने र जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने हो । तर योसँगै जेन–जी आन्दोलनका क्रममा क्षति भएका संरचनाहरुको पुनर्निर्माण गर्नु छ । किनकी उनलाई प्रधानमन्त्री बनाउनकै लागि देशले ठूलो क्षति बेहोरेको छ ।
हुन त प्रधानमन्त्री कार्कीले पद बहाली गरेकी छैनन् । सम्भवत: आज उनले सिंहदरबारमा पुगेर पदबहाली गर्ने छिन् । तर विगतका प्रधानमन्त्रीहरुले पदबहाली गर्र्ने भवन अर्थात प्रधानमन्त्री कार्यालयमा उनको हुने छैन । किनकी यो त उनलाई प्रधानमन्त्री बनाउनेहरुले नै जलाइदिएर खण्डहर बनाइदिएका छन् । त्यही कारण उनले सम्भवत: पहिलो पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभन्दा बाहिर गएर अस्थायी संरचनामा पदबहाली गर्ने छिन् । त्यसबेला उनले जलेर खरानी भएको सिंहदरबार पक्कै पनि देख्ने छिन् र पुनर्निर्माणका लागि केही योजना घोषणा गर्न सक्नेछिन् ।
त्यसो त नेपालको इतिहासमै सर्वोच्च अदालत पहिलो पटक जलेको छ । यसअघिका कुनै पनि आन्दोलनको राप र ताप पर्न नसकेको सर्वोच्च अदालत यस पटक भदौ २४ गते जलेको छ । महत्वपूर्ण काजजात ध्वस्त भएका छन् । अब सर्वोच्च अदालतलाई उनले कुन रुपमा हेर्दिन् भन्ने पनि छ । किनकी यही अदालतमा लामो समय काम गरेर समग्र न्यायपालिकाको नै नेतृत्व सम्हालिसकेकी उनलाई अहिले खरानी बनेको अदालतको पुनर्निर्माण गर्नुपर्ने छ ।
कार्की अब कार्यपालिका प्रमुख भएपछि घाइते सुरक्षाकर्मीलाई पनि भेट्न पक्कै जान्छिन् । त्यसबेला उनले सुरक्षाकर्मीलाई के ढाढस दिन्छिन् त्यो हेर्न बाँकी छ । तर घाइतेहरुलाई भेट्न जाँदा चाहिँ उनले बोलेका एउटा बाक्य विवादित भनिरहेको छ । उनले घाइतेलाई भनेकी थिइन्– ‘मान्छे त तगडा रहेछ, ताँत भाँचिदिएको भए हुने थियो नि ।’ उनलले घाइतेको मनोबल उकास्न यसो भनिरहँदा प्रहरीको मनोबल कमजोर भएको तर्फ पटक्कै ध्यान पुगेको देखिँदैन ।
हिजोका दिनसम्म विद्रोही सुशीला थिइन्, अब प्रमुख भएपछि विद्रोही बन्छिन् कि समन्वयनकारी भन्ने प्रश्न उठेको छ । उनले देशलाई अघि बढाउन समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ । तर घाइतेलाई भेट्न जाँदा उनले विद्रोही स्वभाव नै देखाइन् । जुन गलत छ ।
सुशीलाले सम्भवत: आजैदेखि मन्त्रिपरिषद् विस्तारको गृहकार्य गर्ने छिन् । अनौपचारिक रुपमा परामर्शमै रहे पनि उनले अझै मन्त्रिहरुको नाम टुंगो लगाउन सकेकी छैनन् । उनको मन्त्रिपरिषद्मा पूर्वकर्मचारी, पूर्वप्रशासक र न्यायका पृष्ठभूमि भएका व्यक्तिसहित केही युवाको सहभागिता होला । ती मन्त्री र मन्त्रिपरिषद्ले गर्ने हरेक निर्णय युवा लक्षित हुनुपर्ने छ । युवाको अपेक्षा, जनताको चाहनालाई समेट्नुपर्छ । अब उनले युवाको अपेक्षा, जनताका चाहनासँगै आक्रोसको निशानामा परेकाहरुसमेत समेटेर सँगसँगै लैजानुपर्ने छ । नत्र फेरि अर्को प्रतिक्रान्तिका लागि बाटो तय भयो भने देशका लागि दुर्भाग्य हुने छ ।










