काठमाडौं । नयाँ प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का लागि अहिले सिंहदरबारमा व्यवस्थापन गर्ने तयारी थालिएको छ । गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा आगामी प्रधानमन्त्रीको कार्यलय राख्ने तयारी गरिएको हो ।
नयाँ भवनमा अहिले प्रधानमन्त्रीका लागि बस्ने कुर्सीदेखि, सचिवालय, मन्त्रिपरिषद् बैठकका लागि आवश्यक फर्निचर, सोफा कार्पेटहरू व्यवस्थापन गरिँदैछ ।
बुधबार जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यलय तथा अन्य मन्त्रालयमा आगजनी गरिएको थियो । गृह मन्त्रालय रहेको भवन पनि जलेर ध्वस्त भइसकेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गृह मन्त्रालय सार्ने तयारी भइरहेको छ । शिक्षा मन्त्रालयलाई भने केशरमहलमा सार्ने तयारी गरिएको छ ।
मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले शुक्रबार बिहानै सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयको स्थलगत अनुगमन गरेका थिए । सोहिक्रममा उनले सिंहदरबारबाटै प्रशासनिक काम गर्ने गरी तयारी गरिएको जानकारी दिए ।











